आरभ र सलोनीलाई गणेशमान टेनिस उपाधि

आरभ र सलोनीलाई गणेशमान टेनिस उपाधि



आरभ सम्राट हाडा पुरुषतर्फ र सलोनी तामाङ महिलातर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जित्न सफल भएका छन् ।

फाइनल खेलमा आरभले खेल ऋतिक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोईरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधि हात पारेका हुन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे । उक्त जोडीले अकि जुवेन राउत र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै जित हात पारेका हुन् ।

३५ वर्षमाथिको पुरुष युगल तर्फको खेलमा कमलबहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडीले उपाधि उचाले । उक्त जोडीले निरज थापा र लोक गुरुङ्गको जोडीलाई ६–४, १–६ र १०–८ को अन्तरले पराजित गरेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना भएको प्रतियोगिताको ४५ वर्ष माथिको पुरुष एकलमा सिजर गुुरुङ्गलाई पछि पार्दै विमलकुमार गुरुङ्गले उपाधि उचाले । विमलले सिजर माथि ६–१, ६–१ को समान अन्तरले पराजित गरे । यस्तै युगलतर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी माथि ६–२, ६–३ ले जित निकाल्दै उपाधिमा आफ्नो नाम लेखाए ।

५५ वर्षमाथिको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्ण राज घले र सुवर्ण धाख्वाको जोडीलाई ६–८, ६–१ र १०–८ ले पराजित गर्दै उपाधि उचाले ।

करिव २० लाख लागत रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ वर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ वर्ष माथि एकलतर्फका शीर्ष तीनले ३०, १५ र ५, युगलतर्फ २०, १०, १० हजार, ५५ वर्षमाथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ वर्षमाथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गरे ।

यस्तै जुनियर विधामा विजयी खेलाडीहरु गिफ्ट ह्याम्परबाट पुरस्कृत भए । विजयी खेलाडीहरुलाई नेपाली काङ्ग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए ।