अष्ट्रेलियामा ‘काउन्सिलर’ पदमा एलेक्स कार्कीको उम्मेदवारी

अष्ट्रेलियामा ‘काउन्सिलर’ पदमा एलेक्स कार्कीको उम्मेदवारी


  • राजन घिमिरे

प्रवासी जीवन त्यति सहज र सरल छैन । त्यसमाथि अरूको देशलाई कर्मभूमि बनाएर अघिबढ्दाको दुःख अनि आफू स्थापित हुनका लागि गर्नुपर्ने थप सङ्घर्ष साँच्चै पीडादायक नै हुन्छ । त्यसो त, आफूलाई बोझैबोझले थिचाएर पनि प्रवासको परिवेशमा कुनै खास क्षेत्रमा सफलता हात पार्न सकियो त्यसबाट प्राप्त हुने उपलब्धि अनि सफलताको स्वाद पनि कम मिठो नहोला । प्रवासमा रहँदै आएका एलेक्स कार्की यतिबेला यस्तै सुखदानुभूति गरिरहेका छन् ।

अष्ट्रेलियालाई कर्मभूमि बनाएर त्यहाँको रजनीतिको मूलधारमा प्रवेश गरेका ऐलेक्सले अब चाँडै खास सफलताको स्वाद चाख्न पाउने भएका छन् । अष्ट्रेलियाको मुख्य दलमध्येको एक लेवर पार्टीले उनलाई न्यु साउथ वेल्स राज्यको स्थानीय निकायको चुनावमा टिकट दिएपछि अष्ट्रेलिया मात्र नभई जन्मभूमि नेपालमा पनि उनको चर्चाले ब्यापकता पाएको छ ।

दोलखामा जन्मिएर हाल ३७ वर्ष पुगेका यी नेपाली ठिटो पेशामा इन्जिनियर हुन् । एलेक्स कार्की यतिबेला चुनावी मैदानमा होमिएका छन् । एलेक्सले सिड्नीको द हिल स्राइन काउन्सिलको काउन्सिलर पदमा टिकट पाएका हुन् । न्यु साउथ वेल्स राज्यमा आगामी डिसेम्बर ४ तारिखमा स्थानीय निकायको चुनाव हुँदैछ । काउन्सिलको चार वटा वडामध्ये वेष्ट वार्डबाट एलेक्स चुनाव लड्दै छन् ।

अष्ट्रेलियाबाट सञ्चालनमा आउने अनलाइन पोर्टल नेपाल ट्यूबका अनुसार एलेक्सको टिममा तीन जनाको समुह छ । बारबरा बुर्टन र मोनिका ट्रेसीसहितको तीन जनाको समुहमा एलेक्स दोस्रो नम्बरमा छन् । विजयी हुने प्राथमिकताका आधारमा पार्टीले उमेदवारहरूको नम्बर तोक्ने गर्छ । सामान्य अवस्थामा १ र २ नम्बरका उमेदवारले जित्ने सम्भावना हुन्छ । यसकारण पनि जितमा ऐलेक्स कार्कीको सम्भावना प्रबल देखिएको छ ।

स्थानीय समुदायसँग निकै राम्रो पहिचान भएकाले पनि यी जुझारू युवक ऐलेक्स कार्कीको जिततर्फ आशावादी हुनु परेको अवस्था रहेको बुझिएको छ ।

पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । एलेक्सले सिड्नीको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेभर पार्टीको सदस्यता लिएका थिए । विद्यार्थी जीवनमा सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसकेका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत छन् ।

न्यु साउथ वेल्स राज्यमा आगामी डिसेम्बर ४ तारिखमा हुन लागेको स्थानीय निकायको चुनावमा काउन्सिलको चार वटा वडामध्ये वेष्ट वार्डबाट एलेक्स चुनाव लड्दैछन् । ‘यतिबेला प्रवासमा बसिरहेका हामीलाई अष्ट्रेलियको मूल राजनीतिक दलले दिएको अवसर र हामीमाथि गरेको विश्वास पनि ठूलो कुरा हो’- एलेक्सको भनाइ छ । उनि अगाडि थप्छन्- ‘जितको लागि त म पूरै आशावादी छँदैछु, त्यसमाथि अष्ट्रेलियामा हुर्किरहेका हाम्रा दोस्रो पुस्तालाई यहाँको मूल राजनीतिमा लाग्न मेरो उम्मेदवारी र उपस्थिति एक दर्बिलो प्रेरणा र हौसला पनि हो ।’