पोखरा अन्तर्राष्ट्रिय म्याराथनको राशिमा दोब्बर वृद्धि

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको राशिमा दोब्बर वृद्धि



विजेताले चार लाख पाउने

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा सत प्रतिशत वृद्धि गरेको छ । मञ्चलाई सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने भएको छ ।

आयोजकले खुल्ला ४२.१९५ किमि म्याराथनतर्फ प्रथम पुरस्कार ४ लाख नगद पुऱ्याइएको घोषणा गरेको हो । यो पुरस्कार राशि गत वर्षको १५औं सस्करण भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र÷छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहीन दौडतर्फ समेत पुरस्कार राशि बढाइएको जनाइएको छ । ती दौडतर्फ समेत ५/५ हजार पुरस्कार राशिमा बढाइएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पुऱ्याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वनातर्फ ३० हजार प्राप्त गर्ने बताए ।

अध्यक्ष पराजुलीले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिंदै उनले भने- ‘गत वर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सवै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पुऱ्याएका छौँ ।’

पुरस्कार राशिमा वृद्धिले दक्षिण एशियाली देशका धावकसँगै अन्य अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघिसार्दै मञ्चका अध्यक्ष पराजुलीले भने- ‘म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउने लक्ष्य पूरा हुनेतर्फ हामी अघि बढेका छौँ, यसका लागि सबै सरोकारवालहरुको सहयोग उत्तिकै खाँचो छ ।’

त्यस्तै, पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुपअन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दुधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्षदेखि निरन्तर रुपमा पोखरा म्याराथनसँग सहकार्य गर्दै आएको सफल दुधले आगामी तीन वर्षका लागि मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथनसँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउनुका साथै पोखरालाई खेलकुद पर्यटनको राजधानीका रुपमा स्थापित गर्न उद्योगले सानो सहयोग गरेको उल्लेख गरे ।