आईजीपी बन्ने फ्री स्टाइल कुस्ती

आईजीपी बन्ने फ्री स्टाइल कुस्ती


-वसन्तराज कुँवर
यतिबेला चर्चाको बजारमा अनेकौँ हल्ला चलिरहेका छन्, त्यसमध्ये एक आईजीपी परिवर्तनबारे पनि छ । आईजीपी परिवर्तनको हल्ला कहाँबाट कसरी आइरहेछ त्यो हामीजस्ता नागरिकलाई थाहा हुने कुरो भएन, तर पत्रपत्रिकामा सार्वजनिक रूपमा नै यो हल्ला बाहिर आउनुको पछाडि पङ्क्तिकारको विचारमा निम्न कारण हुन सक्छन् ।
१) गृहमन्त्रीको इच्छा : पहिलो कारण गृहमन्त्रीले नै आईजीपी परिवर्तनको चाहना राखेका हुनसक्छन् । मैले बार-बार लेख्दै आएको छु कि जुन नेता गृहमन्त्री हुन चाहेका छन् वा भएका छन् उनीहरू देशमा शान्तिसुरक्षा ल्याउने एजेण्डा बोकेरभन्दा पनि धन कमाउने, शक्ति बढाउने र कार्यकर्तालाई जागिर खुवाउने उद्देश्यले बढी आएको अनुभव हुन थालेको छ । जब कुनै गृहमन्त्री गृहमा आउनैका लागि कैयौँ सांसदलाई पैसाको भरमा चित्त बुझाइ त्यो पद प्राप्त गर्न सफल भएका हुन्छन्, वा पार्टीलाई रकम जुटाइदिने र्सतमा त्यस पदमा आएका हुन्छन् वा आफ्नो पार्टीलाई माथि ल्याउन वा चुनाव जिताउन त्यस पदमा आएका हुन्छन् भने त्यतिबेला सुरक्षाफौजलाई आफ्नो उद्देश्यमुताबिक चलाउन सक्नुपर्ने पनि हुन्छ । जनपद प्रहरी होस्, सशस्त्र प्रहरी होस् वा गुप्तचर वा गृह प्रशासन त्यस सेवामा काम गर्नेहरू कि त इमानदारीको कसम खाएर आएका हुन्छन् वा कि त ऐन नियमअनुसारबाट सञ्चालित हुन्छन् । यस्ता कर्मचारीलाई तिनले खाएको शपथ वा राज्यले दिएको ऐन-नियमअनुसार मात्र चल्न दिने हो भने गृहमन्त्रीको पैसा कमाउने वा व्यक्तिगत पार्टीगत शक्ति हत्याउने रणनीति सफल हुन सक्तैन । अत: यस्तो परिस्थिति सफल पार्न गृहमन्त्रीलाई प्रहरी प्रमुखले नैतिक-अनैतिक दुवैै कार्यमा साथ दिनैपर्ने हुन्छ ।
हालका गृहमन्त्रीलाई पैसाको चाहना नराख्ने र देश र जनताका लागि आफ्नो पद पनि दाउमा लगाउने खालको उच्च नैतिकता भएको नेताको रूपमा लिइँदैन । त्यसैगरी उनलाई आफ्नो पार्टी चलाउन र थुप्रै सांसदको विश्वास बटुली त्यसलाई कायम राख्न पैसाको आवश्यकता छैन भनेर विश्वास गर्न पनि गाह्रो छ । धेरै पहिलादेखि नै ‘गृह गृह’ भन्दै त्यस पद प्राप्तिका लागि सशक्त ढङ्गले प्रयास गर्दै आउनुभएका यी गृहमन्त्रीले पटकपटक मन्त्रिपरिषद्मा बस्दा निर्माण, यातायात, आवास तथा भौतिकलगायत राम्रो पैसा कमाउने मन्त्रालयको अनुभव संगालेको अवस्थामा पनि ती मन्त्रालयहरूमा जान नखोजी गृह नै छानेको केवल देशमा शान्तिसुरक्षा ल्याउनकै लागि होला भनेर विश्वास गरिहाल्न पनि गाह्रै छ । यदि शान्तिसुरक्षा, अपराध र अपराधीप्रति साँच्चिकै संवेदनशील भएका भए यी गृहमन्त्रीले क्यासिनोलाई हलुको बनाउन, फौजदारी अभियोगमा थुनिएकाहरूलाई आममाफी दिन र अनैतिक चरित्र भनी समाजमा चिनिएकाहरूसँग हेलमेल बढाउन डराउनुपर्थ्याे ।
अत: यदि गृहमन्त्रीहरू त्यो पदमा पैसा, शक्ति र पार्टीको फाइदाका लागि आएका छन् भने त्यतिबेला उनीहरूले आईजीपी परिवर्तर्न गर्न प्रयास गर्न सक्छन् । यसरी परिवर्तन गर्दा दुईवटा फाइदा हुन सक्छ, पहिलो- आफ्नो इच्छाअनुसारको मानिसलाई त्यो पदमा ल्याई काम गर्न गाह्रो भइरहेकोलाई हटाउन सकिन्छ र दोस्रो- नयाँ आउनेलाई मैले नै ल्याएको हुँ भनेर कठपुतलीझैं प्रयोग गर्न पनि सकिन्छ । जे होस्, अहिलेको हल्लामा पनि गृहमन्त्रीको चाहना प्रमुख कारण हुनसक्छ । त्यसैले हो प्राय: गृहमन्त्रीको परिवर्तनसँगै आईजीपीहरू पनि परिवर्तन गर्ने प्रयास भइरहेको छ त्यसको कारण ती प्रहरी प्रमुखले भने भनेको वा आशा गरेझैं काम नगरिदिएको कारणले हुनसक्छ ।
२) पार्टीको रणनीति : भएको आईजीपी हर्टाई आफ्नोअनुकूलको आईजीपी ल्याउने पार्टीगत निर्णय पनि हुन सक्छ । प्रायगरी चुनाव नजिक आएमा भविष्यमा आउने चुनावमा हाम्रो पार्टीलाई फाइदा हुने गरी आईजीपीले प्रहरी खटाइदेवओस् भन्ने मनसुवा राख्दै पार्टीले नै प्रहरी प्रमुख हटाउने रणनीति अघि सारेको पनि हुनसक्छ । अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानको अदलाबदलीमा तत्कालीन काङ्ग्रेस र एमाले पार्टीकै स्वार्थ निहित थियो । यसरी पार्टीगत रूपमै आफ्नोअनुकूलको मान्छे ल्याउने क्रममा पनि आईजीपी फेरिन सक्छन् । यो दृष्टिकोणबाट हेर्दा माओवादी तथा मधेस पार्टी दुवैलाई रवीन्द्रप्रताप शाह एमाले वा काङ्ग्रेसको मान्छे लाग्न सक्छ । अब सर्वोच्चले ६ महिनापछि संसद्को म्याद नथप्ने भएपछि चुनावमा जाने लगभग निश्चित भएको हुँदा त्यही चुनावलाई मध्यनजर राखेर आईजीपी हटाउने खेल सुरु गरेका कारण पनि यो हल्ला बाहिर आएको हुन सक्छ ।
३) तल्ला अधिकृतको उच्च आकाङ्क्षा : प्रहरीमा अहिले आफूभन्दा पहिलेका आईजीपीहरूलाई राजनीतिक पार्टीहरूसँग साँठगाँठ गरी बीचैमा ढाल्दै अरू आईजीपी भएको तल्ला तहलेदेखि रहेका छन् । रमेश चन्द बीचैमा गएका वा निकालिएका वा हटाइएका कारण हालका प्रहरी प्रमुख त्यो पदमा पुगेको पनि तल्ला तहकाले देखेका छन् । हालका एआईजी तथा आईजीपीहरू समान ब्याचका भएका कारण एउटाले अर्काको नेतृत्वलाई आत्माबाट नै स्वीकार्न सकेको अवस्था छैन । एक-अर्कामा पनि ऊभन्दा म कम छैन भन्ने भावनाले काम गरिरहेको छ । त्यसमाथि एउटै ब्याचका एआईजीहरूले अब केही महिनामा नै अवकाश भई घर जाने स्थिति देखेपछि त्योभन्दा राम्रो सके आफूले पनि आईजीपी भई इतिहास बनाउने भित्री इच्छा राखेकै छन् । यही भित्री इच्छाले गर्दा उनीहरूले एकातर्फ आईजीपीलाई असहयोग गर्ने र अर्कोतर्फ आईजीपी काम नलाग्ने भए मलाई मौका प्रदान गर्नुहोस्, म सहयोग गनेर्ेे भन्दै गृहमन्त्री, प्रधानमन्त्री वा पार्टीलाई प्रभावित पारिरहेका पनि हुन सक्छन् । यसो गरिएकोलाई नचाहिने काम गर्‍यो भनिहाल्ने पनि स्थिति छैन किनकि हिजोका आईजीपीलाई हाल भएका आईजीपीले पनि त्यसै गरेका हुन सक्छन् । अत: एआईजीहरूको उच्च आकाङ्क्षाका कारण पनि यो हल्ला बाहिर आएको हुन सक्छ ।
४) खस्कँदो शान्तिसुरक्षाको स्थिति : अहिले गृहमन्त्रीले शान्तिसुरक्षाको मामलामा प्रशस्त अपजस लिइरहनुपरेकै छ । चाहे जेलभित्रको झगडामा काङ्ग्रेसी कार्यकर्ताको मृत्युको कुरोलाई लिएर होस् वा जनमानसमा सुरक्षाको अनुभूति नभएको विषयसँग सरोकार राख्ने कुरोलाई लिएर होस्, शान्तिसुरक्षाको विषयमा सधैं गृहमन्त्रीले अपजस खेपिनैरहनुपरेको छ । यस्तो अवस्थामा सरकार तथा प्रधानमन्त्रीले समेत आईजीपी हटाएर जनताको रिस वा गुनासोको स्तरलाई केही मत्थर पार्न पनि आईजीपी परिवर्तन गर्ने हल्ला वा पहल गर्न सक्छन् । यस्तो हल्ला चलाउँदा एकातर्फ आईजीपीहरू डरले सरकारको अझैं वफादार हुने सम्भावना रहन्छ भने अर्कोतर्फ जिम्मेवारीतर्फ सजग पनि हुन सक्छन् । त्यसैले सरकारले नै यस्तो हल्ला फिँजाएर वा आईजीपीलाई बडी कामप्रति सजग गराउन वा साँच्चिकै हटाउने रणनीतिअन्तर्गत काम गरेका कारण पनि यो हल्ला बाहिर आएको हुनसक्छ ।
५) स्वार्थी तत्त्वहरूको चाहना : आईजीपी पद प्रत्यक्ष/अप्रत्यक्ष ढङ्गले अनेकौं वर्ग, पेसा र धारणा राख्ने व्यक्तिहरूसँग सम्बन्धित छ । यो आईजीपीले मलाई ठेक्का नदिए अर्को आईजीपी ल्याएर ठेक्का पार्छु भन्ने चाहना राख्ने ठेकेदार पनि हुन सक्छ । आईजीपीले भनेअनुसार सहयोग नगरेकाले रिसाएका पत्रकार पनि हुन सक्छन् । उनले भनेअनुसार पैसा बुझाउने काममा सहयोग नगरेकोले रिसाएका तस्कर पनि हुन सक्छन् । यो आईजीपीले हामीलाई अन्याय गर्‍यो वा यो आईजीपीको पालामा मेरो प्रगति राम्रो हुँदैन भनेर तिनका विरुद्ध लागेका आफ्नै तल्ला प्रहरी कर्मचारी पनि हुन सक्छन् । हाम्रो कुरा सुनिदिएन वा भनेको मानेन भन्ने अर्को पार्टीका सांसद, नेता वा कार्यकर्ता पनि हुन सक्छन् । काम नगरिदिएकोले झोक्किएका गृहमन्त्री वा प्रधानमन्त्रीका आफन्त, नातेदार पनि हुन सक्छन् । एउटा आईजीपीसँग धेरैको सरोकार हुन्छ र सबैको कुरा आईजीपीले पूरा गर्न सक्तैन । यस्तै स्थितिमा रिस फर्ेर्ने पनि आईजीपीलाई हटाउने कुरो गर्न थाल्छन् र समाजमा यस्तो हल्ला आउन सक्छ ।
हालका आईजीपी हटाइँदै छन् भन्ने चर्चाका पछाडि पनि यिनै कारणहरूले भूमिका खेलेको हुन सक्छ । प्रहरीमा कुनै आईजीपी हटे पनि त्यसलाई सहजै स्वीकार्ने परम्परा चलिसकेको छ । कुनै आईजीपीलाई बीचैमा हर्टाई हाले पनि त्यसले खासै सरकारलाई असर गर्दैन भन्ने पनि सबै राजनीतिक पार्टीले बुझिसकेका छन् । गृहमन्त्रीहरूका लागि यो रोमाञ्चक खेलजस्तो पनि भएको छ । हुने आईजीपीहरू पनि बीचमै हट्न परे पनि मानसिक रूपले तयार हुन थालिसकेका छन् । एआईजीहरू पनि बीचमै हर्टाई आफू पनि हुन प्रयास गर्ने कुरालाई न्यायोचित नै मान्न थालिरहेका छन् । आफ्नै हाकिमविरुद्ध आफैं कुरा काट्दै हिँड्ने र आफ्नै हाकिमलाई असहयोग गर्ने परम्परा विकास हुँदै आएको जनपद प्रहरीमा भोलि के हुन्छ त्यो त थाहा भएन तर अहिले पुन आईजीपी परिवर्तन हुने हल्ला चलेको छ । यो हल्लाले बाहिर जो-जसलाई जति फाइदा गरे पनि प्रहरी सङ्गठनलाई भने कमजोर नै गराउनेछ तर अहिले सङ्गठनको कसलाई नै मतलब छ र ?
सेनामा सेना प्रमुखलाई हर्टाई दोस्रोलाई प्रमुख दिन खोज्दा दोस्रोले मानेनन् । त्यसैले त्यहाँ रक्षामन्त्री हावी हुन पाएनन् । पुलिसमा यस्तो त्याग देखिएन बरु उल्टो आफ्नो हाकिमलाई हटाउन सहयोग गर्न थालियो । हाकिम हर्टाई आफूलाई सो पद दिए आफूले पनि मन्त्री, प्रधानमन्त्रीलाई जे पनि सहयोग गर्न तयार भएको वाचा पनि गर्न थालियो । यही कारणले हो कि महिना-महिनामै वा गृहमन्त्री परिवर्तन हुनेबित्तिकै आईजीपी पनि परिवर्तन भएका छन् । प्रहरीको आईजीपी नेताका लागि सफ्ट टार्गेट बनेका छन् । आईजीपी परिवर्तन फ्री स्टाइल कुस्तीजस्तै भएको छ । जसले पछार्‍यो उसले जित्यो । हेरौं यो फ्री स्टाइल कुस्तीको नतिजा के आउँछ । अहिले नेताहरूले कुस्ती लडाएका छन्, प्रहरी अधिकृतहरूले मनोरञ्जन लिँदै ताली बजाइरहेका छन् र नेपाली जनताले मिडियाद्वारा हेरिरहेका छन् । जे होस्, आईजीपी बन्ने फ्री स्टाइल कुस्तीमा सबैले आनन्द लिइरहेका छन् । पङ्क्तिकार पनि हेर्दै छ, जसले पछार्ला त्यसलाई बधाई दिनैपर्ला !