नोबेल पुरस्कारविजेता मलालाको वैवाहिक जीवन सुरु

नोबेल पुरस्कारविजेता मलालाको वैवाहिक जीवन सुरु



नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग बिहे गरेकी हुन् ।

आफ्नो बैवाहिक कार्यक्रम सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको मलालाले जानकारी दिएकी एएफपीले जनाएको छ ।

तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उनी अहिले बेलायतमा बस्दै आएकीले बेलायतमै बैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको तर्फबाट शुभकामना र आशीर्वाद चाहेको उल्लेख गरेकी छन् ।

“मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बनेका छन्,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।

इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उनले अहिले निकाह गरेकी हुन् । यसको कानुनी हैसियत भने रहँदैन ।

महिला अधिकारको पक्षमा लागेको र मुिस्लम छात्रालाई पढाएकोप्रति रुष्ट हुँदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको उत्तरपश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए ।

त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार प्राप्त गरिन् । उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरु मध्ये सबैभन्दा कान्छी हुन् । मलालाले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छन् भने विश्वभरी उनको पहिचान मानवअधिकारकर्मीको रुपमा रहेको छ ।