विश्वकपको उपाधिको लागि न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्ने

विश्वकपको उपाधिको लागि न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्ने



टी-२० विश्वकप २०२१ को उपाधिको लागि न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । फाइनल भीडन्त यही कात्तिक २८ गते आइतबार दुबईमा हुनेछ ।

सेमिफाइनलमा न्यूजिल्याण्डले इङ्गल्याण्ड र अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा पुगेका यी दुवै टीमले समुह चरणमा शीर्ष स्थानमा रहेका इङ्ग्ल्याण्ड र पाकिस्तानलाई पराजित गरेका छन् ।

पहिलो सेमिफाइनल खेल इङ्गल्याण्ड र न्यूजील्याण्डबीच भएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन बनाएको थियो । १६७ रनको विजय लक्ष्य पाएको न्यूजिल्याण्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो ।

निकै सनसनीपूर्ण रहेको उक्त खेलको अन्तिम ३ ओभरमा न्यूजिल्याण्डले सनसनीपूर्ण ब्याटिङ गर्दै इङ्ग्ल्याण्डलाई विजयबाट विमुख बनाएको थियो । न्यूजिल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।

त्यस्तै, सेमिफाइनलको दोश्रो भीडन्त अष्ट्रेलिया र पाकिस्तानबीच भएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा चार बिकेटको क्षतिमा १७६ रन बनाएको थियो । १७७ रनको विजय लक्ष्य पाएको अष्ट्रेलियाले १९ ओभरमा पाँच विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउँदै फाइनलमा प्रवेश गरेको हो ।

पाकिस्तान फाइनलमा पुग्ने लगभग निश्चित भइसकेको अवस्थामा अष्ट्रेलियाका ब्याट्म्यानहरुले चमत्कारीपूर्ण ब्याटिङ गर्दै आफ्नो टोलीलाई फाइनलमा पुऱ्याउन सफल भएका थिए । अन्तिम टीमओभरमा हवाइ फायर गरेका अष्ट्रेलियन खेलाडीले निर्धारित एक ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेका थिए ।

संजोग नै मान्नुपर्छ, सेमिफाइनमा विजय हासिल गर्ने दुवै टोलीले १९ ओभरमा लक्ष्य प्राप्त गर्दै पाँच विकेट गुमाएका थिए । त्यस्तै पराजित दुवै टीमले चार विकेट गुमाउँदै लक्ष्य दिएका थिए ।

टी-२० विश्वकप २०२१ को फाइनलमा पहिलो पटक दुई वटा नयाँ टीम न्यूजील्याण्ड र अष्ट्रेलिया पुगेका छन् । यो पटक जुन टीमले विजय हासिल गरे पनि नयाँ टोली विश्व च्याम्पियन बन्ने पक्का भएको छ ।