फाइल तस्बिर
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको बताइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ डलेर निधन भएको स्पष्ट पारेको हो ।
गत असोज २१ गते घटस्थापनाका दिन काठमाडौं महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा ७४ वर्षीय चतुर्वेदीको उक्त घटना भएको थियो । ‘रामाज्ञाप्रसादको आत्महत्या’ भनेर मिडियामा आएपछि परिवारले उनको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो ।
गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडकमा शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोष्ट मार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीको भनाइ छ । ‘चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरुपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचार प्रकाशनले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ’– श्रीमती चुर्वेदीको दुःखेसो छ ।
उक्त दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा तीन साताअघि उनको तिलगङगा आँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रियासमेत गरिएको थियो । रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए भने होटल तपस र होटल रामानमका समेत उनी अध्यक्ष रहेका बताइएको छ ।
प्रतिक्रिया