निजी विद्यालयको प्रतिष्पर्धी तुल्याउन सामुदायिक विद्यालयलाई प्रविधिमैत्री शैक्षिक सामग्री

निजी विद्यालयको प्रतिष्पर्धी तुल्याउन सामुदायिक विद्यालयलाई प्रविधिमैत्री शैक्षिक सामग्री


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

झापाको भद्रपुर नगरपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरभित्रका १८ वटा सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियुक्त शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

शिक्षा शाखाको वार्षिक कार्य-योजनाअन्तर्गत सामाजिक विकास समितिले आवश्यकताका आधारमा विद्यालयको मागअनुसार ल्यापटप, प्रिन्टर, स्मार्ट बोर्ड, स्मार्ट टिभी लगायत डिजिटल प्रविधि युक्त शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास समितिका संयोजक सीता गुरागाईंको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रमुख पोखरेलले समयानुकुल उन्नत शिक्षाको वातावरण निर्माण गर्न सामाजिक विकास कार्यक्रमअन्तर्गत डिजिटल प्रविधियुक्त शैक्षिक सामग्री विद्यालयहरूलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख राधा कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा अब्बल बनाउन प्रविधिमैत्री शैक्षिक सामग्री हस्तान्तरणको अवधारणा लिइएको उल्लेख गरिन् ।

शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि शाखा प्रमुख पवित्रा ढकालले प्रकाश पार्दै सामुदायिक विद्यालय समयानुकुल अब्बल बनाउन प्रविधिमैत्री शैक्षिक सामग्री जरूरी भएकाले नगर भित्रका सामुदायिक विद्यालयका आवश्यकता पहिचान गरी शैक्षिक सामग्री वितरण गरिएको प्रष्ट पारेकी थिइन् ।