सर्वोच्चमा सबै खालका मुद्दामा तोकियो पेसी, पक्ष र विपक्षमा प्रदर्शन र नारावाजी

सर्वोच्चमा सबै खालका मुद्दामा तोकियो पेसी, पक्ष र विपक्षमा प्रदर्शन र नारावाजी



प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीशले १० वटा इजलासमा पेसी तोक्नुभएको हो ।

उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोक्नुभएको छैन । दशमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने नभएको बुझिएको छ । यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशहरुले सुनुवाइ गर्न इन्कार गरेका थिए ।

सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।

अदालतमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ भएको छैन । यसबाट न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको धर्नाका कारण सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । कडाइका बीच प्रधानन्यायाधीशको विरोध र समर्थननमा सर्वोच्च अदालत क्षेत्रमा भएको प्रदर्शनका क्रममा आइतबार केहीबेर भागभागको अवस्था सिर्जना भएको थियो ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै अदालत परिसरमा वकिलहरुले नाराबाजी गरिरहँदा बाहिर गेटमा न्याय सेवा सुचारु हुनु पर्ने भन्दै मोटरसाइकलमा ठूलो संख्यामा आएका युवाहरुले प्रदर्शन गरेका थिए । युवाहरुको समूहले न्यायाधीश तथा वकिलहरुको आन्दोलन तथा अवरोधले न्याय सेवा गम्भीर रुपमा प्रभावित भएको भन्दै सेवा सुचारु गर्न माग गरेका हुन् ।