इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो



पछिल्ला महिना लगातार गरिएको इन्धनको मूल्य वृद्धिसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।

वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।

यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ । काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क रु १७० बढेको छ ।

सङ्घकाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको बताइएको छ ।