सुमन र रसिलाले जिते विन्टर ट्रेल हाफ म्याराथनको उपाधि

सुमन र रसिलाले जिते विन्टर ट्रेल हाफ म्याराथनको उपाधि



चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै राईले नगद ५० हजार प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दूरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पूरा गरेका थिए । दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले हासिल गरे उनीहरूले क्रमशः ३० हजार र २० हजार नगद हात पारे । त्यस्तैँ अर्जुन कुलुङ र तीर्थ तामाङ चौथो र पाँचौँ स्थानमा रहे ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो स्थान हासिल गरिन् । २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरेकी तामाङले उपाधिसँगै नगद ५० हजार प्राप्त गरिन् । त्यस्तै, सिन्धुपाल्चोकका नितु तामाङ दोश्रो हुँदा प्युठानका संगीता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले क्रमशः तेश्रो, चौँथो र पाँचौ स्थान प्राप्त गरे ।

त्यस्तै, सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा सन्च तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका थिए । भेट्रान पुरुषतर्फ गोरखाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि सुरु भएको २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरीबाट सुरु भएको थियो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्यसचिब सुर्यलाल भण्डारीले बताए । जिल्लाकै गौरव पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुदमार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।