टी–२० विश्वकप क्रिकेट २०२१ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । टी–२० विश्वकपको उपाधिसँगैै अष्ट्रेलियाले आईसीसीअन्तर्गतका सबै विश्वस्तरीय प्रतियोगिता जित्न सफल भएको छ ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो, जसमा कप्तान केन विलियमसनले सर्वाधिक ८५ रनको उत्कृष्ट पारी खेलेका थिए । विलियमसनले ४८ बलमा ८५ रन बनाएका थिए । उनले आफ्नो पारीमा १० चौका र ३ छक्का प्रहार गरेका थिए ।
विलियमसनको यो प्रदर्शनसँगै उनी टी–२० विश्वकपको फाइनलमा सर्वोच्च स्कोर बनाउने कीर्तिमानी कप्तान समेत बनेका छन् । यो भन्दाअघि श्रीलंका कप्तान कुमार संगकाराले फाइनलमा सबैभन्दा बढी रन बनाएर कीर्तिमान राखेका थिए । विलयमसनको यो उत्कृष्ट प्रदर्शनसँगै उनी आधुनिक क्रिकेटका महान् खेलाडीको सूचीमा परेका छन् । क्रिकेटका तीनै विधामा उत्कृष्ट प्रदर्शन गर्दै आएका विलियमसनले फाइनलमा जुन किसिमको प्रदर्शन गरे त्यो क्रिकेटको इतिहासमा सुनौलो अक्षरले लेखिने छ ।
शुभारम्भको १० ओभरमा कमजोर ब्याटिङ गरेको न्यूजील्याण्डले अन्तिम १० ओभरमा भने विस्फोटक ब्याटिङ गरेको थियो । न्यूजिल्याण्डले अन्तिम १० ओभरमा ११५ रन बनाउँदै अष्ट्रेलियालाई जितको लागि १७३ रनको चुनौती पेश गरेको थियो । अष्ट्रेलियाका मिसेल स्टार्कले चार ओभरमा ६० रन दिएर सर्वाधिक महङ्गा बलर सावित भए । उनको एकै ओभरमा न्यूजील्याण्डका खेलाडीले २२ रन प्रहार गरेका थिए । जसमा ४ चौका र एक ६ सामेल थियो ।

१७३ रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको अष्ट्रेलियाको शुरुवात राम्रो हुन सकेन । कप्तान एरेन फिन्च पाँच रनमा आउट भए पनि अष्ट्रेलियाले आक्रमक खेललाई जारी राख्यो । ओपनर डेविड वार्नर र मिचेल मार्शले ५९ बलमा ९२ रनको साझेदारी गरेपछि न्यूजिल्याण्ड दबाबमा प¥यो । यी दुवै खेलाडी अर्धसतकीय पारी खेलेका थिए । जसमा वार्नरले ३४ बलमा ५३ रन र मार्शले ५० बलमा ७७ रन बनाएका थिए । मार्शले ३१ बलमा ५० रन बनाएका थिए ।
चौथो विकेटका लागि मार्श र ग्लेन म्याक्सवेल ६६ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले १८.५ ओभरमा विजय लक्ष्य हासिल गर्दै टी–२० विश्वकपको च्याम्पियन बनेको थियो । मार्श फाइनल खेलका म्यान अफ दि म्याच पनि चुनिए ।
सन् २०१५ देखि कुनै उपाधि जित्न नसकेको अष्ट्रेलियाले ६ वर्षपछि पहिलो पटक टी–२० क्रिकेट २०२१ को विश्वकपको उपाधि जित्न सफल भएको छ । त्यस्तै, अहिलेसम्म विश्वकपको कुनै उपाधि जित्न नसकेको पुनः एक पटक निरस हुनु परेको छ । न्यूजिल्याण्ड यसभन्दा अघिको एकदिवसिय विश्वकप क्रिकेटको फाइनलमा पनि इङ्गल्याण्डसँग पराजित भएको थियो । विश्वकपमा सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएको न्यूजील्याण्डले अहिलेसम्म टेष्ट क्रिकेटबाहेक अन्य विश्वस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
प्रतिक्रिया