युरोपमा बढ्यो कोरोना, विज्ञहरूद्वारा ‘चौथो लहर’ शुरु भएको घोषणा

युरोपमा बढ्यो कोरोना, विज्ञहरूद्वारा ‘चौथो लहर’ शुरु भएको घोषणा



बेल्जियममा पुनः लकडाउन हुन सक्ने

  • सनत आचार्य, बेल्जियम

पछिल्लो एक सातामा बेल्जियमलगायत युरोपका विभिन्न देशहरूमा कोरोना भाइरसको संक्रमण बढ्दो देखिएको छ । विज्ञहरूले यसलाई ‘चौथो लहर’ भनेर औंल्याएका छन् भने युरोपियन रोग रोकथाम तथा नियन्त्रण केन्द्रले युरोपका १० देशहरूमा ‘अधिक सम्वेदनशीलता’ र अन्य १३ देशहरूमा ‘उच्चतम् सम्वेदनशीलता’ भनेर चित्रण गरेको छ ।

केन्द्रका अनुसार अधिक सम्वेदनशीलता अपनाउनुपर्ने देशहरूमा बेल्जियमलगायत बुल्गेरिया, क्रोसिया, चेज, इस्टोनिया, ग्रीस, हंगेरी, नेदरल्याण्ड, पोल्याण्ड र स्लोभेनिया छन् भने उच्चतम् सम्वेदनशीलता व्यक्त गरेका देशहरूमा अष्ट्रिया, डेनमार्क, फिनल्याण्ड, जर्मनी, स्पेन, आयरल्याण्डलगायत छन् । साइप्रस, फ्रान्स र पोर्चुगाल सामान्य र इटाली, स्पेन, माल्टा र स्वेडेन अति कम सङ्क्रमण भएको देश बताइएको छ ।

बेल्जियममा मात्र गत नोभेम्बर ३ देखि ९ सम्मको दैनिक संक्रमण तीव्र रूपले बढेको देखिएको छ । उक्त अवधिमा औषत १० हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अघिल्लो हप्ता भन्दा ३९ प्रतिशतले बढी हो । त्यस्तै नोभेम्बर ६ देखि १२ सम्मको अवधिमा औषत २०७ जना सङ्क्रमित अस्पताल भर्ना भएको देखिएको छ । यो पटकको सङ्क्रमणमा २५ देखि २९ वर्षसम्मका युवाहरूमा अत्यधिक रहेको देखिएको छ । त्यस्तै गत अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्ममा ३ सय २० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

पश्चिमी प्रान्तअन्तर्गत पर्ने कोकशीडे, मिडलकोर्के र डे हान नगरपालिकाका करिब ८७ प्रतिशत नागरिकहरूले कोरोना विरुद्ध खोप लगाएता पनि हाल यो क्षेत्रमा कोरोना संक्रमण तीव्र्र रूपमा बढेको छ ।

यसरी दैनिक रुपमा कोरोना संक्रमण अत्यधिक मात्रामा बढ्न थालेपछि स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले रोकथामका लागि ‘तत्काल केही गर्न आवश्यक’ भनी सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय जनस्वास्थ्य मन्त्री फ्राङ्क मान्देन ब्रेखेले आइतबार एक टेलिभिजन च्यानललाई अन्तर्वाता दिँदै बेल्जियममा कुल २ हजार आइसीयु बेड रहेको र तीमध्ये १ सय १७ बेड स्वास्थ्यकर्मी कर्मचारीहरू अभाव, मर्मतसंहार आदिका कारणले थन्क्याए राखेको हुँदा प्रयोगमा नआएको र हाल ५१६ जना बिरामी आईसियुमा रहेको जानकारी दिएका छन् । मन्त्री ब्रेखेको भनाइलाई अध्ययन गर्ने हो भने यदि बेल्जियममा यसै अनुपातमा संक्रमण बढ्ने हो भने आइसीयु बेडको समेत अभाव हुने देखिन्छ । गत वर्ष नोभेम्बर पहिलो सातामा पनि आईसीयु बेडको अभाव हुँदा कोरोना संक्रमितहरूलाई छिमेकी मुलुक जर्मन लगिएको थियो ।

यसरी दिनानुदिन कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले सङ्घीय, सामुदायिक र क्षेत्रीय सरकारसँग चौथो वेभ नियन्त्रणका लागि कसरी थप प्रभावकारी उपायहरू अवलम्बन गर्न सकिन्छ भन्नेबारे छलफल गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री अलेक्जान्दर डे क्रोको कार्यालयले परामर्श समितिको आगामी बैठक नोभेम्बर १९ तारिख २ बजेको लागि तोकिएको र उक्त बैठकले आवश्यक निर्णय लिने जानकारी गराएको छ ।

सर्वसाधारणले भने १९ मा बस्ने परामर्श समितिको बैठकले होरिका (होटल तथा रेष्टुरेण्ट व्यवसाय) केही समयका लागि पुनः बन्द गर्ने वा थप कडाइका मापदण्ड लागु गर्न सक्ने आँकलन गर्न थालेका छन् ।

बेल्जियममा गत अक्टोबर २ देखि पसल, होटल, रेष्टुरेष्ट र कार्यक्रमहरूमा मास्क लगाउनुपर्ने प्रावधानलाई खुकुलो बनाएको थियो । कोरोाना सङ्क्रमणको दर बढ्दो देखिएपछि गत नोभेम्बर २ देखि पुस्तकालय, सार्वजनिक स्थान, साँस्कृतिक कार्यक्रम, चाडपर्व, खेलकुद, सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियम लागु गरेको छ । त्यस्तै पछिल्लो प्रावधान अनुसार होटल तथा रेष्टुरेष्ट प्रवेश गर्नका लागि कोभिड सेफ टिकट (कोभिड सुरक्षा जाँच टिकट) अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागु गरिएको छ ।

ब्रसेल लगायतका अन्य स्थानहरूमा सरकारले लागु गरेको नियम पालना नगरेपछि प्रहरीले कारवाहि समेत गरेको थियो । अहिले प्रहरीले नागरिकको सुरक्षाका लागि कोभिड नियमको उलंघन गर्नेहरूलाई कडा कारवाही गर्ने जनाएको छ ।

इजरायलका वरिष्ठ स्वास्थ्य विशेषज्ञहरूले कोरोना सङ्क्रमणको चौथो लहर देखिएको हुँदा हालको समयमा युरोपको भ्रमण नगर्न सल्लाह दिएका छन् ।