मध्यरातमा भएको थियो भीषण आगलागी
- तस्बिर रासस
मुगुका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गरिने बताइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले राहत तथा पुनःस्थापना गरिने बताएका हुन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले भनेका छन्, ‘मुगुको छाँयानाथ नगरपालिका-१ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौको धनमाल नष्ट भएको छ ।’
आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको र स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
मध्यरातमा भएको थियो भीषण आगलागी
गएराति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो ।
आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौँको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ । प्रहरी मुचुल्काका लागि घरधनी, पसलधनीहरुसँग सोधपुछ चलिरहेकाले क्षतिको विवरण अहिले उपलब्ध गराउन नसकिने बताइएको छ । बजारमा चलनचल्तीको बिक्री दर अनुमान गर्दा घरबारमात्र करोडौँको मुल्यभन्दा बढीको क्षति भएको र पसलहरुको सामानसमेत जोड्दा १०० करोड आसपाससम्मकोे क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
राति बाह्र बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो । पुराना माटो, ढुङ्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्ररुप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरु उठाउनसमेत पाएनन् ।
गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राति नै ट्याङ्की खाली गरी पानी छोडे पनि आगलागी नियन्त्रणमा लिन कठिन भएको थियो ।
यसैबीच आज बिहान १० बजे जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले प्रदेश र सङ्घ सरकारलाई खरानी भएका घर पुनः र्निर्माणका लागि स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ र सङ्घसंस्थालाई राहत उपलब्ध गराउनका लागि र सुरक्षा निकायलाई यकिन क्षतिको विवरण लिनका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय छ ।
प्रतिक्रिया