‘बाघको छालामा स्यालको दाइँ’ चलेको भन्दै लोकसेवा र न्यायसेवाको परीक्षा उत्तीर्ण भएर न्यायाधीश बनेकाहरू पनि आन्दोलित हुने सङ्केतहरू देखिएका छन् । जिल्लादेखि सर्वोच्च अदालतसम्म राजनीतिक नियुक्त भइ आउने न्यायाधीशहरूले न्यायिक क्षेत्रको बदनाम गरेको भन्ने ‘करिअर’ न्यायाधीशहरूको ठम्याइ छ । परीक्षा उत्तीर्ण गरेर न्याय सेवामा प्रवेश गरेकाहरू यतिबेला आपसी परामर्शमा छन् र, आवश्यक परे सङ्गठित भएर न्यायिक शुद्धताका निम्ति आन्दोलन गर्ने मानसिकता उनीहरूले बनाएका छन् ।
यस अयिभानमा सरिक एक न्यायाधीशसँग सम्पर्क गर्दा उनको भनाइ थियो- ‘हामीले कठिन परीक्षा उत्तीर्ण गरेर न्याय सेवामा प्रवेशको अवसर पाएका हौँ । यहाँ एउटा नेताको दौराको फेर समातेर न्यायाधीश भएकाहरूले न्यायालय र न्यायिक क्षेत्रको बदनाम गरे । हामीलाई ‘बाघको छालामा स्यालको दाइँ’ भएजस्तो लागिरहेको छ ।’ तत्काल नाम प्रकाशित नहुने शर्तमा उनले भने- ‘अब ‘करिअर जज’हरूले मौनता तोड्ने बेला आएको छ । न्यायापालिकाको प्रतिष्ठा पुनर्स्थापित गर्न हामी कटिबद्ध छौँ ।’
यदि ‘करिअर’ न्यायधीशहरूले पनि बेग्लै आन्दोलन छेडे भने त्यसले न्यायिक क्षेत्रलाई थप अस्तव्यस्त बनाउने निश्चित मानिन्छ । ज्ञातव्य छ, कानूनले उच्च र सर्वोच्चमा नियुक्त हुने सबै न्यायाधीशहरू परीक्षाबाट नभइ नियुक्तिप्रक्रियाबाट चयन हुने व्यवस्था गरेको छ । जिल्लाका करिअर न्यायाधीशको उच्च अदालतमा या उच्चका करिअर न्यायाधीशको सर्वाेच्च अदालतमा नियुक्त हुँदा त्यसलाई बढुवाको रूपमा नभई नियुक्तिकै रूपमा लिइने गरिन्छ ।
प्रतिक्रिया