प्रचण्डको आदेशसमेत ‘घरभेटी’ले अटेर गरेपछि…

प्रचण्डको आदेशसमेत ‘घरभेटी’ले अटेर गरेपछि…


नगरकोट सडकको दूरावस्था : फाइल फोटो

दुई महिनाभित्र नगरकोट सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गरिने

भक्तपुरको कमल विनायक-नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिइएको छ । कमल विनायक-नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमति गरिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरभेटी भनेर समेत चिनिने शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीले करिव आठ वर्षअघि सो सडक निर्माणको ठेक्का हात पारेका थिए । अधिकारीले पटक पटक म्याद थप गराएर पनि हालसम्म सडक मर्मत कार्य सम्पन्न नगर्दा उक्त सडक प्रयोगकर्ताहरु ठूलो मारमा परेका छन् । नगरकोट जस्तो पर्यटकीय क्षेत्रको व्यवसायमा नै उक्त सडकका कारण ठूलो दुष्प्रभाव परेको गुनासो सम्बद्ध व्यवसायीहरुले गर्दै आएका छन् । तर, अधिकारीले भने समयमा काम सम्पन्न गर्ने भन्दा पनि प्रचण्डको आडमा दादागिरी शैली प्रस्तुत गर्दै आएका स्थानीयको आरोप छ ।

यस परिवेशमा निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो ।

निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०/०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक-पटक म्याद थप गर्दै आएको र अहिले पुनः म्याद थप गरेको छ । पटक-पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन् ।

मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयवासीको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गरेका समन्वयकर्ता एवं महासङ्घका पूर्वमहासचिव देउजाले जानकारी दिएका छन् । बुधबारको छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्र पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराएका थिए ।

आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्र गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ । मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले जानकारी दिए भने छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराएका बताइएको छ ।

गत कात्तिक २८ गते उक्त सडकको निरीक्षण गर्दै नगरकोट पुगेर फर्किएको मन्त्री यावदसहितको टोलीलाई नगरकोट सडक सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेको नेतृत्वमा स्थानीयले मन्त्री यादवको गाडी रोकेर सडक छिटो निर्माण सम्पन्न गराइदिन माग गरेका थिए ।

यसअघि बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले प्रचण्डलाई उनको निवासमै भेट गरी घरभेटी शारदा अधिकारीलाई सम्झाइदिन आग्रह गरेका थिए । मन्त्रीको आग्रहपछि प्रचण्डले उनकै सामु फोन गरेर उक्त सडक निर्माणबारे अधिकारीलाई सोधेका र ठेकेदार अधिकारीले डेढ महिनाभित्र काम सम्पन्न गरिदिने जवाफ दिएका थिए । आफू सोही क्षेत्रबाट प्रदेश संसदमा प्रतिनिधित्व गर्ने भएकोले आफ्नो लागि नगरकोट सडकको निर्माण राजनीतिक प्रतिष्ठाकै विषय भएको भनी मन्त्री भँडेलले प्रचण्डसँग आग्रह गरेको स्वयम् मन्त्री भँडेलले सार्वजनिक गरेका थिए ।