खोप लगाउन अब पालो कुर्नु नपर्ने

खोप लगाउन अब पालो कुर्नु नपर्ने


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको संयुक्त अनुगमनका क्रममा उहाँले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने जानकारी दिए ।

‘अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन’ मन्त्री खतिवडाले भने, ‘सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।’ उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।

केही दिनपछि जिल्लामा पनि जुनुुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिँदै मन्त्री खतिवडाले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए । खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेको उनको भनाइ थियो ।

मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको भन्दै उनले कोरोना भाइरसविरुद्धको खोप शतप्रतिशत जनतासम्म पुऱ्याउने दाबी गरे । मन्त्री खतिवडाले कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइने पनि बताए ।

मन्त्री खतिवडाले कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकालगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने र स्वास्थ्य बीमालाई सहज बनाइने जानकारी दिए ।

सो अवसरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको उल्लेख गरे । कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य सचिवव डा रोशन पोखरेल, नेपालस्थित अमेरिकी राजदूत ऱ्याण्डी बेरीलगायतको उपस्थित थियो । फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो ।