तृतीय क्षेत्रको प्रकृति र संस्कृति नेपालको अर्थतन्त्रीय भरोसा

तृतीय क्षेत्रको प्रकृति र संस्कृति नेपालको अर्थतन्त्रीय भरोसा


‘ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु’ वा ‘वर्तमानमा निर्मम समीक्षा गर्नु नै सुरक्षित भविष्य बनाउनु हो’ भन्ने आशयबाट पङ्क्तिकार अमिलो व्यहोरा उदृत गर्न विवश छ ।

  • धीरज निष्पक्ष

कुनै पनि कार्यको सिद्धि वा सार्थकता तब कहलिन्छ जब त्यसमा आर्थिक पक्ष दरिलो हुन्छ । त्यस्तैगरी देश, योजना तथा कार्यार्थको सार्थकताको मापन बलियो अर्थतन्त्रले गर्दछ । यही तथ्य साङ्गठनिक नतिजामुखी प्रयास तथा विकासको सूचकाङ्कमा आधारित मानिन्छ । यद्यपि अर्थतन्त्र सुदृढ हुनुलाई नै मानवीय सूचकाङ्कको उच्चतम् आयाम मान्न भने सकिँदैन । मानिस चेतनशील, बहुमनोविज्ञानवादी तथा विशिष्ट आयामलाई अपनाउनसक्ने भएकोले समग्रताको अर्थतन्त्रबाट जीविकामा प्रभावित हुने भएतापनि शतप्रतिशत यो सिद्धान्त लागू हुने वा निर्भर रहने शर्तमा अपवादको अनिवार्यशर्तमा उपस्थित रहन्छ ।

मानवीयस्वभावमा करुणा, दया, माया, त्यागजस्ता सम्झौतापूर्ण आवेग एवम् अध्यात्म र खुसीको अतौलीय एकाईले गर्दा अर्थशास्त्रभित्र समग्र मानवीय जीवन अन्तरघुलन नहुन पनि सक्छ । मानिस सम्पूर्ण स्रोतसाधन लत्याएर सन्यासी भइ वनबास हुनसक्छ, त्यस्तै आफ्नो वा परिवारको खुसीप्राप्तिको लागि भौतिक तथा आर्थिक क्रियाकलापबाट टाढिन वा त्यसतर्फ मोहभङ्ग गरिदिन पनि हुन सक्छ । हुन त यी सबै कथन अपवाद भनौँ वा अर्थतन्त्रको सीमाबाहिरका केही सीमित चेष्टा हुन् ।

अतः कार्यार्थको उपलब्धि वा सार्थकताको द्योतक भनेको आर्थिक पाटो नै हो । झन् आधुनिकता र विश्वव्यापीकरणताको ‘भलादमी हतियार’ पुँजीबजार नै होभन्दा अत्युक्ति नहोला । तसर्थ सवलताको परिभाषाभित्र पहिलो र सशक्त अनिवार्य शर्त अर्थतन्त्र नै पर्दछ । विश्वकै प्रथमअर्थशास्त्री चाणक्यले समेत यही तथ्यलाई महत्वका साथ उजागर गरेका थिए ।

तसर्थ स्वभाविक रूपमा दरिलो र भरिलोअर्थतन्त्र सबैको चाहना तथा प्रयत्नशील विधा हो । नेपालको अर्थतन्त्रको आकार कूल गार्हस्थ उत्पादनमा करिब रू. ४० खर्बको छ । त्यस्तै चालू आर्थिक वर्षभित्र प्रतिव्यक्ति आय करिब रू. १ लाख ४१ हजार पुग्ने प्रक्षेपण गरिएको छ । यो अंक पर्याप्त र सन्तुष्टीमय भने होइन । त्यस्तै एक नेपालीको भागमा ऋण करिब रू. ५४ हजार पर्न जान्छ ।

पछिल्लो समय बहुचर्चित विषय अर्थ मामिलाको नै हुनपुगेको छ । राजनीतिक मुद्दा सकिएकाले अब आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा सबैको चासो र चिन्ता व्यक्त हुनथालेका छन् । यो देश र समग्रजनताको लागि सकारात्मक पक्ष हो । यसोभए नेपालको आर्थिक समृद्धि कसरी र केबाट प्राप्त हुन्छ त ? नेपालको आर्थिक समृद्धि तृतीयक्षेत्रबाट मात्रै अपेक्षाकृत गर्न सकिने देखिन्छ । प्राथमिक र द्वितीयक्षेत्रबाट नेपालको जीविका चल्नेभन्दा बाहेक अर्को छलाङ्ग नमार्ने नेपालको ताजास्थितिले उद्धेलित गराएको छ ।

अर्थतन्त्रको ३ आयाममध्ये प्राथमिकक्षेत्र (प्राकृतिक) ले नेपालको भूअवस्थालाई त्यतिराम्रोसँग साथ दिँदैन । हुनतः प्राथमिक क्षेत्र आर्थिक पाटोको मात्रै नभएर समग्र पृथ्वीलाई चलायमान बनाउने शाश्वत क्षेत्र पनि हो । यसभित्र प्रकृतिबाट स्वभाविक रूपमा उत्पन्न हुने उपार्जनका साधनहरू अन्न, फलफूललगायत खनिज एवम् भूगर्वका वस्तुहरूसमेत यसले समेट्दछ ।

फेरि द्विविधा पनि नहोस्, यहीभित्रको तृतीयक्षेत्र भने नेपालको सुन्दर सपनाको सेतु बन्नेछ । प्राथमिक क्षेत्रमा केही अंश नेपालको पक्षमा रहेता पनि पर्याप्त हुन नसक्दा उत्पादन खाली औपचारिकतामा मात्रै सीमित हुने देखिन्छ । यसको मुख्यकारण भनेको नेपालको कूलक्षेत्रफल साँघुरो हुनु नै हो । नेपालको कूल क्षेत्रफल (कालापानी, लिपुलेक तथा लिम्पियाधूरासहित) १ लाख ४७ हजार ६ शय ४१ वर्गकिलोमीटर छ । जसमध्ये कृषि तथा खेतीयोग्य क्षेत्र भनेको करिब १८ प्रतिशत अर्थात् २६ हजार ५ शय ७५ वर्ग किलोमिटर मात्रै हो । तसर्थ कृषि तथा पशुपालन क्षेत्रमा आमूल परिवर्तन, आधुनिकीकरण वा कृषिक्रान्ति जस्ता जे नारा ल्याइए पनि यसबाट देशले आर्थिक कोल्टो फेर्ने कुरा कानलाई मिठास र मनलाई आनन्द दिनभन्दा थप अरु केही हुने देखिँदैन । यो पङ्क्ति अमिलो लागेतापनि ‘ठोस परिस्थितिको ठोसविश्लेषण गर्नु’ वा ‘वर्तमानमा निर्मम समीक्षा गर्नु नै सुरक्षित भविष्य बनाउनु हो’ भन्ने आशयबाट पङ्क्तिकार अमिलो व्यहोरा उद्धृत गर्न विवश छ ।

नेपाल हिन्दू र बौद्ध दुबै धर्मको उद्गम र विरासत बोकेको देश हो । तसर्थ हरेक हिन्दू र बौद्ध धर्मावलम्बीहरूले आफ्नो आस्थाअनुसारको धर्मको उद्गमथलो टेक्न वा दर्शन गर्नसक्ने प्रभावकारी प्याकेज नेपालले लागू गराउन सके आर्थिक समृद्धि टाढाको सपना नहुन सक्छ ।

किनकि कृषिक्रान्तिबाट अहिले भएको उत्पादनमा वृद्धि भए पनि त्यसले आर्थिक छलाङ्ग मार्न पर्याप्त हुँदैन । हुन्छ त केवल आन्तरिक खपतमा केही सन्तुलन गर्न वा व्यापारघाटाको खाडलमा केही अंश पूर्ति गर्न मात्रै । यस क्षेत्रको दुर्वलपक्ष भनेकै क्षेत्रफल र श्रमशक्ति धेरै लाग्नु यद्यपि फाइदा न्यून रहनु हो । नेपालको परिपेक्षमा जग्गा र जनसङ्ख्या दुवै थोरै छ । नेपालको जनसङ्ख्या करिब २ करोड ९१ लाखजति छ । अझ त्यसमा श्रमबजारमा योग्यजनसङ्ख्या करिब १ लाखभन्दा थोरै माथि छ । यही सङ्ख्या पनि अदक्ष र अर्द्धदक्षले भरिभराउ छ । अझ करिब ६५ प्रतिशत जनसङ्ख्याको श्रममा आधारित यसक्षेत्रमा ‘आठ आनाको मुर्गी बाह्र आनाको मसाला’ जसरी लगानीफलभन्दा प्रतिफल कम निस्कँदै आएको छ । राजनीतिशास्त्रमा राज्य बन्ने आधारभूत तत्वहरू जनसङ्ख्या, भूगोल, सम्प्रभूता र सरकारजस्तै सवल अर्थतन्त्रका लागि माथिका २ तत्वको जबर्जस्त उपस्थिति हुनुपर्ने सङ्केत गरेको छ । नेपालको परिपेक्ष्यमा भूगोल र जनसङ्ख्यााबाट अपेक्षित साथ नपाउने हुँदा, आर्थिक उत्थानको लागि प्राथमिक क्षेत्र त्यति अनुकूल देखिँदैन । प्राथमिक क्षेत्र अमेरिका, रुस, चीन, भारत तथा ब्राजिलजस्ता मुलुकका लागि उपयुक्त साध्य हो ।

अर्को द्वितीय क्षेत्र (कृत्रिम) पनि नेपालको लागि सापक्ष क्षेत्र होइन । माथि चर्चा गरेजस्तै कच्चापदार्थको पर्याप्तता नहुने, दक्ष जनशक्तिको अभाव, पुँजीगत लगानीको अभाव, औद्योगिक दुई ठूला छिमेकी मुलुक चीन र भारतसँगको व्यापारिक प्रतिष्पर्धा गरी बजार जमाउन नसक्ने, ढुवानी एवम् पारवाहन सुविधाको कठिनाइको कारण द्वितीय क्षेत्र पनि नेपालको परिवेश सुहाउँदो क्षेत्र होइन । यो क्षेत्र विशेषगरी सूचना-प्रविधिसम्पन्न मुलुकका लागि सहजताको क्षेत्र हो । जापान, चीन, अमेरिका, भारत, कोरियालगायत युरोपेली मुलुकहरू यही कारणले यस क्षेत्रमार्फत् आर्थिक फड्को मार्न सफल छन् । फेरि पनि यो पङ्क्तिकारले यो पनि सम्भव छैन, त्यो पनि सम्भव छैन भनी, निराशावादी चिन्तनलाई प्रवर्द्धन गर्न खोजेको अर्थ नलागियोस् । माथि उल्लेख गरेजस्तै वर्तमान परिस्थितिको निर्मम व्याख्या र समीक्षा मात्रै गर्न खोजिएको हो ।

हुन तः अर्थ मन्त्रालयले जारी गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७७/७८ मा नेपालको कूल गार्हस्थ उत्पादनमा प्राथमिक र द्वित्तीय क्षेत्रको योगदान क्रमशः करिब ३० र १८ प्रतिशत रहने अनुमान गरिसकेको छ । वर्तमान सर्वेक्षणले नै इङ्गित गरिहेको तृतीय क्षेत्रअन्तर्गत सेवातर्फ अहिले पनि गार्हस्थ उत्पादनमा करिब ६४ प्रतिशत योगदान दिने अनुमान छ । नेपालको आर्थिक समृद्धिको गुदीकुरा यसैले बोकेर बसेको यथार्थ मनन गर्ने र त्यसका लागि आवश्यक संरचना तथा पूर्वाधारमा ध्यान दिनसके कार्यान्वयनमा सार्थकता थपिने थियो । नेपालले प्राथमिक र द्वितीय दुवैै क्षेत्रबराबरको यस क्षेत्रमा ठोस योजनासहितको लगानी बढाउने हो भने प्रतिफल राम्रैसँग आउने तथ्यलाई नकार्न सकिँदैन । यसको सानो उदाहरणबाट पनि प्रष्ट हनु सकिन्छ । मानौं कुनै एक चारआना जग्गामा गरिएको खेतीबाट आउने पैसा वा प्रतिफल र सोही चारआना जग्गामा खोलिएको पसल वा सेवामूलक विद्यार्थी पढाउने कोचिङ्ग कक्षाबाट आउने पैसामा यथेष्ठ भिन्नता आउने पक्का छ । नेपालको भूबनोट प्राथमिक र द्वितीय क्षेत्रको लागि कदापि अनुकूल छैन । छ त केवल तृतीय क्षेत्रका लागि ।

नेपालको आर्थिककायापलटको तृतीय क्षेत्रअन्तर्गत सेवाक्षेत्र नै हो । सेवाक्षेत्र यसकारण नेपालसापक्ष छ कि, यहाँ प्रकृतिले स्वर्गको बिम्बमात्रै दिएको छैन, संस्कृतिको अथाह सम्पत्तिसमेत दिएको छ । औषत ३२ डिग्रीको तापक्रम रहने तराईको आँप खाँदै ३ घण्टाभित्रै पहाडको औषत २२ डिग्री तापक्रमको सुन्तला खान पुगिन्छ । त्यस्तै यातायातले यात्रा सहजीकरण गर्ने हो भने, पहाडबाट पनि ४ घण्टाभित्र हिमालको स्याउ खानसमेत पुग्न सकिन्छ । सीधा सडकबाटो बढीमा ६ घण्टा वा हवाईमार्गबाट १ घण्टाभित्रै भिन्नथरिका मौसम वा वातावरणमा रुमलिन सकिने विश्वका थोरै मुलुकभित्र नेपाल पर्दछ ।

भूबनोटले पनि विश्वका ठूला जनसङ्ख्या भएका देशहरू चीन र भारतको बीचमा सेतुको रूपमा रहेको नेपालको सेवागत क्षेत्रबाटै मनग्गैआम्दानी उठाउन सक्ने अवसर छ । उत्तरतर्फको छिमेकीमुलुक चीनमा बौद्धधर्मको उपस्थिति रहनु र दक्षिणतर्फको छिमेकीमुलुक भारतमा हिन्दू बाहुल्यताको प्रचुर फाईदा नेपालले सांस्कृतिक क्षेत्रबाट उठाउन सक्दछ । नेपाल हिन्दू र बौद्ध दुबै धर्मको उद्गम र विरासत बोकेको देश हो । तसर्थ हरेक हिन्दू र बौद्ध धर्मावलम्बीहरूले आफ्नो आस्थाअनुसारको धर्मको उद्गमथलो टेक्न वा दर्शन गर्नसक्ने प्रभावकारी प्याकेज नेपालले लागू गराउन सके आर्थिक समृद्धि टाढाको सपना नहुन सक्छ ।

नेपालको प्राकृतिक सुन्दरताको रमण गर्न वर्षेनि विश्वभरबाट करिब १० लाख पर्यटक नेपालभ्रमणमा आउँछन् । नेपालको सांस्कृतिक पर्यटकको रूपमा भारत र चीनबाट भित्र्याउन सकिन्छ । भारतको कूलजनसङ्ख्या १ अर्ब ३८ करोड छ । जसमध्ये हिन्दूधर्मावलम्बीको जनसङ्ख्या ८० प्रतिशत अर्थात् १ अर्ब १० करोड छ । भारतमा भएका हिन्दूधर्मावलम्बीहरू १ अर्ब १० करोडमध्ये न्यूनतम १ प्रतिशत अर्थात् १ करोड १० लाख जनसङ्ख्या हुन्छ । त्यस्तै चीनको कूलजनसङ्ख्या १ अर्ब ४१ करोड छ । जसमध्ये बौद्ध धर्मावलम्बीको जनसङ्ख्या २१ प्रतिशत अर्थात् ३० करोड छ । यहाँ पनि कूल बौद्ध धर्मावलम्बीहरूमध्ये न्यूनतम १ प्रतिशत अर्थात् ३० लाख जनसङ्ख्या हुन्छ । नेपाल आउने प्राकृतिक र सांस्कृतिक पर्यटकको कूल योगफल १ करोड ५० लाख हुन्छ । १ करोड ५० लाख पर्यटकलाई विभिन्न पहाडीमार्ग तथा जनकपुरधामबाट लुम्बिनी हुँदै पशुपतिनाथ र मुक्तिनाथसम्मको सरकारी प्याकेज तर्जुमा गर्ने र प्रचार-प्रसार गर्ने हो भने नेपालले वार्षिक १३ खर्बको अतिरिक्त प्रत्यक्ष फाइदा उठाउनसक्छ । त्यस्तै परोक्ष रूपमा रोजगारी, राजश्व तथा वैदेशिक मुद्राको सञ्चय हुन सक्छ ।

१ करोड ५० लाख पर्यटकको न्यूनतम भ्रमणअवधि ७ दिनको रहन्छ । पर्यटकले प्रतिव्यक्ति यातायाततर्फ औषत ४ हजार खर्च गर्दा ६० अर्ब, खाना प्रतिछाक औषतमा ५ सयका दरले १० छाकमा ७५ अर्ब, बसाइमा औषत प्रतिरात औषत २ हजारले ७ रातको ४ खर्ब २० अर्ब, मनोरञ्जन तथा विविधमा औषत ६ हजारका दरले ९० अर्ब प्रत्यक्ष रूपमा रकम सङ्कलन हुने देखिन्छ । सोही अनुपातमा परोक्ष रूपमा समेत राजश्व जम्मा हुने देखिन्छ । जसबाट मुलुकभित्र करिब १३ खर्बको आर्थिक चलायमानता सिर्जना हुने देखिन्छ । यो अंक वार्षिकबजेटको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने हुँदा नेपालको लागि अर्थशास्त्रको तीन आयाममध्ये तृतीय क्षेत्र अझ त्यसमा पनि सेवागतक्षेत्रलाई नै अंगाल्नु बढी हितकर हुनेछ । तृतीय क्षेत्र फगत एक आयाम मात्रै नभएर नेपालको लागि कोशेढुङ्गा सावित हुन सक्छ । यसको मतलब अन्य क्षेत्रलाई पूरै तिरस्कार गर्नुपर्छ भन्ने अर्थ्याइँ किमार्थ नरहोस् ।