अमेरिकामा जथाभावी औषधि सेवनबाट एकै वर्ष एक लाख बढीको ज्यान गयो

अमेरिकामा जथाभावी औषधि सेवनबाट एकै वर्ष एक लाख बढीको ज्यान गयो


संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस महामारीकै अवधिमा एक लाख भन्दा बढी व्यक्तिको ज्यादा औषधि सेवन (ओभरडोज) का कारण ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार, फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की (पिल्स) खाएर मानिसको मृत्यु भएको हो ।

विज्ञहरुको भनाइमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिका भित्रिएको छ । यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानिसको जीवनलाई नै जोखिममा पारिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा जारी एक वक्तव्यमा कोभिड-१९ महामारीमा संघर्ष गरिरहेकै अवस्थामा ओभरडोजविरुद्धको संघर्ष पनि उत्तिकै चुनौतीपूर्ण रहेको उल्लेख गरिएको एएफपीले जनाएको छ ।

संयुक्तराज्य अमेरिकामा अप्रिल २०२० देखि अप्रिल २०२१ को एक वर्षको अवधिमा एक लाख ३०६ जनाको बढी औषधि सेवन (ओभरडोज) का कारण मृत्यु भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८.५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ ।

समग्रमा, मृत्यु भएका कूल संख्या एक लाख ३०६ जना मध्ये लागूऔषध (ओपिओड्स)को सेवनबाट ७५ हजार ६७३ जनाको मृत्यु भएको छ र यसमध्ये पनि अधिकांशको सिन्थेटिक ओपिओड्सबाट भएको छ । यस समूहमा त्यही फेन्टानाइल पर्दछ । प्रायः यी लागूपदार्थ शरीरमा दुखाई कम गर्न प्रयोग गरिन्छ ।

यो संकट निकै संवेदनशील क्षणमा पुगिसकेकाले सबै मिलेर सामना गर्नुपर्ने अमेरिकी स्वास्थ्य मन्त्री जाभियर बेसिराको धारणा छ ।

कोभिड-१९ को समयमा बढी समय काम गर्नुपर्ने तथा घरमै बिनाकाम समय कटाउने दुवै किसिमका व्यक्तिले दुखाई कम गर्न र मन भुलाउन यस्ता लागूपदार्थको सेवन गर्ने गरेको र परिवारका सदस्यहरु गुमाएका छोराछोरीले सार्वजनिक रुपमै यस्ता घातक औषधि सेवन गरेको पनि मन्त्री जाभियरको भनाइ छ ।

अमेरिकामा कोभिड–१९ बाट पाँच लाख व्यक्तिको ज्यान गएको छ ।

अमेरिकी औषधि नियामक निकायले वास्तविक औषधि झैं लाग्ने तर लागूपदार्थ मिसाइएका औषधिहरु अनलाइनबाट बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ । यसै वर्ष मात्र एक करोड ४० लाख चक्की नक्कली औषधि बरामद गरिएको छ । यी औषधि चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट मेक्सिकोमा उत्पादन गरिएका छन् ।

यी नक्कली चक्कीहरु सामाजिक सञ्जाल र ई-कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध रहेका छन् ।

सन् २०१९ मा अमेरिकामा मुटुसम्बन्धी रोगबाट सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । प्राप्त विवरण अनुसार, मुटु रोगबाट ६ लाख ६० हजार, क्यान्सरबाट ६ लाख तथा चोटपटकबाट १ लाख ७५ हजारको मृत्यु भएको थियो ।