आचार्य बालकृष्ण ओशो तपोवनमा

आचार्य बालकृष्ण ओशो तपोवनमा



नेपाल भ्रमणमा रहनुभएका आयुर्वेदशिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गर्नुभएको छ ।

अत्यन्तै ब्यस्त तालिकाका बाबजुद आइतबार बिहान उहाँ नागार्जुनस्थित ओशो तपोवन पुग्नुभएको हो । तपोवनमा आचार्य बालकृष्णलगायतको टिमलाई वोधिसत्व स्वामी आनन्द अरुणले विषेश स्वागत गर्नुभएको थियो ।

तपोवनभित्र रहेको पुस्तकालय, ओशो समाधि, शिवपुरीबाबाको मन्दिर , मृत्युपार्क तथा कविर मन्दिरको अभिरुचीपूर्वक दर्शन गर्नुभएका आचार्यले अध्यात्मिक जागरणको लागि ओशो तपोवनले गरिरहेको कामको प्रशंसा गर्नुभएको बताइएको छ ।

आफ्ना अति हितौषी मित्र स्वामी आनन्द अरुणको आमन्त्रणलाई हार्न नसकेर ब्यस्तताका बाबजुद तपोवन आएको बताउनुभएका स्वामी बालकृष्णले आफुहरु तपोवनको प्रशंसक रहेको भन्दै योग र अध्यात्मको विषयमा पतञ्जली तथा ओशो तपोवनबीच सहकार्य गर्ने बताउनुभयो ।

योग र ध्यानको महत्व बिश्वले बुझ्दै गएकाले तपोवन जस्ता आध्यात्मिक गन्तब्यहरुको महत्व दिनदिनै बढिरहेको उहाँको भनाइ थियो । आचार्य बालकृष्णलाई तपोवनमा स्वागत गर्न एनआरएनका दुई पूर्वअध्यक्षहरु उपेन्द्र महतो तथा भवन भट्ट पनि तपोवन पुग्नुभएको थियो ।

यसैबीच आइतबार बिहानै बोधिसत्व स्वामी आनन्द अरुणलाई फोन गर्दै स्वामी बाबा रामदेवले आफ्नो तीव्र इच्छा हुँदाहुँदै पनि अति ब्यस्तताका कारण तपोवन आउन नसकेको बताउँदै अध्यात्मको क्षेत्रमा ओशो तपोवनले खेलिरहेको भूमिका अत्यन्तै ठुलो रहेको भन्दै तपोवन र स्वामी आनन्द अरुणको प्रशंसा गर्नुभएको थियो ।

स्वामी रामदेव तथा आचार्य बालकृष्णसहित पतञ्जलीको टिम केही महत्वपूर्ण कामको लागि नेपाल आएको हो । उहाँहरु आइतबार नै भारत फर्किने कार्यक्रम रहेको छ ।