अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२५ को च्याम्पियन्स ट्रफीको आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिएको छ । यो जिम्मेवारीसँगै पाकिस्तानले २९ वर्षपछि आईसीसीको कुनै पनि प्रतियोगिता आयोजना गर्न पाउने पक्का भएको छ ।
सन २००९ मा श्रीलंकाको राष्ट्रिय क्रिकेट टीममाथि पाकिस्तानमा भएको आतङ्ककारी हमलापश्चात कुनै पनि चर्चित विदेशी टीमले पाकिस्तानको भ्रमण गरेका छैनन् । हालै अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै न्यूजील्याण्डले पनि पाकिस्तानको भ्रमण रद्द गरेको थियो ।
त्यस्तै, आइसीसीले सन् २०३१ सम्म आईसीसी अन्तर्गत हुने सीमित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजनाको जिम्मेवारी वेष्टइण्डिज र संयुक्त राज्य अमेरिकालाई दिइएको छ । त्यस्तै, २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियनसिप ट्रफीको आयोजना पाकिस्तान गर्नेछ ।

यसैगरी २०२६ को टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजनाको जिम्मेवारी भारत र श्रीलंकाले संयुक्तरुपमा पाएका छन् । त्यस्तै, २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको आयोजनाको जिम्मेवारी दक्षिण अफ्रिका, जिम्बावे र नामिवियाले पाएका छन् । दक्षिण अफ्रिकामा आयोजना हुने यो विश्वकपको तीन देशले संयुक्तरुपमा आयोजना गर्नेछन् ।
त्यस्तै, सन् २०२८ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना अष्ट्रेलिया र न्यू्जिल्याण्डले संयुक्तरूपमा गर्ने जिम्मेवारी पाएका छन् । सन् २०२९ मा आयोजना हुने आईसीसी च्याम्पियनसिप ट्रफीको आयोजनाको जिम्मेवारी भारतलाई प्राप्त भएको छ ।
यसैगरी सन् २०३० आयोजना हुने टी-२० विश्वकपको जिम्मेवारी इङ्गल्याण्ड, आयरल्याण्ड र स्कटल्याण्डले पाएका छन् । त्यस्तै सन् २०३१ म आयोजना हुने एकदिवसीय विश्वकपको आयोजना गर्ने जिम्मेवारी भारत र श्रीलंकाले पाएका छन् ।
प्रतिक्रिया