विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल



बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल सोमबार सार्वजनिक प्रदर्शन गरिएको छ । विद्यालय परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद रु ५१ हजारसहित सम्मान गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललाई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको उल्लेख गर्दै यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने बताइन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब रु एक लाख १० हजार खर्च गरेर मोटरसाइकल तयार गरेका हुन् । हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलको भनाइ छ । ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करिब ४८ भोल्ट डिसी पावर छ ।

हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिकअप ४० किलोमिटर प्रतिघण्टा दौडिन सक्ने पोखरेलले जानकारी दिए । यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेको बताए । पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ ।