काठमाडौंका चार नाकाबाट कोरोनाविरुद्धको खोप

काठमाडौंका चार नाकाबाट कोरोनाविरुद्धको खोप



काठमाडौं महानगरपालिकाले काठमाडौंका चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।

कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिएका छन् ।

यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ । यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड÷एस्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।