यौन सम्बन्ध खुलासा गर्दा जोखिममा पऱ्यो खेलाडीको ज्यान !

यौन सम्बन्ध खुलासा गर्दा जोखिममा पऱ्यो खेलाडीको ज्यान !


चीनकी चर्चित टेनिस खेलाडी पेङ्ग शुआईले उच्च तहमा रहिसकेका राजनीतिज्ञसँगको आफ्नो गुप्त यौन सम्बन्धबारे खुलासा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि विश्व-खेलकुद जगतमा सनसनी फैलिएको छ । पेङ्गको यो खुलासाले खेलकुद जगत मात्र नभइ चीनको कम्युनिस्ट पार्टीमा समेत यसले नराम्रो धक्का पुऱ्याएको छ । पेङले आफुलाई यौन सम्पर्क गर्न बाध्य तुल्याउने व्यक्ति पूर्व उपप्रधानमन्त्री झाङ गाओली भएको खुलासा गरेपछि यतिबेला कम्युनिस्ट पार्टीको साख समेत दाउमा लागेको छ ।

२ नोभेम्बरमा चीनको सोशल मिडिया प्लेटफार्म वेइबोमा आफूमाथि विगतमा भएको यौन उत्पीडनको बारेमा पेङ्गले लामो स्टाटस लेख्दै पोस्ट गरेकी थिइन् । पेङ्गले पोस्ट गरेको उक्त स्टाटसमा आफूले पटक-पटक अस्वीकार गर्दा पनि पूर्व उपप्रधानमन्त्री झाङले यौन सम्बन्ध राख्न बाध्य बनाएको खुलासा गरेकी थिइन् ।

३५ वर्षीय पेङ्गले स्टाटसमा लेखेअनुसार पूर्व उपप्रधानमन्त्री तथा सत्ताधारी कम्युनिस्ट पार्टीका सदस्य झाङ गाओलीले तीन वर्षपहिले टेनिस सिरिज खेलेर फर्किएपछि पेङ्गसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य तुल्याएका थिए । रोचक त यो छ कि उक्त घटनाको दौरान उपप्रधानमन्त्री झाङ्की पत्नीले ढोकामा पहरा दिएको पनि पेङ्गले खुलासा गरेकी छन् ।

त्यस्तै, सात वर्षपहिले पनि झाङले आफूसँग यौन सम्बन्ध राखेको स्टाटसमा लेखेकी छन् । पेङ्गले सार्वजनिक गरेको स्टाटस केही समयपछि चीनको सरकारी मिडियाले हटाए पनि स्क्रिनसट्स भने भाइरल भएको थियो ।

यो घटनापछि पेङ्ग सुआईको खबर अज्ञात छ । उनी सार्वजनिक रुपमा कतै देखापरेकी छैनन् । तर चीनको सरकारी सञ्चारमाध्यमले पेङ्गले लेखेको इमेल भने जारी गरेको छ । पेङ्गद्वारा लेखिएको भनिएको उक्त इमेलमा आफूले उपप्रधानमन्त्रीमाथि लगाएको आरोप निराधार भएको उल्लेख गरिएको छ । साथै उनले आफू र आफ्नो परिवार सकुशल रहेको पनि जानकारी गराएकी छिन् ।

पेङ्गद्वारा लेखिएको भनिएको इमेलमा सरकारी पक्षले यस्तो दाबी गरे पनि वुमेन्स टेनिस एसोसिएशन (डब्लुटीए) का सीईओले र अध्यक्ष स्टीव साइमनले उक्त इमेलको वैधतामाथि प्रश्न उठाएका छन् । साथै अध्यक्ष साइमनले आफू यो इमेल पेङ्गले नै लेखेको भन्नेमा विश्वस्त हुन नसकेको भन्दै यसको तथ्यपरक रूपमा जाँच हुनुपर्ने बताएका छन् । साइमनले यो मामिलाको सत्यतथ्य रूपमा पूर्ण तरिकाले जाँच हुनुपर्ने माग गर्दै उचित जवाफ नआएमा चीनमा आयोजना हुने सम्पूर्ण टेनिस प्रतियोगितामाथि बन्देज लगाउन सक्ने चेतावनी समेत दिएका छन् ।

उपप्रधानमन्त्री झाङमाथि यौन उत्पीडनको आरोप लगाउँदै स्टाटस पोस्ट गरेपछि अहिलेसम्म पेङ्गको स्थिति अज्ञात छ । यो घटनाको बारेमा पूर्व नम्बर एक तथा चार पटककी ग्य्राण्डस्ल्याम विजेता जापानी महिला टेनिस खेलाडी नाओमीले ओशाकाले चिन्ता प्रकट गरेकी छन् । ओशाकाले यो समाचार सुनेपछि आफू स्तब्ध भएको खुलासा गर्दै साथी खेलाडी पेङ्ग शुआई तिमी कहाँ छौ भनेर ट्वीट गरेकी छन् ।

त्यस्तै, यो घटनाको बारेमा विश्व नम्बर एक पुरुष खेलाडी नोवाक जोकोविचसहित अन्य शीर्ष खेलाडीले महिला तथा पुरुष पेशेवर टेनिस टुरको आयोजक डब्लुटीए र एटीपीसँग विस्तृत जाँचको माग गरेका छन् ।

३५ वर्षीय पेङ्ग शुआइ टेनिसको महिला डबल्सतर्फकी उत्कृष्ट खेलाडी हुन् । पेङ्ग आफ्नो टेनिस खेल जीवनमा डबल्सतर्फ दुई पटक ग्य्राण्डस्ल्याम च्याम्पियन बनेकी थिइन् । उनी सन् २०१३ मा विम्बल्डन र सन् २०१४ मा फ्रेञ्च ओपनको उपाधि जित्न सफल भएकी थिइन् भने सन् २०१४ मा महिला डबल्सतर्फ विश्व वरियता क्रममा नम्बर एकको स्थान हासिल गर्न सफल खेलाडी हुन् । उनी अहिले पनि सक्रिय रूपमा ब्यावसायिक टेनिस खेलिरहेकी छन् ।