मंसिर १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली

मंसिर १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली



सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठकले यही मंसिर १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । अघिल्लो साताको फुलकोर्टले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेको थियो । त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना प्रकाशनलगायतका आवश्यक तयारी गर्ने निर्णय आजको बैठकले गरेको हो ।

बुधबारको निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायधीशले एकल रुपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । उक्त समितिको अध्यक्षताचाहिँ प्रधानन्यायधीशले नै गर्ने जनाइएको छ ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको सक्रियतामा फुलकोर्ट बैठक बसेको थियो । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरा भने सर्वोच्चमा उपस्थित भए पनि आज बसेको बैठकमा सहभागी नभएका बुझिएको छ ।

ज्ञातव्य छ, गत साता बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्ट बसेर पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई प्रधानन्यायाधीशले सदर गरेपछि त्यसबमोजिम सर्वोच्च अदालत नियमावलीमा संशोधन गरिएको छ ।