चाँदीको आयातमा कडाई गर्ने राष्ट्र बैंकको सङ्केत, रिपोमार्फत तरलता प्रवाह

चाँदीको आयातमा कडाई गर्ने राष्ट्र बैंकको सङ्केत, रिपोमार्फत तरलता प्रवाह



नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने कङ्केत गरेको हो ।

राष्ट्र बैंकले ड्राफ्टरटिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । कोभिड-१९ महामारीको असर क्रमिकरुपमा कम हुँदै गएको, खोपको उपलब्धता बढ्दै गएकाले त्यसको प्रभाव बजारमा देखिएको छ ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तथा विदेशी पर्यटकको आगमनसमेत बढ्न थालेको स्पष्ट पार्दै केन्द्रीय बैंकले, विद्युत् निर्यात शुरु हुनुको साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेको जनाएको छ । ती तथ्यबाट आर्थिक पुनरुत्थानले गति लिने देखिएको स्पष्ट पारेको छ ।

आर्थिक पुनरुत्थानको चरणमा कर्जाको माग बढिरहेको र यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भइरहेको देखिने केन्द्रीय बैंकले उल्लेख गरेको छ । विपे्रषण आप्रवाह अपेक्षितरुपमा बढ्न नसकिरहेकोले वाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै रहने देखिएको जनाएको छ । चालु आर्थिक वर्षमा स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातसमेतमा चाप पर्ने स्थिति रहेको मौद्रिक समीक्षामा चर्चा गरिएको छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसमेतले नेपालको मुद्रास्फीति बढ्ने आंकलन गरेको छ । बैंकले हालै सम्पन्न गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणसमेतमा आगामी दिनमा मूल्य वृद्धिमा थप चाप पर्ने देखिएको उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको समीक्षामा उल्लेख गरिएको छ ।

‘आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको छ । सो अनुसार बढ्दो कर्जा मागलाई व्यवस्थित गर्ने, साधन परिचालनको दायरा बढाउने र उत्पादनशील क्रियाकलापमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ’, समीक्षामा भनिएको छ । पछिल्लो समय शोधनान्तर स्थितिमा परेको चाप र मुद्रास्फीतिमा पर्नसक्ने दबाबलाई ध्यानमा राखी मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउने केन्द्रीय बैंकको नीति छ ।

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत रु एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत रु आठ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् । गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको थियो । यस्तै गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकोमा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ ।

यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको थियो । गत साउन मसान्तमा वाणिज्य बैंकमा रु ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला रु ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो ।

गत भदौ मसान्तसम्म रु ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा रु ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो । असोज मसान्तसम्म रु ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने रु ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मकरुपमा वृद्धि नभएका कारणले निक्षेपमा चाप परेको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै यस अवधिमा निक्षेप सङ्कलन उपकरणमार्फत् रु ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् रु २८ अर्ब ३५ करोड गरी कुल रु ६० अर्ब तरलता प्रशोचन गरिएको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी रु २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी रु एक खर्ब १४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तको तुलनामा गत असोज मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भई प्रतिअमेरिकी डलर खरिद विनिमय दर रु १२०.१२ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।