महाधिवेशनको मौसम !

महाधिवेशनको मौसम !


दलको पछिल्तिर दौडिएर भविष्य सुरक्षित तुल्याउने मृगतृष्णाबाट नेपाली जनता पटक्कै मुक्त हुन नसकेको छर्लङ्ग देखिँदै छ ।


मुलुकका प्रमुख राजनीतिक दलहरू आफ्नो राष्ट्रिय महाधिवेशन आयोजनाको चटारोमा छन् । महाधिवेशनबाट समयानुकुल नेतृत्व छनोट गर्ने प्रजातान्त्रिक प्रक्रियालाई वर्षौंदेखि टार्दै-छल्दै आएका दलीय नेतृत्वहरू संवैधानिक व्यवस्थाका कारण यतिबेला महाधिवेशन आयोजना गर्न बाध्य भएपछि एकसाथ महाधिवेशनको चटारोमा परेका सहजै बुझ्न सकिने विषय हो । नेपालका राजनीतिक दलहरूको नेतृत्वका बारे सहजै अनुमान लगाउन नसकिने कुराचाहिँ यिनले हार्दिकताका साथ पछिल्लो पुस्तालाई सहजै नेतृत्व हस्तान्तरण गरिदिने कहिले होला भन्ने मात्र हो ! पदप्रतिको आशक्ति र लोभबाट नेपालका नेताहरू मुक्त हुने कसरी र कुन साइतमा हो भन्ने सवाल अब फगत गफका निम्ति नभइ चिन्ताजनक तवरमै उठ्न/उठाइन थालिएको छ । र, नेपालको शासन-सत्तामा पकड जमाउँदै आएका मौजुदा राजनीतिक दलहरूबाट यस मुलुकको भावी दशा र दिशा सुरक्षित रहन सक्ला त भन्ने प्रश्न ज्वलन्त बनेर देखापरेको छ ।

सन्दर्भ दलीय महाधिवेशन र यसप्रति जनाकर्षण या जनाक्रोशको बारेमा छ । मुलुककै सबैभन्दा ठूलो दल नेकपा (एमाले)को महाधिवेशनको चर्चा यतिबेला चौतर्फी चुलिएको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीको दशौँ महाधिवेशनको अवसरमा चितवनमा पाँच लाख कार्यकर्ता/जनताको भीड जुटाउने उद्घोष गर्दा शुरुमा हास्यास्पद हठको रूपमा लिइयो । कोरोना महामारीको कहरबाट आक्रान्त जनता सामान्य दैनन्दिनीमा अझै फर्किनसकेको परिवेशका साथै राजनीतिक दलहरूसँग निराश, उदास र असन्तुष्ट हुँदै गएको यथार्थ भुलेर यतिका जनता एकै स्थानमा उतार्ने उद्घोष एमाले नेतृत्वले कसरी गऱ्यो भन्ने जिज्ञासा जाग्नु स्वभाविक नै थियो । चोइटिएर गएका नेता-कार्यकर्ताले ‘एमाले पतनको दिशामा गएको र छिट्टै पत्तासाफ हुने’ दाबीसमेत गरिरहेका र, उक्त दलका आमसदस्यहरू प्रकारान्तरले दुविधाग्रस्त मानसिकताबाट गुज्रिरहेका बेला महाधिवेशनकै लागि भनी देशभरबाट एक स्थानमा लाखौँको सङ्ख्यामा जुट्ने कुरामा सन्देह कायमै थियो । तर, यस्तो सन्देहलाई चिर्दै ओलीको उद्घोषभन्दा पनि अधिक सङ्ख्यामा एमालेका कार्यकर्ता तथा सो पार्टीका शुभचिन्तकहरू नारायणी नदीकिनारमा जुट्न पुगे । सम्भवतः केपी ओली र एमाले नेतृत्वपङ्क्तिका लागि पनि यो उदेकपूर्ण थियो ।

कुनै पनि दलको महाधिवेशन दलको वैचारिक आधार तय गर्ने मुकाम हो । मुलुकको समस्या र तिनको समाधानार्थ नीति, रणनीति तथा कार्यक्रम निर्क्योल गर्ने अवसर एवम् सशक्त मञ्च पनि हो । तर दलका महाधिवेशन उल्लिखित प्रयोजनार्थ नभइ आफ्नो शक्ति र दम्भ प्रदर्शन गर्ने, विपक्षीलाई गाली गर्ने, तुच्छ सावित गर्ने, जसरी पनि जुलुस जम्मा गरी भीड प्रदर्शनको प्रतिष्पर्धा गर्ने एक माध्यममा सीमित हुन थालेका छन् ।

आखिर यो कसरी सम्भव भयो ? के दलहरूप्रति जनतामा वितृष्णा जागेको कुरा मिथ्या हो ? पुरानैमध्येको दल राप्रपाको पनि अहिले नै महाधिवेशन भइरहेको छ र, देशकै ऐतिहासिक महत्वको दल कहलिएको नेपाली काङ्ग्रेस पनि महाधिवेशनकै चरणमा छ । यही मङ्सिरको अन्तिम साता राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ नेपाली काङ्ग्रेस । एमालेकै जस्तो चमकदमक र जनाकर्षण काङ्ग्रेस महाधिवेशनमा पनि देखिएला भन्ने जिज्ञासाबीच महाधिवेशनको ज्वरोले सम्बन्धित दलका नेता-कार्यकर्ता तथा सङ्गठित कार्यकता एवम् शुभेच्छुकहरूलाई तताएकै छ । अर्थात्, दलको पछिल्तिर दौडिएर भविष्य सुरक्षित तुल्याउने मृगतृष्णाबाट नेपाली जनता पटक्कै मुक्त हुन नसकेको छर्लङ्ग देखिँदै छ ।

दलीय शासन-व्यवस्थामा दलहरूको स्थापना र वर्चश्व रहनु अस्वाभाविक नभए पनि दलहरू केका लागि गठन गरिए, देश र देशवासीप्रति दलको दायित्व के रहन्छ जस्ता प्रश्नप्रति नागरिकको ध्यानाकृष्ट नहुनु विडम्बनापूर्ण सन्दर्भ हो । यतिबेला समग्र राजनीति र मुलुकको भविष्यबीच तादाम्यता देखिँदैन, कडी नै टुटेको महसूस हुन्छ । सामाजिक, आर्थिक पक्षमा पैदा भएको कहालीलाग्दो अवस्थाले अन्धकार भविष्यको सङ्केत गरिरहेको छ र पनि देशको राजनीति यस दूरावस्थाप्रति पूरै उदासिन या लापर्वाह देखिएको छ । शासकीय क्षमतामा ह्रास आएका यावत उदाहरण छन् । मुलुकको शिक्षा प्रणाली सीप एवम् ज्ञान सृजना गर्न अक्षम भएको दशकौँ बितिसक्यो, स्वास्थ्यसेवामा राज्य निरीह रहँदै आएको आजदेखि होइन, कोरोना महामारीले थपेको चाप मुलुकका लागि थप बोझ सावित भएको छ, यी सबै कुरालाई व्यवस्थित तुल्याउनुपर्ने दायित्व बोकेको ‘राजनीति’चाहिँ दिन-प्रतिदिन ‘लाजनीति’मा रुपान्तरण भएको छ । यस्तोमा महाधिवेशनको माहोल तात्नु निरर्थक र उदेकपूर्ण विषय हो ।

कुनै पनि दलको महाधिवेशन दलको वैचारिक आधार तय गर्ने मुकाम हो । मुलुकको समस्या र तिनको समाधानार्थ नीति, रणनीति तथा कार्यक्रम निर्क्योल गर्ने अवसर एवम् सशक्त मञ्च पनि हो । तर दलका महाधिवेशन उल्लिखित प्रयोजनार्थ नभइ आफ्नो शक्ति र दम्भ प्रदर्शन गर्ने, विपक्षीलाई गाली गर्ने, तुच्छ सावित गर्ने, जसरी पनि जुलुस जम्मा गरी भीड प्रदर्शनको प्रतिष्पर्धा गर्ने एक माध्यममा सीमित हुन थालेका छन् । देश र जनतासँग सरोकार नराख्ने, राष्ट्रिय महत्वका विषयलाई बेवास्ता गर्दै सम्पन्न गरिने दलीय महाधिवेशनको ‘नौटङ्की’बारे जनताले जान्ने कहिले ? अब यो प्रश्न जन-जनको चासोको विषय बन्नु अपरिहार्य भएको छ ।