नयाँ भेरियन्टको बाटो छेक्न यसो गर्ने कि ?

नयाँ भेरियन्टको बाटो छेक्न यसो गर्ने कि ?


  • अनुसा थापा

विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखापरेको छ । नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन ती देशहरूले स्वास्थ्यसम्बन्धी विशेष मापदण्ड र नीतिहरू अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न सक्दो प्रयास गरिरहेका छन् ।

हाम्रै छिमेकी देशहरूले पनि सीमाना बन्द गरिसकेका छन् । विज्ञहरूले पनि यस भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, नेपालमा यस भाइरसबारे जति चासो दिनुपर्ने हो सोअनुसार ख्याल गरिएजस्तो लाग्दैन, बेवास्ता नै गरिएको छ भन्दाफरक पर्दैन । अधिकांश सडक, सार्वजनिक स्थल, पाटी-पौवा, मठ-मन्दिर, सार्वजनिक यातायातमा अत्याधिक भीड रहेको छ । भौतिक दूरी कायम गर्ने त परको कुरा, मास्क पहिरिने कामसमेत अब मानिसलाई झ्याउ लाग्न थालेको अनुभूति हुन्छ । अर्थात्, कोरोनाको जोखिमप्रति यति लापर्वाह बन्न पुगेका छौँ हामी ।

स्वास्थ्य मापदण्डको पालना नगरि मानिसहरू जथाभावी दौडिएका छन् । कोरोनाको नयाँ भेरियन्टलाई त झन् कसैले गम्भीरता साथ लिएकै छैनन् । कोभिडको दोस्रो लहर नसकिँदै खोलिएका मठमन्दिरमा भक्तजनहरूको पुजाआजा गर्न भीड लाग्ने गरेको छ । मन्दिरमा दर्शन गर्ने, भजनकीर्तन गाउने भन्दै वृद्धविृद्धादेखि लिएर महिलाहरूले बालबच्चासमेत बोकेर पुग्ने गरेका छन् । सरकारले पटक–पटक स्वास्थ्य मापदण्डको पालना गर्न भने पनि हेलचेक्¥याइँ गरेर मास्कसम्म नलगाइ मन्दिरमा दर्शन गर्न पुग्नेहरूकोे घुइँचो देख्न सकिन्छ ।

अहिले हरेक जिल्लाका मन्दिरहरू खुलिसकेका छन् । स्वास्थ्य मापदण्ड पालना गराउछौँ भन्ने व्यवस्थापन पक्षले पूरै लापर्वाही गरेका छन् । मन्दिरमा बस्ने पुरोहितदेखि लिएर पुजाआजाको सामान बेच्ने व्यापारीले समेत स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन । धर्म गर्ने भनेका छन् तर चर्को भीडभन्दा अरु केही छैन । त्यसैले मठमन्दिर तत्कालै बन्द गर्नपर्ने देखिएको छ । मठमन्दिर मात्र बन्द गरियो भने कोरोना नियन्त्रण गर्न निकै सघाउ पुग्ने देखिन्छ ।

रात्रिकालिन व्यवसाय, पार्टी प्यालेस, होटल व्यवसाय जस्ता भीडभाड हुने स्थान बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुपर्छ । अत्याधिक भीडभाड हुने क्षेत्रहरू सञ्चालनमा मन्त्रालयले बन्देज लगाउन जरुरी देखिएको छ ।

मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालय पनि केही समयका लागि सञ्चालनमा रोक लगाइदिए केही हदसम्म कोरोना नियन्त्रणमा सघाउ पुग्नेछ । सिडियो कार्यालयबाट जनताले पाउने सेवासुविधासमेत केही दिनको लागि बन्द गर्दा विरोध गर्नु नपर्ला !

बैंक तथा वित्तीय संस्थाहरू पनि केही दिनसम्म चल्नबाट बन्देज लगाएमा कोरोना नियन्त्रण गर्न सक्ने अवस्था सिर्जना हुन्छ । सरकारले बनाएको मापदण्ड पालना गर्नमा बैंक तथा वित्तिय संस्थाहरू पनि चुकेका छन् । जोरबिजोर प्रणाली लागु गरेर वित्तिय संस्था सञ्चालन गर्दा हुन्छ ।

यस्तै, सरकारी वा निजी विद्यालयले पनि हेल्थ प्रोटोकलको पालना गरेका छैनन् । विद्यालयमा सामाजिक दूरीको पालना गर्नु असम्भव जस्तै देखिन्छ । विद्यार्थीहरूले मास्कसमेत लगाएका देखिँदैनन् ।

अहिले बालबालिकाहरू कोरोनाको जोखिमबाट घेरिएका छन् । बालबालिकाले मास्क लगाउँदैनन् भने सबै विद्यालयले स्यानिटाइजरको व्यवस्था पनि गरेका छैनन् । सरकारले बालबालिकालाई कोरोनाको नयाँ भेरियन्टबाट टाढा राख्न प्रभावकारी ढङ्गले सामाजिक दूरीको पालना गर्न लगाउने उपाय खोज्नैपर्छ, अन्यथा अनलाइनबाट पढाउनु नै उपयुक्त हुनेछ । अनावश्यक रूपमा टाइम पास गर्न बिनाकाम सडकमा प्रशस्तै मानिसहरू हिँडिरहेका हुन्छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरि नेपाली जनता निस्फिक्री डुलिरहेका छन् । यसरी जथाभावी डुल्दा कोरोना सङ्क्रमण बढ्ने डर ज्यादै हुन्छ ।

सार्वजनिक यातायातले कोरोना फैलाउन झनै ठूलो भूमिका खेलेको छ । सार्वजनिक बस, माइक्रोबस, ट्याम्पुजस्ता गाडीमा यात्रुको भीड धेरै नै हुन्छ । दाउराको चाङजस्तै गरी कोचिएका यात्रुको भीडमा कोरोना फैलिने जोखिम ज्यादा रहन्छ । अहिले बसका सहचालक चालकले नै मास्क, स्यानिटाइजरको प्रयोग गर्दैनन् ।

सार्वजनिक यातायातमा यात्रा गर्ने कमै यात्रुले मात्र मास्क लगाएका देखिन्छन् । लगाएका अधिकांशले पनि चिउँडो छोप्नको लागि मास्क लगाएका छन् । जसले गर्दा एउटासँग भएको रोग अर्कोलाई सर्ने दर बढिरहेको छ । ढोकैसम्म यात्रु उभाइएको हुन्छ तर त्यस्ता सवारीलाई कारवाही गरिँदैन । सरकारले सिटभन्दा बढी यात्रु हाल्न नपाउने र बसमा सवार सबैले अनिवार्य रूपमा सही किसिमबाट मास्क लगाउनुपर्ने निर्णय पालनामा कडाइ गर्न अब चुक्नु हुँदैन ।

देशमा चुनाव नजिकिएसँगै राजनीतिक दलहरूको महाधिवेशन, बेठक, सभा जस्ता गतिविधिहरूले बढोत्तरी पाएका छन् । दलहरू आफै कोरोनालाई साइडमा राखेर भेला गर्दै हिँडेका छन् । कार्यकर्ताको भीडमा मास्क पहिरिनेहरू कमै देखिन्छन् । दलका कार्यकर्ताहरू आमनागरिकलाई मास्क पहिरिन सचेत गराउनुको साटो आफै मास्कबिनाको भीड बढाउने काम मात्र गरिरहेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्ने जमातका कारण पनि अहिले सङ्क्रमणको जोखिम बढिरहेको छ । अब मन्त्रालयले २५ जना भन्दा बढी सहभागी भएर कुनै कार्यक्रम गर्न नदिने निणर्य गर्नुपर्छ ।

हवाइजहाजहरूमा सरकारले बनाएका प्रोटोकलहरूको पालना भएका छन् कि छैनन् भनेर अनुगमन गरिनुपर्छ । साथै, सिट सङ्ख्याभन्दा बढी यात्रु हाल्ने, सरकारले बनाएका मापदण्ड पालनामा अटेर गर्ने लामो दूरीका गाडी चल्न रोक्नुपर्छ ।

नेपाल र भारत छिमेकी मुलुक हुन् । दुई देशबीच आवतजावतमा कुनै रोकटोक छैन । नेपालीले आफ्नो परिचयपत्रको आधारमा भारत जान पाउँछन् भने भारतीय पनि सजिलै नेपाल छिर्न पाउँछन् । नेपालका लाखौँ नागरिक रोजगारीको लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको सङ्ख्या उल्लेख्य छ । भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालीहरू धमाधम स्वदेश देश फर्किंदै छन् । तर, नाकामा कोरोनाको परीक्षण भएको छैन । भारतबाट नेपाल आउनेहरू सिधैं आफ्नो घर धाइरहेका छन्, जसले गाउँ-टोललाई नै खतरामा पारेको छ । शहरमै क्वारेन्टिनको व्यवस्था गरिएको छैन भने गाउँमा त कल्पनाभन्दा बाहिरैको विषय बनेको छ ।

ठुल्ठुला व्यापारिक मल, सुपर मार्केटहरूमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन । सिनेमाघरहरूले पनि अलिक लापर्वाही नै गरेका छन् । घरघरमा कवाडी सामान लिन आउनेलाई कोरोनाको बारे मतलब छैन । किराना पसल, सडक छेउछाउ परै ढाकेर बसेका फुटपाथका व्यवसायीहरूले पनि स्वास्थ्य मापदण्डको पटक्कै पालना गरेका छैनन् । सरकारी कार्यालयमा पनि उस्तै भीडभाड छ ।

उपत्यकावासीलाई सङ्क्रमणबाट जोगाउन उपत्यका प्रवेश गर्ने नाकाहरूमा स्वास्थ्यकर्मी राखेर कोरोना परीक्षणको व्यवस्था गर्नु अपरिहार्य देखिन्छ । उपत्यका भित्रिने नाकाहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था गर्नुपर्छ । यति गरिदिने हो भने उपत्यकावासीले अलिकति भएखपनि राहत पाउँछन् । देशभरका नागरिक उपत्यकामा बस्छन् । यदि केही गरी सङ्क्रमणले विकराल रुप लियो भने सम्हाल्न मुस्किल हुनेछ ।