भरसक सहमति गरेर निर्वाचनमा जान देउवाको सुझाव

भरसक सहमति गरेर निर्वाचनमा जान देउवाको सुझाव


  • सनत आचार्य, बेल्जियम

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका निर्वाचनहरूमा सकेसम्म सहमति गरेर जाने र नभए चुनावको माध्यमबाट प्रजातान्त्रिक प्रक्रियामा जानुपर्ने सुझाव दिएका छन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको पाँचौँ अधिवेशनको सोमबार राति भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन ।

कांग्रेसको आसन्न महाधिवेशन अब तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गर्दै सभापति देउवाले सकभर सहमतिबाटै नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अर्का अतिथि नेपाली कांग्रेस जनसम्पर्क विभागका प्रमुख गोविन्द भट्टराईले नेपाली कांग्रेस प्रजातान्त्रिक दल भएकोले सोहीअनुसारको व्यवहार अवलम्बन गरेको तर नेपालका कम्युनिष्ट पार्टीहरू कहिल्यै लोकतान्त्रिक बन्न नसेको आरोप लगाए ।

यस्तै, केन्द्रीय सदस्य गगन थापाले अधिवेशनको प्रक्रियागत विषयमा जानकारी गराउँदै नेपाली कांग्रेसको विभिन्न जिल्लामा हालै सम्पन्न निर्वाचनलाई हेर्दा नयाँ पुस्ता र युवाहरू अत्यधिक मात्रामा निर्वाचित भएको उल्लेख गरे । कांग्रेसको नयाँ नेतृत्वले नवउत्साही युवाहरूको चाहनालाई समेट्न सक्नुपर्ने नेता थापाको भनाइ थियो ।

गणितीय विषयलाई जोड दिँदै उनले काग्रेससँग अहिले ३२ लाखको हाराहारीमा मत रहेको र आगामी निर्वाचनमा ४५ लाख मतदाताको मन जित्न सफल भयो भने एकल सरकार बनाउन सकिने तर्क गरे । यसका लागि थप करिव १५ लाख मतदाताको मन जित्न सक्नु पर्ने र त्यसका लागि सिङ्गो पार्टीले अपिल गर्नुपर्ने भन्दै उनले पार्टीले त्यो गर्न सक्छ वा सक्दैन भन्ने जिज्ञासा राखे । थापाले सबै राजनीतिक दलप्रति जनआक्रोश बढ्दै गएको औंल्याउँदै कांग्रेसले विश्वास लिन र दिलाउन सक्नुपर्ने जिकिर गरे ।

जनसम्पर्क समितिहरूमा समस्या आउन नहुने जिकिर गर्दै विभिन्न देशमा जनसम्पर्क समितिमा समस्या किन आयो भन्नेमा छलफल आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसको सबै ठाउँमा एकताको खाँचो रहेको औंल्याउँदै विगतमा पार्टीको अवस्था सन्तोषजनक नभएको बताए । पाण्डेले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई हेर्दा कांग्रेस बिना देश चल्न नसक्ने अवस्था प्रमाणित भएकोले कांग्रेसले संघ, प्रदेश र स्थानीय तहमा समेत नेतृत्व गर्न सक्ने हैसियत बनाउन आग्रह गरे ।

गैरआवासीय नपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले प्रवासी राजनीतिमा जनसम्पपर्क समितिहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएकोले समिति एक भएर आउँदा खुशी लागेको भन्दै प्रवासमा रहेका सबै वैचारिक संगठनहरू मिलेर आउँदा देश र समाजको प्रगति हुनेमा जोड दिए ।

अध्यक्ष केसीले प्रवासमा राजनीति, जात–जाति, वर्ग आदिका आधारमा प्रवासी समाजलाई विभाजित नगर्न आग्रह गर्दै रातो राहदानी लिएर नेपालमा राजनीति गर्न कठिन भएकोले प्रवासमा बढी राजनीतिभन्दा मातृभूमि र समुदायलाई हित हुने काम गर्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले नेपाली कांग्रेस विशिष्ट इतिहास बोकेको पार्टी भएको र आफू त्यही इतिहास पढेर हुर्केको बताउँदै यस्तो विशिष्ट इतिहास बोकेको पार्र्टीलाई सीमित व्यक्तिले स्वार्थपूर्तिको माध्यम बनाएका कारण समस्या आइरहन सक्ने औंल्याए ।

शर्माले जनसम्पर्क समितिहरू पवित्र रहनुपर्ने धारणा राख्दै जनसम्पर्क समितिको आवश्यकता हरेक अवस्थामा रहने बताए ।

अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि नारायण आचार्यले सर्वसम्मत भएकोमा खुसी व्यक्त गर्दै जनसम्पर्क समितिलाई नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैको साझा चौतारीको रूपमा विकसित गर्नुपर्ने बताए । आचार्यले निर्वाचन आफैमा महत्वपूर्ण भएकोमा अब आउने समितिले उदाहरणीय कार्य गर्न सुझाव दिए ।

जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पूर्व सभापति इन्द्र पकवान क्षेत्री, गंगाधर गौतम, सुवास जोशी, प्रवासी नेपाली संघका अध्यक्ष बोधराज पौडेल, नेपाली जन प्रगतिशील मन्चका अध्यक्ष जीत लामा, नेपाली प्रवासी एकता समाजका अध्यक्ष दिपेन्द्र केसी, संघीय समाजवादी फोरमका महासचिव लोक राना, नेपाली जन प्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङ, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, दिल गुरुङ, जनसम्पर्क समिति बहराइनका सभापति पद्मसुन्दर गुरुङ लगायतले अधिवेशनको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन

सोमबार सम्पन्न अधिवेशनले पूर्ण तिमिल्सीनाको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । जसमा वरिष्ठतम् उपसभापति–दिलमाया शर्मा, वरिष्ठ उपसभापति– केदार जोशी, महिला उपसभापति–राधा प्रधान र उपसभापतिद्वयमा विराट जोशी र पेम्बा दोर्जी शेर्पा चयन भएका छन् ।

त्यस्तै, महामन्त्रीमा कमल सिटौला, गोविन्दसिँह अधिकारी र प्रकाशराज गिरीलाई चयन गरिएको छ भने सहमहामन्त्रीहरूमा हुमनाथ पाण्डे, शिवलाल खरेल, कल्पना घिमिरे, सन्तोष न्यौपाने, राकेश घिमिरेलाई चयन गरेको छ । कोषाध्यक्षमा रविन पण्डित तथा सह–कोषाध्यक्ष रेणुका गुरूङ श्रेष्ठ र हरिबहादुर रोकालाई चयन गरेको छ ।

सदस्यहरूमा मदन दवाडी, प्रेम तिमिल्सिना, कौशल खनाल, काशी दनै, दामन तामाङ, दीपक न्यौपाने, राजेन्द्र घिमिरे, कृष्ण शाही, अनुजा प्रधान, कर्ण अधिकारी, दलबहादुर पुन, जयराम केसी, रामु अर्याल, रमेश लामिछाने, होम रानाभाट, प्रतिष्ठा ओझा रानाभाट, रामचन्द्र शर्मा, टीकाराम सापकोटा र परशुराम सापकोटालाई चयन गरेको छ ।

त्यस्तै, महासमिति सदस्यहरूमा सीता सापकोटा, पूर्ण तिमिल्सिना र सुवाश गुरूङलाई छनौट गरेको छ भने महाधिवेशन प्रतिनिधिमा राजु थापा, पदम गुरूङ, विजय मल्ल, अर्जुन काफ्ले चयन भएका छन् भने समितिको सल्लाहकारमा पण्डित रामप्रसाद ढुङ्गानालाई चयन गरिएको निर्वाचन प्रमुख इन्द्र पकवान क्षेत्रीले जानकारी दिए ।