आफ्नै मलामी जाने तयारी !

आफ्नै मलामी जाने तयारी !


मतदाताको भूमिका पाएका ‘मानिस’ हरेक क्षण दुःख र असन्तुष्ट छन् । उनीहरू घर, चिया पसल, भोजनगृह, सेमिनार र चौतारीमा भेला हुँदा या कुनै पनि स्तरको जमघटमा जमेर वर्तमानप्रति असन्तुष्टि प्रकट गर्दन् र काङ्ग्रेस, कम्युनिष्ट, पञ्च, मधेशी आदिको कठोर आलोचना गर्छन् । यिनले देश बिगारे भन्ने हरेक मतदाताको भनाइ रहने गर्दछ । तर जब निर्वाचनको मौसम आउँछ त्यसपछि यिनै मतदाताहरू देश बर्बाद बनाउनेहरूको पक्षमा लाग्छन्, तिनकै निम्ति नाराबाजी गर्छन्, मतदान गरेर सत्तामा पुऱ्याउँछन् र, यिनले देश बर्बाद बनाए भन्दै भोलिपल्टदेखि गाली दिन शुरु गर्छन् ।
  • देवप्रकाश त्रिपाठी

खानेकुरा (घाँस या शिकार) देखे लम्कने, विपरितलिङ्गी देखे चम्कने, निन्द्रा लाग्दा पल्टने, स्वार्थमा बाधा पुऱ्याउन कोही आए भिड्ने, मृत्यु समीप आइपुग्दा तर्सने, आफ्नोलाई माया गर्ने, अर्काको छाया पनि मन नपराउने, समग्रमा ज्यान पाल्ने र मर्ने प्राणीलाई जनावर भनिन्छ । जन्मजात प्राप्त गुणहरूका आधारमा बाँच्ने र बाँचिन्जेलको कर्म जोड्दा पनि एकदिनको कर्मभन्दा तात्विक परिणाममा भिन्न नदेखिने जिन्दगी बाँचेर जनावरहरू दिनहुँ मरिरहेका हुन्छन् । यदि कुनै मानिसआकारका प्राणी पनि उल्लिखित पशुगुणको सीमामा कैद भएर पूरा जिन्दगी बिताउँछन् भने बुझ्नुपर्छ कि ती मान्छे हुन बाँकी छन् । सबै मानिस दार्शनिक, वैज्ञानिक, धर्मगुरु, लेखक, कलाकार, कवि, मार्गदर्शक, सिद्धान्तकार, इञ्जिनियर या चिकित्सक बन्न नसक्लान्, तर समाज, राष्ट्र र राष्ट्रिय धर्मको रक्षा र विकासमा कुनै न कुनै रूपले योगदान पुऱ्याउने क्षमता र गुण नभएका मानिस कोही पनि हुँदैनन् । आफूमा निहित क्षमता आफ्नै हितमा मात्र प्रयोग गर्ने प्राणीलाई जनावर भनिन्छ भने आफ्नो क्षमता, गुण र समयको सदुपयोग समाज, राष्ट्र, देश, प्रकृति र पर्यावरणको हित तथा अन्तरिक्ष र परब्रह्मको खोजमा लगाउने चैतन्य स्तरका प्राणीलाई मानिसका रूपमा बुझिन्छ । त्यसैले मान्छेको आकारमा देखिने सबै प्राणी प्रकारले मान्छे हुँदैनन् र, नेपाल त्यस्ता मुलुकहरूको कोटिमा पर्दछ जहाँ ‘मानिस हुन बाँकी मान्छे’हरूको बाहुल्य छ । चिनियाँ यात्री ह्वेन साङले छैठौँ शताब्दीमा निकालेको निश्कर्षमा सहमति जनाउँदै यो देश जाली, फटाहा र धोखेबाजहरूको हो भन्न सकिएन । तर मानिस बन्न नसकेका मान्छेहरूको बाहुल्य भएको देशका रूपमा कसैले नेपाललाई बुझेको छ भने त्यो शतप्रतिशत गलत होइन । हाम्रा सोच, शैली, कार्य व्यवहार र चेतनाको तहले हामीलाई पूर्ण मानवको दाबी गर्न दिइरहेको छैन ।

हामी बाटो काट्न नजानेर मानिस हुन नसकेका होइनौँ, जथाभावी बाटो काटेर या बाटोको नियम पालना गर्न नखोजेर मान्छे दाबी गर्ने हैसियत नराखेका हौँ । सिर्जनामा भन्दा विध्वङ्शमा, सकारात्मकतामा भन्दा नकारात्मकतामा, स्वप्रशन्नतामा भन्दा परपीडामा र गलत भन्ने जान्दाजान्दै पनि गल्तीमै रमाउने हाम्रो संस्कारले हामीलाई मान्छे पुष्टि गर्ने मार्गमा अवरोध पैदा गरेको छ ।

नेपाली राजनीतिजीवीहरूले नेपालीलाई धेरै राम्रोसँग चिनेका छन् । कतिबेला घाँस हाल्नुपर्छ, कुन समयमा पानी दिनुपर्छ, कतिखेर भाले या पोथीको व्यवस्था गरिदिनुपर्छ, कुन समयमा सुत्नका निम्ति ओछ्यान मिलाइदिनुपर्छ भन्ने बुझेकै हुनाले आफ्ना स्वार्थ र इच्छामाफिक ‘मान्छे’को प्रयोग एवम् परिचालन गर्ने क्षमता यी राजनीतिजीवीहरूले राख्दै आएका छन् । मतदाताको भूमिका पाएका ‘मानिस’ हरेक क्षण दुःख र असन्तुष्ट छन्, उनीहरू घर, चिया पसल, भोजनगृह, सेमिनार र चौतारीमा भेला हुँदा या कुनै पनि स्तरको जमघटमा जमेर वर्तमानप्रति असन्तुष्टि प्रकट गर्दन् र, काङ्ग्रेस, कम्युनिष्ट, पञ्च, मधेशी आदिको कठोर आलोचना गर्छन् । यिनले देश बिगारे भन्ने हरेक मतदाताको भनाइ रहने गर्दछ । तर जब निर्वाचनको मौसम आउँछ त्यसपछि यिनै मतदाताहरू देश बर्बाद बनाउनेहरूको पक्षमा लाग्छन्, तिनकै निम्ति नाराबाजी गर्छन्, मतदान गरेर सत्तामा पुऱ्याउँछन् र, यिनले देश बर्बाद बनाए भन्दै भोलिपल्टदेखि गाली दिन शुरु गर्छन् । मतदाताको मति बुझेकै हुनाले नेताहरू न कानून र संविधानअनुरूप चल्नुपर्ने ठान्छन्, न जनतासँग डराउँछन् । कानून र मतदातासँग नडराउने नेता र जनप्रतिनिधिलाई उपेक्षा या अवज्ञा गर्ने शासन प्रशासन भएको मुलुक कस्तो हुन्छ भन्ने प्रश्न कसैले गरे भने त्यसको एउटा जवाफ हुन सक्छ- ‘नेपाल जस्तै ।’

आफूमा निहित क्षमता आफ्नै हितमा मात्र प्रयोग गर्ने प्राणीलाई जनावर भनिन्छ भने आफ्नो क्षमता, गुण र समयको सदुपयोग समाज, राष्ट्र, देश, प्रकृति र पर्यावरणको हित तथा अन्तरिक्ष र परब्रह्मको खोजमा लगाउने चैतन्य स्तरका प्राणीलाई मानिसका रूपमा बुझिन्छ । त्यसैले मान्छेको आकारमा देखिने सबै प्राणी प्रकारले मान्छे हुँदैनन् र, नेपाल त्यस्ता मुलुकहरूको कोटिमा पर्दछ जहाँ ‘मानिस हुन बाँकी मान्छे’हरूको बाहुल्य छ ।

नेपाल बर्बादीको दिशामा छ, यो सत्य हो । बर्बादीको मूल कारण हामीले अवलम्बन गरेको नीति नियम र हामीले अपनाएको प्रणाली तथा यसको नेतृत्व (शासक-प्रशासक) मात्र नभएर हामी स्वयम् पनि हौँ । यी राजनीतिजीवीहरूलाई सत्ताको साँचो सुम्पन एक थाल मासुभात, एक बोतल मदिरा र पाँच लिटर इन्धन लिएर मतदान गर्ने को हुन् ? एक चिम्टी अवसर र एक झमट पद प्राप्तिको लालचमा खलनायकहरूलाई नायक र नालायकहरूलाई लायक भनेर प्रशस्ति गाउने कहाँका कलमजीवी विद्वान हुन् ?

पुरानो इतिहासलाई विस्मृतिमा राखेर हेरौँ, २०४६ सालको राजनीतिक परिवर्तनपछि शासन सत्ताको बागडोर आलोपालो सम्हाल्ने तिनै हुन्, जो अहिले पनि सत्ताका मालिक छन् । तीन दशकदेखि तिनै दल र नेताको शासन निरन्तर झेलिँदैछ, फेरि पनि हामी तिनकै दासत्वमा रमाउँछौँ र भन्छौँ- ‘यिनले देश बर्बाद गरे ।’ पञ्चायतकालमा व्यवस्था खराब भयो, त्यसैले देश बनेन भन्यौँ । पञ्चायत विस्थापित गरेर बहुदलीय संसदीय प्रजातन्त्र स्थापित गऱ्यौँ । त्यसपछि व्यवस्था राम्रो भएर मात्र हुँदोरहेनछ, नीति निर्माता र नेतृत्व (नेता) पनि असल हुनुपर्दोरहेछ भन्न थाल्यौँ । देश बर्बादीको बाटोमा हिँड्न थाल्यो, हामीले त्यसको सम्पूर्ण दोष नेतृत्व (मान्छे)लाई दियौँ । २०६३ को परिवर्तनपछि नेतृत्व र नीति (मान्छे र व्यवस्था) दुवै खराब भएकोले देश थप बर्बाद हुँदै गएको ठानिँदैछ ।

हो, पञ्चायतकालमा राजनीतिलाई ब्यापार व्यवसाय बनाइएको थिएन, अधिकाङ्श पञ्चहरू राजनीतिमा लागेर सम्पत्ति सिध्याउँथे र, घर रित्याउँथे । राजनीतिमा सहभागिता जनाएकै कारण कोही धनाढ्य बनेको दृष्टान्त पञ्चायतकालमा बिरलै भेटिन्थे, अहिले राजनीतिमा लागेको कारणले मात्र धनी बनेका मानिस एक घर बिराएर भेटिन्छन् । पहिले व्यवस्था खराब पऱ्यो भनेर व्यवस्था फाल्यौँ, त्यसपछि मान्छे (नेता) खराब परे भनेर अर्को व्यवस्था (२०६३मा) ल्यायौँ । व्यवस्था र मान्छे (नेतृत्व) दुवै खराब भएको प्रमाणित भइसक्दा पनि सहयोगी-मतियार बन्छौँ भने यो देश बर्बाद नभए कुन होला ?

प्रदेशको संरचना देशको बोझ हो, जसलाई धान्नकै निम्ति यो वर्ष पनि सत्ताइस अर्ब ऋण लिईंदैछ । राज्यको अर्थ व्यवस्थाले धान्नै नसक्ने प्रादेशिक संरचना राष्ट्रियता र राष्ट्रिय अखण्डताका दृष्टिले घातक छ । प्रादेशिक संरचनाको कुनै औचित्य नरहेको ठहर आम नेपालीले समेत गर्न थालेका छन् । तर प्रदेश खारेज हुनुपर्छ भन्दै मूख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र पार्टीको प्रदेशस्तरीय पदीय जिम्मेवारी पाउन हानथाप गर्न पनि तिनै मानिस अग्रसर भएका भेटिन्छन् । नेपाललाई धर्मनिरपेक्ष बनाइनु गम्भीर गल्ती हो भन्दै धर्मनिरपेक्षताका पक्षपातीहरूको झण्डा बोक्ने र दुई तिहाइ भन्दा बढी मत तिनैलाई अर्पण गर्ने पनि नेपाली मतदाता नै हुन् । जातिय आधारमा आरक्षण या समानुपातिक व्यवस्था गरिनु भनेको नेपाली समाजलाई चिरस्थायी ढङ्गले विभाजन गराउनु हो । जातिवादी अवधारणाको विरोध गर्दै कोटामा अवसर खोज्ने रोग पनि नेपालीलाई नै लागेको भेटिन्छ ।

विद्यमान संविधानले नेपाल राज्यलाई कमजोर बनाउने अन्तरवस्तु गर्भमा समेटेको छ । शान्ति, एकता, अखण्डता, एकता, राष्ट्रियता, सार्वभौमिक सर्वोच्चता, समृद्धि र स्थिरताविरोधी वर्तमान संविधान तथा यसका प्रणेताहरूको रक्षा गर्न खोज्दा देश असूरक्षित भइरहेको छ । एउटा नेताको विकल्पमा अर्को कसैलाई र एउटा दलको सट्टा अर्को कुनै दललाई रोज्नु र यिनैबाट समृद्धि खोज्नु भनेको आफ्नो र देशको समय बर्बाद गर्नु हो ।

खराब राजनीतिक प्रणालीमा पनि नेतृत्व असल हुँदा देशले शान्ति र समृद्धि हासिल गर्न सक्छ भन्ने तथ्यको दृष्टान्त दक्षिण कोरियाका पार्क चुङ ही र नेपालका राजा महेन्द्रले दिएका छन् । नेपालका वर्तमान राजनीतिजीवीहरूले सबैभन्दा उन्नत दाबी गरेको सङ्घीय, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीले बर्बाद गरेको मुलुक नेपाल मात्र होइन । विश्वका सबैभन्दा गहिरो विपन्नता भोगिरहेका कङ्गो र सुडान जस्ता मुलुकहरूले ब्यहोरिरहेको ‘व्यवस्था’ पनि नेपालकै जस्तो हो । समाजवादको आवरणमा कम्युनिष्ट रोबर्ट मुगावेले चार दशक लामो शासनमा बर्बाद पारिदिएको जिम्बाबे अझै माथि उठ्न सकेको छैन ।

नेपाललाई रणनीतिक प्रयोजनका निम्ति उपयोग गर्न चाहने बाह्यशक्तिले यहाँको राज्य र समाज कमजोर बनाएर आफ्नो गन्तव्य पूरा गर्न धर्मनिरपेक्षतासहितको जातिवाद र सङ्घीय, गणतन्त्रात्मक लोकतन्त्र लादिएको हो । पराया इच्छा पूरा गर्न लादिएको यो ‘व्यवस्था’लाई महान् उपलब्धि भन्ने दल र तिनका नेतालाई साथ दिनु भनेको देशको बर्बादीमा आफूलाई पनि सहभागी गराउनु हो । हाल मुलुकमा क्रियाशील मधेशकेन्द्रीत दल, काङ्ग्रेस, माओवादी, एमाले र राप्रपा तथा यी पार्टीका नेताहरूको साथ र समर्थनबाट सङ्घीय, धर्मनिरपेक्ष, जातिवादी, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान कार्यान्वयनमा ल्याइएको छ । यिनै दल, यस्तै नेता र नीति रहिन्जेल मुलुकमा सकारात्मक परिवर्तनको आशा राख्न सकिँदैन । तर हामी बर्बादीका मूख्य श्रोत बनेका दल, तिनका नेता र संविधान निर्माणमा सहयोगी भूमिका निर्वाह गरेर आफूलाई पानीमाथिको ओभानो ठान्दैछौँ । यिनै नेता, यस्तै नीति र संविधान पालेर हज्जार वर्षको प्रतीक्षा गरिए पनि नेपालले समृद्धिको छेउटुप्पो भेट्न सक्ने छैन । विद्यमान संविधानले नेपाल राज्यलाई कमजोर बनाउने अन्तरवस्तु गर्भमा समेटेको छ । शान्ति, एकता, अखण्डता, एकता, राष्ट्रियता, सार्वभौमिक सर्वोच्चता, समृद्धि र स्थिरताविरोधी वर्तमान संविधान तथा यसका प्रणेताहरूको रक्षा गर्न खोज्दा देश असूरक्षित भइरहेको छ । एउटा नेताको विकल्पमा अर्को कसैलाई र एउटा दलको सट्टा अर्को कुनै दललाई रोज्नु र यिनैबाट समृद्धि खोज्नु भनेको आफ्नो र देशको समय बर्बाद गर्नु हो । जबसम्म मतदाताले ‘मान्छे’ बन्ने प्रयास गर्दैनन् तबसम्म आफ्नै मलामी जाने नियति हामीले ब्यहोरिरहेका हुनेछौँ ।
जय मातृभूमि !