सदस्यसचिव घिसिङद्वारा पदबहाली

सदस्यसचिव घिसिङद्वारा पदबहाली


राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्यसचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्नेसम्बन्धी टिप्पणी सदर गरेका थिए ।

घिसिङलाई गत सोमबारको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । मंगलबार नै सदस्यसचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका हुन् ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्यसचिव घिसिङलाई नियुक्तिपत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले कामकाज सहि र सरल ढंगले अगाडि बढाउनु पर्ने बताए । खेलाडीको मनोबल उच्च बनाउन र पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको धारणा थियो । मन्त्री गहतराजले मन्त्रालयसँग जवाफदेही हुँदै खेल संघसँग घनिष्ठ सम्बन्ध राख्दै काम अगाडि बढाउनु पर्ने सुझाव दिँदै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिए ।

खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपले एउटा योग्य नेतृत्व पाएको धारणा व्यक्त गर्दै नवनियुक्त सदस्यसचिवलाई अवसर र चुनौती दुवै रहेको बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले विद्युतमा कुलमान घिसिङले जस्तै खेलकुदमा नवनियुक्त सदस्यसचिव घिसिङले उदाहरणीय र प्रशंसनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त सदस्यसचिव घिसिङले नेपाल सरकारले जुन विश्वास र जिम्मेवारी सुम्पिएर पठाएको छ त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय टोलीको सुधार गर्नु पर्ने आवश्यकता औंल्याए । नेपाल रग्बी संघका अध्यक्ष घिसिङले उक्त पदबाट राजीनामा दिइसकेका छन् ।