कोइराला पक्षमा विभाजनको खाडल गहिरिँदै, पुनः सभापति बन्दै देउवा !

कोइराला पक्षमा विभाजनको खाडल गहिरिँदै, पुनः सभापति बन्दै देउवा !


पुराना नेताहरूले आफूहरूलाई अनुमोदन गराउने सिलसिलामा नेकपा एमालेले बहुप्रतिक्षीत अधिवेशन सम्पन्न गरिसकेको छ भने सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वलाई अनुमोदन गराउने अन्तिम तयारीमा जुट्नुभएको छ । जनताबीच अलोकप्रिय र पार्टीभित्र आलोचकहरूको सङ्ख्या अधिक भए पनि शेरबहादुर देउवा फेरि पनि सभापतिको बलिया उम्मेदवार मानिनुहुन्छ । कोइराला पक्षका नेताहरूबीच एकता र समझदारी नबनेका कारणले पनि देउवा बलवान बन्नुभएको हो । विगतमा कोइराला पक्ष भनेर चिनिएका रामचन्द्र पौडेल अन्तिम एक पटक देउवासँग प्रतिष्पर्धा गर्ने मौका आफूलाई दिनका निम्ति सहयात्रीहरूसँग अनुनय-विनय गर्दै हुनुहुन्छ ।

डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत र अर्जुन नरसिंह केसी ‘सभापति स्तर’का नेता मानिनुहुन्छ र, उहाँहरू सबैले पौडेललाई साथ दिएको अवस्थामा मात्र उहाँले देउवासँग प्रतिष्पर्धा गर्न सक्ने स्थिति हो । तर यसबीचमा प्रकशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने डा. शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिन दृढ हुनुहुन्छ । अब डा. शशाङ्क कोइराला, डा. रामशरण महत र अर्जुन नरसिंह केसीले कोइराला पक्षबीच एकता कायम गराउन सक्नुभयो भने त्यसले एउटा बेग्लै परिणाम दिन सक्ला, होइन भने कोइराला क्याम्पबाट बहु उम्मेदवार बन्ने र शेरबहादुर देउवा सजिलैसँग सभापतिमा विजयी हुनुहुनेमा शङ्का गरिरहनु पर्ने छैन ।

काङ्ग्रेस महाधिवेशनमा करिब पाँच हजार मतदाता हुनेछन् र विजयी बन्न दुई हजार पाँचसयको हाराहारीमा मत प्राप्त गर्नुपर्ने हुन्छ । यदि कोइराला पक्षबाट बहु उम्मेदवारी प¥यो भने देउवाले पहिलो चरणमा नै पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न असम्भव छैन ।

कोइराला पक्षमा देउवालाई टक्कर दिन सक्ने सर्वाधिक बलिया नेताका रूपमा डा. शेखर कोइरालालाई लिइन्छ । तर ‘जुनियर’ भएकोले उहाँलाई नेता मान्न रामचन्द्र पौडेल, डा. रामशरण महत र प्रकाशमान सिंह तयार हुनुहुन्न । पौडेललाई सभापतिको उम्मेदवार बनाउन डा. शेखर तयार हुनुहुन्न । देउवाविरोधी कुनै अदृष्य शक्तिले आफ्नो सामथ्र्य दर्शायो भने बेग्लै कुरा, त्यसो भएन भने कोइराला पक्षबाट कम्तिमा दुईदेखि बढीमा तीन जनासम्म उम्मेदवार मैदानमा उत्रने सम्भावना छ । कोइराला क्याम्पका कुनै एक मात्र उम्मेदवार बनाइएछ भने पनि त्यहाँभित्रका अर्को पक्षले खुलेर या लुकेर शेरबहादुर देउवालाई सहयोग पुऱ्याउने सम्भावना पनि त्यत्तिकै प्रबल छ । देउवाले अलिक ‘उदार प्रयास’ गर्नुभयो भने डा. रामशरण महत, अर्जुन नरसिंह केसी र रामचन्द्र पौडेलसमेतको समर्थन प्राप्त गर्न सम्भव छ ।

देउवा क्याम्पमा पनि ‘सभापति’ स्तरका नेताहरू नभएको होइन । पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, डा. नारायण खड्का र कृष्णप्रसाद सिटौलालाई सभापति बन्न योग्यता पुगेका नेता मानिन्छन् । विजयकुमार गच्छदार विभिन्न कारणले खुम्चिनु परेकोले उहाँको भूमिका देउवाको सहयोगीका रूपमा सीमित हुन पुगेको छ भने कृष्णप्रसाद सिटौला खुलेर देउवाका पक्षमा देखापर्नुभएको छ । धनुषाका नेता विमलेन्द्र निधि र महोत्तरीका कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

शेरबहादुर देउवा आफ्नो क्याम्पका एकछत्र नेता भए पनि उहाँलाई टीम मिलाउन निकै मुस्किल पर्ने देखिन्छ । डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार कम्तिमा उपसभापतिका दाबेदार हुनुहुन्छ, जबकि उहाँहरूमध्ये दुई जनालाई मात्र उपसभापतिमा समर्थन गर्न पाउने वैधानिक सुविधामा देउवा हुनुहुन्छ । त्यसैगरी महामन्त्रीका दाबेदार नेताहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ । डा. मीनेन्द्र रिजाल, एनपी साउद, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, रमेश लेखक र बद्री पाण्डेदेखि गगन थापासम्मले महामन्त्रीमा दाबी गरिरहेका छन् ।

नेपाली राजनीतिमा पछिल्लो डेढ दशकभित्र पश्चिमी प्रभाव निकै बढेर गएको छ र, कुनै बेला भारतसँग निकट मानिएको काङ्ग्रेस पार्टी यतिबेला पूर्णतः पश्चिमी पकडमा गएको छ । सभापति शेरबहादुर देउवालाई पश्चिमाहरूको बलियो साथ रहँदै आएको भए पनि यतिबेला उनीहरू अस्ताउँदो सूर्य छोडेर उदाउँदो सूर्यतिर लागेको सङ्केतहरू देखिएका छन् र, उनीहरूको रोजाइमा डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा परेको बुझिन्छ । डा. शेखरले भारतको समेत सहानुभूति प्राप्त गर्न कोशिस गरिरहनुभएको बुझिन आएको छ । भारतले ‘कम्फर्टेबल’ ठानेका डा. शशाङ्क कोइराला सभापतिमा उम्मेदवारी दिन आनाकानी गर्दै हुनुहुन्छ । आफूभन्दा उमेरमा ठूला दाज्यू डा. शेखर कोइराला आफैंले उम्मेदवारी दिने इच्छा राखेकोले शशाङ्क खुम्चिनुपर्ने अवस्था आएको हो ।

देउवा क्याम्पमा सभापतिको उम्मेदवारीलाई लिएर खासै समस्या नभए पनि पदाधिकारी चयनमा ठूलो कठिनाइ पर्ने देखिन्छ भने कोइराला पक्षमा पदाधिकारी चयनमा समस्या नदेखिए पनि सभापतिको उम्मेदवार चयनमा निकै सकस पर्ने अवस्था छ । अहिलेसम्मको स्थिति विश्लेषण गर्दा शेरबहादुर देउवा सबैभन्दा ठूला प्रतिष्पर्धी डा. शेखर कोइराला बन्ने देखिएको छ । पहिलो चरणमा सभापतिको टुङ्गो नलागे पनि दोस्रो चरणको निर्वाचनबाट सभापतिको टुङ्गो लाग्ने निश्चित छ ।

शेरबहादुर देउवालाई पश्चिमा शक्तिले छोड्न खोजेको र डा. शेखर कोइरालालाई रोजेको भए पनि कोइराला क्याम्पमा देखापरेका विभाजनको स्थितिबाट शेरबहादुर देउवाले भरपुर लाभ उठाउने सम्भावना छ । पश्चिमा शक्तिले दोहोरो भूमिका निर्वाह गरेको भए पनि यसपटक काङ्ग्रेसमा गुण्डागर्दी र ठेकेदार पृष्ठभूमिका व्यक्तिहरू प्रतिनिधिका रूपमा ठूलो सङ्ख्यामा आएको, देउवाले सत्ताको सदुपयोग गर्ने स्थिति रहेको, शिद्धान्त र विचारविहीन प्रतिनिधिहरू सत्ता र नगदबाट ज्यादा प्रभावित हुने अवस्था रहेको र, नगद परिचालनमा समेत देउवा नै अग्रणी रहने भएकोले आगामी महाधिवेशनमा उहाँको विजयको सम्भावना बढेको हो । देउवाको लोकप्रियतामा ह्रास आएको भनिएता पनि देशभरका सबै जिल्लाबाट चयन प्रतिनिधिहरूको सङ्ख्या विश्लेषण गर्दा समेत देउवा सबभन्दा बलवान देखिनुभएको छ । तथापि, कोइराला क्याम्पका भनेर चिनिएका सबै नेताहरू एकजुट भएको अवस्थामा भने देउवालाई सभापति बन्न हम्मे-हम्मे पर्ने देखिएको छ ।