‘क्रिकेट विकासको लागि टी-२० विश्वकप मेरुडण्ड’ : आईसीसी

‘क्रिकेट विकासको लागि टी-२० विश्वकप मेरुडण्ड’ : आईसीसी



अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी-२० विश्वकपको बारेमा महत्वपूर्ण बयान दिएको छ । हरेक दुई वर्षमा आयोजना हुने टी-२० विश्वकप समग्र क्रिकेट विकासको लागि मेरुदण्ड भएको आईसीसीले जनाएको छ ।

सबै सदस्यराष्ट्र ट्वान्टी-२० क्रिकेट खेल्ने भएकोले यो फरम्याट क्रिकेटको लागि ज्यादै महत्वपूर्ण छ । यसैलाई मध्यनजर गर्दै गत साता आईसीसीले सन २०२४ देखि २०३१ सम्म आयोजना हुने सीमित ओभरको क्रिकेट प्रतियोगिताको घोषणा गरेको थियो । जसमा प्रत्येक वर्ष एउटा सीमित ओभरको क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ ।

आईसीसीका सीइओ ज्योफ अलार्डिस भनेका छन्- ‘क्रिकेटका अलग-अलग स्वरुपमा अलग-अलग प्रतियोगिता खेलिन्छ । यसमा हरेक दुई वर्षमा टी-२० विश्वकपको आयोजना हुनु राम्रो कुरा हो । किनकि सबै सदस्यराष्ट्रले यो स्वरुपको क्रिकेट खेल्छन् ।’

साथै, हालै सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट (युएई) र ओमान पाँच वर्षको अन्तरालपछि खेलेको खुलासा गर्दै आलार्डिसले भने- ‘यो समय निकै लामो हो । अहिले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट धेरै खेलिन्छ, यो हिसाबमा यो समय निकै लामो थियो, त्यसैैले हामी दुई वर्षमा एक पटक टी-२० विश्वकपको आयोजना गर्न चाहन्छौँ ।’

यसैगरी, च्याम्पियनसिप ट्रफी निकै लोकिप्रिय प्रतियोगिता भएको खुलासा गर्दै आलार्डिसले यो एकदिवसीय स्वरुप निकै रोचक भएको बताए । विश्वकप क्रिकेटको चार वर्षको चक्रमा च्याम्पियनसीप ट्रफी निकै उत्कृष्ट प्रतियोगिता भएको उनको भनाइ छ । च्याम्पियनसीप ट्रफी पछिल्लो समय सन् २०१७ मा आयोजना भएको थियो । अब २०२५ मा आयोजना हुँदैछ । जसको जिम्मेवारी पाकिस्तानले पाएको छ ।

त्यस्तै, हालै सम्पन्न टी-२० विश्वकपमा टसको महत्वपूर्ण भूमिका रह्यो, जसले टस जित्यो त्यसैले खेल जित्यो । यसबारेमा प्रस्ट पार्दै आलार्डिसले भनेका छन्- ‘क्रिकेटमा असम्भव केही छैन, यस्तो कहिलेकाहीँ हुन्छ, तर जसले टस जित्यो त्यसले खेल जित्ने कुरा सधैं सत्य सावित हुन सक्तैन । मलाई विश्वास छ, अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपमा यस्तो हुने छैन । क्रिकेट कहिले परम्परागत जस्तो देखिन सक्छ, त्यसैलाई मध्यनजर गर्दै अन्य टीमले प्रश्न उठाउने गर्छन्, वास्तवमा त्यस्तो केही हुँदैन ।’

यसैबीच अफगानिस्तानमा हालै घटेको राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै क्रिकेटको समीक्षाको लागि आईसीसीले एक कार्यसमूह गठन गरेको छ । सो बारेमा आईसीसीका अध्यक्ष ग्रेग बार्कले भनेका छन्- ‘अफगानिस्तान आईसीसीको पूर्णकालिन सदस्य हो । आईसीसी अफगानिस्तानमा महिला तथा पुरुष क्रिकेटको विकासको लागि सहयोग गर्नेछ र भविष्यमा पनि गर्नेछ । तर त्यसको लागि आईसीसीको सदस्य बनिरहन केही मापदण्डमा अफगानिस्तान खरो उत्रिनुपर्नेछ । जुन राजनीति र क्रिकेटसँग प्रत्यक्षरुपमा जोडिएका छन् । यस्तो अवस्थामा राजनीतिक हस्तक्षेपबाट बच्दै क्रिकेटको अनुशासनलाई कायम राखी अफगानिस्तान अगाडि बढ्यो भने आईसीसीको सहयोग पाइरहने छ ।’