को आउला खोइ…नेपाल र नेपालीको उद्धार गर्न ?!

को आउला खोइ…नेपाल र नेपालीको उद्धार गर्न ?!


सशस्त्र विद्रोह गरेर नयाँ नेपाल बनाउनेहरूको जमातले पनि उद्धार गर्न सकेनन् । बुद्धिजीवी कहलाइएकाहरू, नागरिक अगुवा भनेर कहलाइएकाहरू कसैले पनि सकेनन् । कर्मचारीहरूले सक्छन् कि भनेर हेर्न खोजियो, तर आदेश पालन गर्ने संस्कृति र ज्ञान बोकेकाबाट पनि उद्धार भएन । जनता फेरि एकपटक पृथ्वीनारायण शाहको वंशाणु बोकेकामा त्यो क्षमता छ कि भनेर आशा गर्दैछन् । त्यताबाट पनि कुनै छेकछन्द अहिलेसम्म देखिएको छैन ।
  • स्वयम्भूनाथ कार्की

कुनै बेला नेपाललाई शान्तिक्षेत्र प्रस्ताव गरिनु र विश्वका धेरै मुलुकहरूले त्यस प्रस्तावलाई समर्थन गर्नु त्यसबेला नेपालीहरू शान्तिप्रेमी र नेपाल शान्त थियो भन्ने प्रमाण हो । नेपाललाई शान्तिक्षेत्र प्रस्ताव गरिएसम्मको समय नै नेपालले उपयोग गरेको शान्तिको अन्तिम खुराक थियो भन्ने भान हुने गरेर नेपाल यत्तिसम्म अशान्तिको भुमरीमा पऱ्यो कि अरु मुलुकमा शान्ति स्थापना गर्न शान्तिसेना पठाउने नेपालले आफ्नै छातीमा संयुक्त राष्ट्र सङ्घलाई शान्ति स्थापना गर्न आमन्त्रण गर्नु पऱ्यो । यो नेपालको इतिहासमा एक कालो दाग हो ।

एक-एक गरेर नेपालीले गौरव गर्ने गरेका कुराहरू ढालिँदै छन् । नेपाली-नेपालीबीचको सौहार्दताको बली चढाइँदै छ । अब त संवैधानिक रूपमा नै नेपाली-नेपालीबीच विभेदको खाडल खनिएको छ । कुनै बेला छिमेकीलाई समेत रोजगारी दिने मुलुकका नागरिकहरू अहिले विदेशमा मध्ययुगिन दाससरह दाइँदै छन् । अब यो मुलुक बिस्तारै श्रमिक उत्पादन कारखाना र बुढाखाडाको मृत्यु प्रतीक्षालयमा रूपान्तरण हुँदैछ । स्वदेशी उद्यमलाई ‘सामुहिक सौदाबाजी’को संविधानप्रदत्त अधिकारले धुलोपिठो पार्ने अवस्था जन्मेको छ । यस्तोमा नेपाली पौरखी हातहरू विदेशमा दाससरी खट्न नगइ उपाय छैन ।

नेपाली हुनुमा गौरव गर्नेहरूको भन्दा स्वदेशको मानो खाएर विदेशको गुणगान गर्नेहरूको धन, प्रतिष्ठा, पद र सत्तामा क्षमता बढ्दै गएको छ । आज मुलुकलाई माया गर्नेले आफूलाई राष्ट्रवादी हुँ भन्न डर मान्नुपर्ने अवस्था आएको छ । जो यो मुलुकलाई दुई-अढाइ शताब्दि भन्दा पहिलेको अवस्थामा पुऱ्याउन उद्धत् छन् तिनीहरू अग्रगामी तथा प्रगतिशील कहलिएका छन् । अनि जो सबै नेपालीको नेपालमा समान हैसियत हुनुपर्छ, मुलुकमा उन्नत्ति हुनुपर्छ अनि नेपालले अनौठा कामहरू गरेर मात्र नभइ प्रगति गरेरै विश्वमा हैसियत बनाउनुपर्छ भनेर भन्छ त्यसलाई प्रतिगामी लेबल लगाइएको छ । नेपाली-नेपाली एक हौँ भन्ने कुरा गर्नेहरूलाई दुत्कारिने र नेपालीलाई अनेक भागमा विभक्त गर्नेलाई अभिन्नदन गर्ने सोच ठुलो हुने आजको समयमा नेपाल र नेपाली विनासको सङ्घारमा छन् ।

नेपालको गौरव कायम राख्न आफ्नो प्राण उत्सर्ग गर्ने आफ्ना पुर्खाहरूलाई आतातायी, युद्धअपराधी जस्ता सम्बोधन गर्नेहरूलाई फुलमाला लिएर स्वागत गर्न लाममा लाग्नेहरू छन् । पृथ्वीनारायण शाहले किरातीहरूलाई बोरामा हालेर नदीमा बगाउँथे भन्ने प्रलाप छाप्ने मुलुकका प्रमुख समाचार पत्र भएका छन् । त्यही पढेर आजको ‘गोज्याङ्ग्रो चेतनशील’ युवा पुर्खालाई गाली गर्छ । गोज्याङ्ग्रो चेतलशील किन भनियो भने त्यस्ताको चेतनशिलता नै आफ्नो गौरवशाली इतिहासलाई गाली गर्नुमा छ । हैन भने त्यसबेला अस्तित्वमा नै नभएको ‘बोरा’ खोज्न के पृथ्वीनारायण शाहले एच.जी. वेल्सको ‘टाइम मसिन’मा वर्तमानमा आए ?

आफूलाई जन्माउने बाबुआमालाई लात्तेभकुण्डो बनाएर इजराएलका बुढाबुढीहरूको खुट्टामा तेल घस्न जान तैयार हुनु स्वेच्छा नभइ नेपालमा जीवनयापन गर्न नसकिने ठम्याइ नै होला । त्यस्ताले आफ्नो घरमा पठाएको रगतपसिनाको कमाइ करको रूपमा चुस्नुसिवाय नेपालका वर्तमान सत्ता सञ्चालकहरूको अर्को कुनै काम छैन । एउटा डोरीमा सर्कसका कलाबाजहरूले जस्तो कलाबाजी गरेर खोला तर्नुपर्ने नेपालीहरूका वैधानिक सेवक भनिएका सत्ता सञ्चालकहरू एक-डेढ कोशको दूरीका लागि लाखौँ खर्च गरेर हेलिकोप्टरमा सयर गर्दछन् ।

छातीमा दुधेबालक च्यापेर पिठ्यूँ या टाउकोमा बोझ बोक्न विवश सार्वभौम जनताका सेवकरूपी मालिकहरू भने करोडौँ मूल्य पर्ने वातानुकुलित बाहनमा नेपालीको रगतपसिनाले आर्जन गरेको विदेशी मुद्रा खर्चेर आयात गरेको इन्धन जलाउँदै नेपालीको कष्टको निवाराणार्थ भन्दै सुविधासम्पन्न रिसोर्टमा विदेशी मदिरासहितको भोजन गर्दै बैठक गर्न तल्लिन छन् । जनता त्राही-त्राही गरिरहेको छ, तर जनताको यो आर्तनाद रोक्न त परै जाओस् सुन्न पनि कोही तैयार छैन । आफ्नो सुविधा गुम्ला भन्ने डरले आक्रान्त भएर काँतरको जुनी बाँच्दै गरेकाहरूबाट केही हुने आशा गर्नु नै जनताको सबैभन्दा ठुलो अपराध हो ।

नेपालको कष्ट र नेपालीको आर्तनाद सबैलाई गौण भएको छ, त्यसको बदला विदेशी राष्ट्रको आशिर्वाद थाप्न प्रयत्नशील भएकाको भीडबाट त्राण पाउन जनता पाखा लगाइएका राजाको हरेक उपस्थितिमा आर्तनाद गर्दै जयजयकार गर्न पुगेकै छन् । उनले जनताको आर्तनाद सुनेका छन् वा छैनन् – त्यो प्रकट भएको छैन । गोर्खाका बाह्र हजार घर जनतासंँग सल्लाह लिएर उनिहरूको साथ लिएर उनका पुर्खाले नेपालको एकीकरण गरेका थिए । उनले अजिङ्गर जस्तो मुख बाएर आर्यवर्त निल्दै आएको अङ्ग्रेजसँग साम, दान, दण्ड, भेद सबै नीति प्रयोग गरेर शिशु नेपालको सुरक्षा गरेका थिए । आज त्यही नेपाल चोटैचोटले आक्रान्त भएर कोही उद्धारकर्ताको प्रतीक्षा ब्यग्रतापूर्वक गर्दैछ ।

दलहरूले यो कर्तव्य पुरा गर्न सकेनन् । सशस्त्र विद्रोह गरेर नयाँ नेपाल बनाउनेहरूको जमातले पनि उद्धार गर्न सकेनन् । बुद्धिजीवी कहलाइएकाहरू, नागरिक अगुवा भनेर कहलाइएकाहरू कसैले पनि सकेनन् । कर्मचारीहरूले सक्छन् कि भनेर हेर्न खोजियो, तर आदेश पालन गर्ने संस्कृति र ज्ञान बोकेकाबाट पनि उद्धार भएन । जनता फेरि एकपटक पृथ्वीनारायण शाहको वंशाणु बोकेकामा त्यो क्षमता छ कि भनेर आशा गर्दैछन् । त्यताबाट पनि कुनै छेकछन्द अहिलेसम्म देखिएको छैन । नेपाल शुरुदेखि नै स्वतन्त्र मुलुक थियो अहिले केही ग्रहण लागे पनि स्वतन्त्रता कायम नै रहेको छ । यस्तो मुलुकको नेतृत्व गर्न विदशी आशीर्वाद खोजिनु हुन्न । उद्धारकर्ता जो भए पनि हुन्छ तर विदेशी शक्तिहरूको धाप थापेर आएकाहरू उद्धारकर्ता हुन सक्दैनन्, किनभने यो त उद्धार हैन उल्टै पतनतिरको यात्रालाई दिइने थप गति सावित हुनेछ ।