‘गण्डकी प्रदेश’ काङ्ग्रेस सभापतिमा शुक्रराज शर्मा नै किन ?

‘गण्डकी प्रदेश’ काङ्ग्रेस सभापतिमा शुक्रराज शर्मा नै किन ?


बिपी विचारधारा अँगालेका एक असल नेतालाई काङ्ग्रेसले गण्डकीको सभापतिको रूपमा पाएको खण्डमा पार्टीले काँचुली नै फेर्छ भनेर ठोकुवा गरी भन्न नसकिएला, तथापि नेपाली काङ्ग्रेसको नैतिक आस्था र पद्धतिलाई जोगाएर उहाँले आगामी पुस्तालाई पार्टी हस्तान्तरण गर्नुहुनेछ भन्नेमा ढुक्क हुन सकिन्छ।
  • नवीनराज पौडेल, डेनमार्क

प्रजातन्त्रलाई आफ्नो मूल्य ठान्ने शुक्रराज शर्मा नेपाली काङ्ग्रेस (कास्की), तत्कालिन पश्चिमाञ्चल या अहिलेको गण्डकी प्रदेशमा रहने आफूलाई काङ्ग्रेस बताउने हरेक कार्यकर्ता तथा पार्टी पङ्क्तिको लागि नयाँ नाम होइन । चार दशक लामो प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा कास्की काङ्ग्रेसलाई १७ वर्षसम्म नेतृत्व दिएका तत्कालिन कास्की काङ्ग्रेस सभापति शर्मा समस्त प्रजातन्त्रप्रेमीका लागि सुपरिचित नाम हो ।

पार्टीले दिएका हरेक जिम्मेवारीलाई तन मन तथा ब्यवहारिक रूपमै कर्मले निभाइ आजसम्म समग्र नेपाली काङ्ग्रेसका पक्षमा रगतपसिना बगाएका शर्मा एक प्रजातान्त्रिक योद्धा तथा पार्टीको आन्तरिक प्रजातन्त्रमा कठिबद्ध व्यक्ति भनेर हरेक प्रजातन्त्रप्रेमीले सम्बोधन गरिरहेका हामीले सुन्दै आएका छौँ । लामो प्रजातान्त्रक यात्रामा देश, पार्टी र आफ्नो पार्टीपङ्क्तिका पक्षमा उहाँले गरेका कामका विषयलाई लेखमा उठाउन खोजियो भने फेहरिस्त लगाएर साध्य नहोलान् ।

पङ्क्तिकारले यहाँ स्मरण गर्न चाहेको विषय भनेको; काङ्ग्रेसका केन्द्रिय सभापति गिरिजाप्रसाद कोइराला पश्चिमाञ्चल आउने कार्यक्रम बन्दा उहाँको फोन सबैभन्दा पहिला शुक्रराज शर्मालाई आउँथ्यो । साथै, उहाँकै सल्लाहअनुरुप पश्चिमाञ्चल क्षेत्रमा नेपाली काङ्ग्रेसको अवस्थाबारे जानकारी राख्नुहुन्थ्यो भन्ने सन्दर्भ हामी कास्कीवासीको लागि नौलो थिएन । आफ्नो विद्यार्थी-राजनीतिकालमा कयौँ पटक काङ्ग्रेसको झण्डा बोकेर विभिन्न कार्यक्रममा पुग्दा पङ्क्तिकारले केन्द्रिय सभापति गिरिजाप्रसाद कोइरालाको सामिप्य र विश्वासप्राप्त अनि योग्य नेता भनेर बारम्बार सार्वजनिक मञ्चबाट शुक्रराज शर्माका बारेमा सम्बोधन गरिएको कयौँपटक सुनिएको हो ।

आज, गण्डकी काङ्ग्रेसका नेता शुक्रराज शर्माको राजनीतिक उत्तराद्र्धको यो अवस्थामा पनि जारी सक्रियतालाई हेर्दा धेरै काङ्ग्रेसजन अचम्मित बनेको पाएको छु । आजसम्म उहाँले देश र पार्टीका साथै जनतालाई जे दिनुभयो- पार्टीले कतै-कतै न्याय गरेजस्तो देखिएता पनि उहाँको प्रस्ट मुल्याङ्कन हुन नसकेको महसुस भइरहेको थियो । यस्तै मुल्याङ्कनका बीच गण्डकी प्रदेशको नेपाली काङ्ग्रेसको आन्तरिक चुनावमा, काङ्ग्रेसमा योगदान दिएका नेताहरूले पनि उम्मेदवार हुने इच्छाका बाबजुद शुक्रराज शर्मा पनि उम्मेदवार हुने चर्चाले खुशी तुल्याएको थियो । झन् पछिल्लो समयमा उहाँ समग्र नेपाली काङ्ग्रेसको लोकप्रिय उम्मेदवारका रूपमा आन्तरिक चुनावी मैदानमा उत्रिने अवस्था सृजना भयो भन्ने खबर पाउँदा गण्डकी काङ्ग्रेसले एक सच्चा काङ्ग्रेसी अभिभावक पाउन लागेको अनुभूति गर्दै, बीपीको मार्गदर्शनलाई नेपाली काङ्ग्रेसले सदैव शीरोधार्य गरिरहनु पर्छ भन्ने म जस्तो व्यक्तिको लागि खुशीको कुरा बनिदियो । समग्रमा भन्दा गण्डकी काङ्ग्रेसले एक निष्ठावान र एक आदर्श व्यक्तिलाई आन्तरिक निर्वाचनमा खडा गरेको छ ।

विदेशको बसाइ भएता पनि आफ्नो तन मन तथा सम्पूर्ण चासो काङ्ग्रेसमै रहनुका साथै नेपाली काङ्ग्रेसको भातृसंगठन जनसम्पर्क समिति डेनमार्कको संस्थापक सभापतिको दृष्टिकोणबाट हेर्दा पनि नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनलाई नजिकबाट हेरी नै रहने विषय भयो । त्यसमाथि शुक्रराज शर्मा जस्ता दिग्गज नेता गण्डकी काङ्ग्रेसले प्रथम सभापतिका रूपमा पाउनु भनेको पङ्क्तिकारलाई मात्र नभएर समग्र काङ्ग्रेस पङ्क्तिका लागि सुखद विषय हुने भयो । विदेश नै सही, आफ्नो देश, प्रदेश तथा जिल्लामा भएका हरेक गतिविधिलाई सुक्ष्म रूपमा हेर्दा र काङ्ग्रेस गण्डकीले शुक्रराज शर्मालाई प्रथम सभापतिको रूपमा पाउने पूर्वसन्ध्यामा मन गदगद नहुने सवाल नै रहेन ।

नेपाली काङ्ग्रेसको आन्तरिक विवाद साथै पार्टीले लिएको पछिल्लो लाइनका विषयमा धेरै फोरमहरूमा चर्चा-परिचर्चा चलिरहेका हुन्छन् । कतै सुन्ने गरिन्छ- बिपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता संस्थापक नेता भएको पार्टी आज आफ्नो धारबाट बिचलित बनेको, सत्तामुखी, ब्यापारमुखी बनेको, राजनीतिलाई धन कमाउने स्थल बनाएको बारम्बार सुनिरहेका हुन्छौँ । विभिन्न कार्यकर्ताको गुनासो पनि यस्तै रहेको देखिन्छ र, सुनिन्छ पनि । कतै त काङ्ग्रेस प्रजातन्त्रको वकालत गर्दागर्दै आफै प्रजातन्त्र र आफ्ना संस्थापकहरूलाई समेत बिर्संदै गैरहेको छ भन्ने खालका असन्तुष्टि वा गुनासा पनि यत्रतत्र सुन्दै आइरहेका छौँ । यहाँ सोचनीय विषय भनेको शुक्रराज शर्मा बिपी लाइनबाट कतै डग्मगाउनुभएको कसैले महसूस गर्न पाएका छैनन् । एक पटक राष्ट्रियसभाको सांसदका रूपमा रहँदा होस् या नेपाली काङ्ग्रेसको वैकल्पिक केन्द्रिय सदस्यका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा होस्, उहाँले आफ्नो नैतिक आचारणलाई सदैव प्राथमिकतामा राख्दै, कसैसँग सम्झौता गर्नुभएन भन्ने विषय उहाँलाई बुझेकाहरूले खुला रूपमा भन्ने गर्दछन् ।

एक असल बिपी विचारधारा अँगालेका नेतालाई काङ्ग्रेसले गण्डकीको सभापतिको रूपमा पाएको खण्डमा पार्टीले काँचुली नै फेर्छ भनेर ठोकुवा गरी भन्न नसकिएला, तथापि नेपाली काङ्ग्रेसको नैतिक आस्था र पद्धतिलाई जोगाएर उहाँले आगामी पुस्तालाई पार्टी हस्तान्तरण गर्नुहुनेछ भन्नेमा म ढुक्क छु । प्रस्ट छु । निष्ठावान नेता शुक्रराज शर्मालाई शुभकामना !

(पङ्क्तिकार नेपाली काङ्ग्रेसको विदेशस्थित भातृसंगठन ‘जनसम्पर्क समिति डेनमार्क’का संस्थापक सभापति हुन् ।)