राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा आयोजना गरेको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् ।
रग्वीलाई आफूले शुन्य अवस्थाबाट माथि उकासेको दाबी गर्दै उनले सिङ्गो नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा राखे ।
‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहि कदापी होइन’- उनले भने ।
खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरे पनि बालुवामा पानी हाले जस्तो मात्र हुने उल्लेख गर्दै उनले यसमा सम्बन्धित संघ र प्रशिक्षकहरुले विशेष ध्यान दिन आवश्यक रहेको बताए । प्रशिक्षकहरुलाई समयसापेक्ष परिस्कृत र स्तरवृद्धि गर्न रिफ्रेस कोर्स अति आवश्यक भएको बताउदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाएर हुन्छ आवश्यक कदम चालिने सदस्यसचिव घिसिङले स्पष्ट पारे ।
नतिजा मात्र खोज्नुभन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा उनले जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्यसचिव घिसिङले सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउँदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह–सुझावलाई आत्सात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक र उपनिर्देशक हिमाल दाहालले विगतमा बृहत राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक संख्यालगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।
मुख्य प्रशिक्षकहरुले खेल सामाग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्था बारे सदस्य–सचिव घिसिङलाई अवगत गराएका थिए ।
प्रतिक्रिया