ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओद्वारा जानकारी

ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओद्वारा जानकारी


कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको सम्बन्धित अधिकारीहरूको भनाइ छ । तर सङ्क्रमणको फैलावट भने तीव्र देखिएको राष्ट्रसङ्घीय निकाय डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेइरले भनेका छन्, ‘मैले अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भएको थाहा पाएको छैन ।’

संसारभरबाट ओमिक्रोनसम्बन्धी विवरणहरू सङ्कलन गर्ने र अध्ययन गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले भनेका छन्– ‘धेरै देशहरूमा धमाधम परीक्षण भइरहेको छ । उनीहरूले सतर्कता पनि अपनाएका छन्, यसलाई विषेश तरिकाले हेरिएको छ ।’

एएफपीका अनुसार अहिले भइरहेको अध्ययनबाट नयाँ सूचना प्राप्त हुने र भावी योजना तथा सतर्कताका लागि सहयोग हुने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । उनीहरूले ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएकाले आगामी दिनमा पनि कसैको मृत्यु नहुने अपेक्षा गर्न सकिने बताएका छन् ।