अब कित्ताकाट गर्नैपर्छ !

अब कित्ताकाट गर्नैपर्छ !


नेपाल एकीकरण नहुुँदा पनि नेपालमा हिन्दू धर्मकै संस्कार र संस्कृति मानिन्थ्यो, स्थापित थियो । चाहे गोपाल वंशले शासन गर्दा होस् कि किराँतले, लिच्छवीकालमा होस् कि मल्लकालमा, नेपालमा हिन्दू धर्म, परम्परा र संस्कृति नै मानिन्थ्यो भन्ने तथ्य इतिहासले पुुष्टि गरेको छ । त्यतिबेला स्थापित मठ-मन्दिरहरू र ठाउँ-ठाउँमा रहेका शिलालेखहरू यो कुराको प्रत्यक्ष प्रमाण हुन् ।

  • सुशील देवकोटा

यदि तपाईंं पूर्व जान चाहनुहुन्छ तर पश्चिम जाने गाडीमा बस्नुभएको छ भने कि तपाईंं झुक्किनुभएको हुनुपर्छ कि त तपाईंंलाई झुक्याइएको हुनुपर्छ । तर तपाईंलाई थाहा छ कि यो पश्चिम जाने गाडी हो तर पनि तपाईं पूर्व जाने भनेर बस्नुहुन्छ भने अवश्य पनि तपाईं आफ्नो गन्तव्यको बारेमा झुठ बोल्दै हुनुहुन्छ भन्ने थाहा हुन्छ । किनभने पश्चिम जाने गाडीमा चढेर पूर्व पुग्न सकिँदैन भन्ने बुझ्न कुनै अतिरिक्त परिश्रम गर्नै पर्दैन ।

यदि राष्ट्र बचाउने कुरालाई पूर्वको यात्राको रूपमा लिने हो भने वर्तमान व्यवस्था र संविधान पश्चिम जाने गाडी हो । यही व्यवस्थालाई मानेर यही संविधानलाई जोगाएर देश जोगिन्छ भन्ने सोच्नु पश्चिम जाने गाडीमा चढेर पूर्व पुगिन्छ भनेर सोच्नु जस्तै हो । यसो भन्नुको स्पष्ट कारण यो हो कि नेपाल भनेर चिनिने कुनै पनि मौलिक अन्तरवस्तुलाई यो व्यवस्था र संविधानले चिन्दैन र मान्दैन । यदि ती मौलिकता भत्काएर पनि देश र जनतालाई सुखी र खुशी बनाउने विकल्प प्रस्तुत गरिएको भए हुन सक्छ अधिकांश जनताले त्यसरी मौलिकता भत्काइनुलाई ज्यादै नकारात्मक रूपमा नलिन पनि तैयार हुन्थे होलान् । तर, एकातिर राष्ट्र चिनाउने र देशको गर्वको रूपमा रहेको मौलिकतालाई भत्काइएको छ भने विकल्पको रूपमा झन् कहाली लाग्दो अवस्था र व्यवस्थाको सृजना गरिएको छ ।

यो व्यवस्था र संविधान लागु गर्ने बेलामा जे-जस्तो झुठो सपना देखाइएको थियो र आश्वासनका ललीपप बाँडिएको थियो त्यो फगत् नेताहरूको आफ्नो निजि स्वार्थ पूरा गर्न चालिएको एक रणनीति रहेछ भन्ने बुझ्दै गएपछि अहिले एकातिर बहुसङ्ख्यक जनताको मनमा चरम असन्तोष छ भने अर्कोतिर यो व्यवस्था र संविधान लागु भएपछि नै विश्वको एक मात्र हिन्दू राष्ट्रको पहिचान मेटाइएको छ, एकात्मक शासनको अभ्यास भएको देशलाई प्रदेश संरचनामा लगेर टुक्रा परिएको छ, जातीय आरक्षणको नाममा जातीय विभेद र जातीय द्वन्द्व बढाउने काम गरिएको छ, नेपाली भाषालाई मेटाउन र नेपालको विशिष्ट पहिचान भएको राष्ट्रिय पोशाकलाई विस्थापन गर्ने कार्यको थालनी प्रदेश नम्बर २ बाट शुरु गरिसकिएको छ । यति सबै थाहा हुँदाहुँदै पनि हामी आँखा चिम्लिएर बस्छौँ, चुपचाप बस्छौँ भने भोलि देशको अस्तित्व मेटिएको अपजश हाम्रो टाउकोमा पनि अवश्य आउने छ ।

दृश्य स्पष्ट देखिएको छ । हेर्नुस्, हाम्रो देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ध्वस्त बनाइएको छ भने सेनालाई ठेक्कापट्टाको काममा अल्झाइएको छ । अख्तियार, निर्वाचन आयोगमा भागबण्डाले राजनैतिक नियुक्ति गरि ती निकायलाई जर्जर र पङ्गु बनाइएको छ । यी सबै अन्जानमा नेताहरूले थाहा नपाएर र नबुझेर भइरहेको छ भनेर हामीले सोच्ने हो भने त्यो हाम्रो महाभूल हुनेछ । यी सबै काम जानाजान गरिँदैछ । रणनैतिक योजनाअनुसार गरिँदैछ त्यसैले हाम्रो देश हाम्रो नेपाल जोगाउने हो भने अब हामीसँग धेरै समय छैन । यो कुरामा जतिसक्दो चाँडै हामी स्पष्ट हुनु अनिवार्य भइसकेको छ । सामाजिक सञ्जालमा रिस पोख्ने, आगो ओकल्ने र राष्ट्रप्रति चिन्ता र चासो व्यक्त गर्ने अनि मज्जाले खाना खाएर लम्पसार परेर सुत्ने मात्रै हो भने विश्वास गर्नुस्- एकदिन त्यसरी सुतेको भोलिपल्ट बिहान यो देशको अस्तित्व मेटिएको खबर तपाईं-हामीले सुन्नुपर्ने हुन्छ ।

यदि कसैले धर्मनिरपेक्षता, प्रदेश संरचना, जातीय आरक्षण र एकदलीय अधिनायकवादमा फड्को मार्ने भनिएको वर्तमान (अ)व्यवस्था र संविधानलाई स्वीकार गर्नुहुन्छ भने उहाँ देशको अस्तित्वप्रति खासै सम्वेदशील हुनुहुन्न भनेर यकिनका साथ भन्न कुनै साइत कुर्नु पर्दैन । तर ती कुरा स्वीकार नगर्नेहरूले भने अब गहिरिएर सोच्ने र ठोस निर्णय लिने बेला भइसकेको छ । वैदिक सनातन हिन्दू राष्ट्र चाहने, प्रदेश संरचना नचाहने, जातीय आरक्षण खारेज हुनुपर्छ भन्ने र एकदलीय अधिनायवादमा मुलुक जान हुुन्न भन्ने चाहना राख्नेहरूले अब यो बुझ्नुपर्छ कि यस बाटोमा तगारो बनेर कुन-कुन पार्टी र कुन-कुन नेता उभिएका छन् ।

विगत २५ वर्षदेखि इसाईको मतियार बनेका र नेपालमा इसाईकरण गर्ने कार्यलाई पूूर्ण समर्थन र सहयोग गर्ने माधवकुमार नेपालले केही अगाडि इसाईहरूकै एउटा कार्यक्रममा नेपाल हिन्दूराष्ट्र हो भन्ने कुरा २०४७ सालको संविधानमा मात्रै लेखिएको र त्यसभन्दा अगाडिको कुनै संविधानमा नलेखिएको झुुठो कुरा लाजै नमानी गरे । २०१९ सालको संविधानमा नै यो कुरा लेखिएको थाहा नपाएर उनले त्यस्तो बोलेका हुुन् भनेर मान्नै सकिँदैन । उनको अभीष्ट भनेकै जनतालाई गुुमराहमा राखेर मुलुकलाई थप इसाईकरणतिर धकेल्नु हो । त्यसैले माधव नेपाललाई समर्थन पनि गर्ने अनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पनि कसैले चाहन्छ भने उ पूर्व जान पश्चिमको गाडीमा चढेको छ भनेर स्पष्ट भइहाल्नुपर्ने हुन्छ ।

वर्तमान संविधानको प्रस्तावनामा स्पष्ट रूपमा लेखिएको छ ‘….ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै…’ प्रस्तुत वाक्यांशले यो देशको संविधान हो कि माओवादी पार्टीको कुनै दस्ताबेज हो भन्ने छुट्याउन गार्‍हो हुुन्छ । राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहलगायत आजको मितिसम्म देश बचाउने र बनाउने कसैलाई वर्तमान संविधानले चिन्दैन, मान्दैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउन निर्दोष नेपाली मार्नेहरूप्रति समर्पित वाक्यांश लेखिएको यो संविधान, विदेशीको एजेण्डाको रूपमा भित्रिएको धर्मनिरपेक्षता, समानुपातिक प्रणाली, प्रदेश संरचना, जातीय आरक्षण र एकदलीय अधिनायकवादमा फड्को मार्ने आशय भएको वर्तमान संविधानको स्वामित्व ग्रहण गर्दै यसलाई जोगाउन मरिमेटेर लाग्ने काङ्ग्रेसका कृष्ण सिटौला, गगन थापा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा जस्ता मान्छेहरू एमालेका सुवासचन्द्र नेम्वाङ जस्ता मान्छेलगायत उपेन्द्र यादव, बाबुुराम भट्टराई र माओवादीलाई समर्थन पनि गर्ने र नेपाल जोगिनुुपर्छ, नेपालको मौलिकता फर्किनुपर्छ भनेर यदि कसैले हिन्दू राष्ट्रलगायत राष्ट्रवादी मुद्धामा पनि बोल्नुहुुन्छ भने त्यो नक्कली कुुरा र ‘मुुखमा राम राम, बगलीमा छुरा’ जस्तो कुरा मात्रै हुनेछ । पूर्व जान पश्चिमको गाडीमा बसेजस्तो मात्रै हुनेछ, त्यो पनि झुक्किएर वा झुक्याएर होइन, जानाजान !

नेपालको अस्तित्व मेटिँदा आफ्नो निजि स्वार्थ पूरा हुुने विश्वास भएका कतिपयले नेपाल पहिलादेखि हिन्दू राष्ट्र थिएन । नेपाललाई त राजा महेन्द्रको पालामा आएर मात्रै हिन्दू राष्ट्र घोषणा गरिएको हो त्यसैले नेपाललाई हिन्दू राष्ट्र बनाउने कुराको समर्थन गर्न नहुने तर्क दिन्छन् । यहाँ बुझ्नै पर्ने कुरा के हो भने नेपाल परापूर्व कालदेखि नै ऋषिमुुनीहरूको बासस्थान हो । नेपाल देवभूमि हो, तपोभूमि हो । नेपाल एकीकरण नहुुँदा पनि नेपालमा हिन्दू धर्मकै संस्कार र संस्कृति मानिन्थ्यो, स्थापित थियो । नेपालमा चाहे गोपाल वंशले शासन गर्दा होस् कि किराँतले शासन गर्दा होस्, लिच्छवीकालमा होस् कि मल्लकालमा होस् नेपालमा हिन्दू धर्म, परम्परा र संस्कृति नै मानिन्थ्यो भन्ने तथ्य इतिहासले पुष्टि गरेको छ । त्यतिबेला स्थापित मठ-मन्दिरहरू र ठाउँ-ठाउँमा रहेका शिलालेखहरू यो कुराको प्रत्यक्ष प्रमाण हुन् । शायद त्यसैले होला त्यतिबेलाका शासकले नेपाललाई हिन्दू राष्ट्र भनेर औपचारिक रूपमा लेखिरहनु पर्ने आवश्यकता बोध गरेनन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेलगत्तै नेपालमा धर्मान्तरणको लागि प्रवेश गरेका इसाईहरूलाई देश निकाला गर्नुले पनि यो कुराको पुष्टि गर्छ कि नेपाल हिन्दू राष्ट्र नै थियो ।

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । जब कुुनै कुराको आवश्यकता हुन्छ तब आविष्कार गर्न सक्षम मस्तिष्कहरू सक्रिय हुन्छन् र नयाँ कुराको आविष्कार वा प्रतिपादन हुन्छ । जब देशका सिमानाहरू तय हुुन थाले, राष्ट्रहरू उपनिवेशबाट मुक्त हुुन थाले, देशहरू स्वतन्त्र हुन थाले त्यसपछि हरेक राष्ट्रले आ-आफ्नो विशिष्ठ पहिचान स्थापित गर्न थाले । त्यही क्रममा विक्रम सम्बत् २०१९ सालको संविधानमा पहिलो पटक नेपाललाई विश्वको एक मात्र हिन्दू राष्ट्रको रूपमा विशेष पहिचान दिइएको हो । तसर्थ, यदि कसैले नेपाल २०१९ सालपछि मात्रै हिन्दू राष्ट्र बनेको हो भन्ने ठान्छ भने त्यो बिल्कुलै गलत सोचाइ हो भन्न हिचकिचाउनै पर्दैन ।

इतिहासदेखि नै नेपाललाई चिनिएको वा चिनाइएको भनेकै विश्वको एक मात्र हिन्दू राष्ट्र, सगरमाथाको देश, बुुद्धको जन्मभूमि, मन्दिरैमन्दिरको देश भनेर हो । र, आज पनि पर्यटकलाई आकर्षित गर्न नेपालको प्रचारप्रसार गर्दा नेपालका मठ-मन्दिरहरू नै प्रमुखताका साथ देखाइन्छ न कि नेपालमा पैसाको प्रलोभनमा परेर धर्मान्तरण गर्नेहरूले च्याउ जसरी खोलेका चर्चहरू !

तसर्थ, अब देशको मौलिकता हामीले नै जोगाउनुपर्ने भएको छ । सबै वाद-विवाद र सिद्धान्तबाट माथि उठौँ र नेपाली बनौँ । अहिले पनि कुुनै पार्टी चुनाव जितेर दुई तिहाई बहुमत ल्याएर हिन्दू राष्ट्र स्थापना गर्छौं भन्ने हावादारी कुरा गर्दैछन् भने कुनै पार्टी हिन्दू धर्मको सवालमा जनमतसङ्ग्रह गर्ने राष्ट्रको लागि झन् घातक कुरा गर्दैछन् । यो अवस्थामा अब हामी आफै स्पष्ट हुने हो- तपाईं कुन कित्तामा उभिनुहुन्छ ? नेपालको अस्तित्व मेटाउन ल्याइएको यो व्यवस्था, वर्तमान संविधान, यो व्यवस्था अनि संविधानको स्वामित्व लिने पार्टी र नेताको कित्तामा कि पहिला देश बचाउनुपर्छ भन्ने राष्ट्रवादी कित्तामा ? अब यो कित्ताकाट गर्नैपर्छ र, यो तपाईं-हाम्रो भन्दा पनि हाम्रो देशको आवश्यकता हो ।