गरिब नेपालीको मुहार हाँसेको हेर्ने मेरो रहर

गरिब नेपालीको मुहार हाँसेको हेर्ने मेरो रहर


बाह्रवर्षो सशस्त्र द्वन्द्वले कसैलाई बाँकी राखेन । सरकारी होस् या निजी, हरेक क्षेत्र यसको चपेटामा पर्‍यो । मानवीय क्षतिलाई थाती राख्दै भौतिक सामग्रीको मात्र हिसाब गर्दा अबारैको सम्पत्ति नष्ट भए । साना-ठूला सयौँ उद्योग तथा कलकारखाना बन्द भए । हजारौँले रोजगारी गुमाए, लाखौँ नयाँ रोजगारीको खोजीमा विदेशिए । तर, नेपालको एउटा यस्तो क्षेत्र रह्यो जसलाई द्वन्द्वले खासै असर गरेन । हिंसात्मक द्वन्द्वका कारण उद्योगहरू बन्द तथा विस्थापित भएका समाचार प्रसस्तै छापियो । तर, त्यही द्वन्द्वकै क्रममा लुटपाटका सामान्य घटनाबाहेक बैंक तथा वित्तीय क्षेत्रबारे अन्य नकारात्मक समाचार प्रकाशित भएनन् । एकप्रकारले यो सकारात्मक कुरा हो । द्वन्द्वका समयमा पनि आफ्ना सेरयधनीलाई बोनस बाँड्न सफल बैंक तथा वित्तीय संस्था शान्तिप्रक्रिया पूरा भएपछि त झन् घाटामा जाँदै जाँदैनन् भन्ने बुझाइ आमनागरिकको छ । तर, बैंकरहरू यो मान्न तयार छैनन् । उनीहरूका अनुसार द्वन्द्वको मारबाट बैंकहरू अछुतो रहन सकेनन् । समग्र आर्थिक क्षेत्र तहसनहस भएकोले बैङ्किङ क्षेत्र पनि त्यस्तैखाले चपेटामा थियो । प्रत्यक्ष असर नदेखिए पनि अप्रत्यक्ष रूपमा चोटिलो असर थियो बैङ्किङ क्षेत्रमा । द्वन्द्वकै कारणले हुनसक्छ मुलुकको आर्थिक क्षेत्रले जस्तै बैङ्किङ क्षेत्रले पनि राम्रो गति लिन सकेको छैन ।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी पनि यस्तै भनाइ राख्नुहुन्छ । अर्थशास्त्रका स्नातकोत्तर र्सर्ीइओ भण्डारी बैङ्किङ क्षेत्रबारे अब्बल दखल भएका व्यक्तिमध्येका एक हुनुहुन्छ । राष्ट्र बैंकको सेवाबाट बैङ्किङ क्षेत्रमा प्रवेश गर्नुभएका भण्डारीले २६ वर्ष उक्त बैंकमा गुजार्नुभयो । र, अवकाश लिँदा उहाँ कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । जनवरी २००७ देखि निजी क्षेत्रको कमर्सियल बैंक प्रवेश गर्नुहुने भण्डारीले कमर्सियल बैङ्किङ क्षेत्रमा पनि छोटो समयमै आफ्नो अलग प्रभाव स्थापित गर्ने सफलता हासिल गर्नुभयो । भण्डारीकै विशेष सक्रियतामा मातहतका कर्मचारीहरूको समेत सहयोगले सिटिजन्स बैंक जनताबीच लोकप्रिय बन्न सफल भयो । तथापि उहाँ स्वयम् भने अझै पूर्ण सन्तुष्टि नमिलेको अभिव्यक्ति दिनुहुन्छ । आखिर किन उहाँ आफूलाई असन्तुष्ट पाउनुहुन्छ ? उहाँकै शब्दमा :
गत वर्षको तुलनामा यतिबेला सबै बैंकमा प्रचुर तरलता छ । आममानिसको बैंकप्रति विश्वास पनि बढेको छ । निक्षेपकर्ताहरू बढेका छन् । तर, यस्तो अवस्थामा लगानी गर्ने उपयुक्त वातावरण भने छैन । लगानीका क्षेत्र अझै असुरक्षित छन् । भएका या गरिएका लगानीको सुरक्षा हुन सकिरहेको छैन । एकाधबाहेक कर्जाको माग आउन सकिरहेको छैन । वैदेशिक लगानी भित्रिन सकेको छैन । उत्पादित वस्तुको डिमाण्ड घट्दै गएको छ । विकासनिर्माणका कार्य ठप्पप्राय: छ । यस्तो अवस्थामा बैंक या बैंकरहरू कसरी सन्तुष्ट रहन सक्छन् ? वर्षको पहिलो त्रैमासिकको तुलनामा यस वर्ष बैंकको मुनाफा २० देखि २५ प्रतिशतले घटेको छ । पुँजी कोष बलियो हुँदा पनि मुनाफा घट्छ यो अवस्थामा सन्तुष्ट हुने ठाउँ कहाँ रहन्छ त ?
राष्ट्र बैंकको भूमिका
वित्तीय संस्था अघि बढ्नु-नबढ्नुमा राष्ट्र बैंकको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । उसले बनाएको नीतिअनुसार कमर्सियल बंैकहरू अघि बढेका हुन्छन् । हो, राष्ट्र बैंकले बनाएको नीतिमा खोट लगाउने ठाउँ देखिँदैन, तर व्यावहारिक रूपमा समस्या देखिएको छ । राष्ट्र बैंक र कमर्सियल बैंकको भूमिकामा पनि निकै भिन्नता छ । अझ भन्ने हो भने राष्ट्र बैंक खेलको नियम बनाउने र खेल मैदान तयार गर्ने निकाय हो भने कमर्सियल बैक उक्त नियमअनुसार खेल खेल्ने खेलाडीहरू हुन् । सुरुमा म स्वयम् पनि राष्ट्र बैंकमा रहेर खेलको नियम बनाउने र लागू गराउने भूमिकामा रहेँ । तर, अहिले सोही नियमअनुसार कमर्सियल बैंकहरूको तर्फबाट म मैदानमा उत्रिएको छु । र, राम्रो गोल गर्ने कोसिसमा दिन बिताइरहेको छु ।
नाफामुखी क्षेत्र
कमर्सियल बैंक व्यापार गर्ने उद्देश्यले खोलिएका हुन् । घाटा हुने र असुरक्षित हुने क्षेत्रमा उसले कहिल्यै लगानी गर्दैन । तर्सथ हरेक लगानीमा नाफा खोज्नु स्वाभाविकै हो । त्यसैले हुनसक्छ द्वन्द्वका समयमा पनि बैंक नियमित रूपमा अघि बढिरहेको पनि । आफ्नो लगानी सुरक्षित भएपछि डुब्ने वा घाटा हुने अवस्था रहँदैन । यद्यपि कहिलेकाहीँ चनाखो हुँदाहुँदै पनि लगानी नै डुब्ने खतरा रहन्छ र त्यस्तो अवस्थामा कानुनको मद्दत लिइन्छ । तर, त्यसरी कानुनको सहारा लिने अवस्था निम्तिनु कसैका लागि पनि सुखद विषय होइन । अर्थात्, हामीले पनि बाध्य भएर मात्र त्यसो गर्नुपरेको हो । आर्थिक र बैङ्किङ क्षेत्रबीच एक-आपसमा अन्योन्याश्रति सम्बन्ध हुने भएकोले आर्थिक क्षेत्र डामाडोल हुँदा ढिलोचाँडो त्यसको असर समस्त वाणिज्य बंैकहरूमा पर्न जान्छ, परेको पनि छ । यर्सथ द्वन्द्वको समयमा होस् या अहिले, हामी एउटै पर््रार्थना गरिरहेका छौँ कि नेपालमा शान्तिसुरक्षा कायम होस्, लगानीको वातावरण बनोस्, विदेशी लगानी भित्रियोस् ।
गाउँमा खै त बैंक –
बाक्लो मानवबस्ती र दैनिक कारोबार राम्रो भएको स्थानमा बैंकहरू पुगेका छन् । द्वन्द्वका समयमा सहरमा मात्र खुम्चन बाध्य बैंकले अहिले प्रत्येक जिल्लामा आफ्नो उपस्थिति देखाएका छन् । त्यसमाथि अहिले राष्ट्र बैंकले उपत्यकाबाहिर दुईवटा बैंक सञ्चालन गरेपछि मात्र राजधानीमा बैंक सञ्चालन गर्न पाउने नियम बनाएको छ । यो नियमपछि नेपालका ग्रामीण क्षेत्रमा बढ्ता बैंक सञ्चालन हुने अवस्था सिर्जना भएको छ । अझ भन्ने हो भने सुरक्षा, सञ्चार, यातायात, टेलिफोन, विद्युत्को सुविधा छ र ती स्थानमा बढी आर्थिक कारोबार हुन्छ भने त्यहाँ कुनै न कुनै बैंकको उपस्थिति पक्कै छ ।
बैंकको बाढी
धेरैले भन्ने गरेको सुनिन्छ कि यहाँ आवश्यकताभन्दा धेरै नै बैंकहरू खुलेका छन् ! तर, यो टिप्पणी सही होइन । वास्तवमा नेपालमा बैंकको भविष्य निकै उज्ज्वल छ । समयमै संविधान बन्यो र आर्थिक विकासले गति लिन थाल्यो भने भएका बैंकले त पुग्दै पुग्दैन । एउटा ठूलो लगानी गर्नु पर्‍यो भने, नेपालका सबै बैंक मिलेर पनि लगानीअनुसारको पुँजी जुटाउन सक्दैनन् भने यो अवस्थामा कसरी बैंकको सङ्ख्या बढी भयो भन्ने ?
सिटिजन्स बैंकको भिन्नता
हाम्रो बैंकको पनि काम गर्ने तरिका अरू बैंककै जस्तो हो । तथापि, अन्य बैंकले भन्दा छिटो र राम्रो सेवा हामीले दिएका छौँ । काममा कुनै कम्प्रोमाइज गर्दैनौँ । तैपनि व्यक्तिगत रूपमा म आफ्नो कामप्रति पूरै सन्तुष्ट हुन सकेको छैन । हामी अझै काममा सुधारको प्रयत्न गर्दैछौँ र यो प्रयास निरन्तर जारी रहने छ ।
बैंक दिन पनि जान्दछ
बैंक लिने मात्र गर्छ भन्ने गुनासो नसुनिएको होइन, तर यसमा म के भन्छु भने लिन मात्र होइन बैंक दिन पनि जान्दछ । फरक यति मात्र हो कि निक्षेपकर्तालाई दिनेभन्दा ४/५ प्रतिशत बढी ब्याजमा उसले लगानी गरेको हुन्छ । पछिल्लो समयमा बैंकहरूबीच निक्षेप होस् या ऋण सबैमा कडा प्रतिस्पर्धा छ । तर्सथ बैंक लिने र दिने दुवै भूमिका खेल्ने अपरिहार्य निकाय हो भन्न सकिन्छ ।
उद्देश्य
अबको १५ वर्षभित्र गरिबी निवारणसम्बन्धी एक बेग्लै र नयाँ कार्यक्रम लिएर गाउँ प्रवेश गर्ने मेरो अभीष्ट छ । त्यसमार्फत एक करोडभन्दा बढी गरिब नेपाली जनताको मुहार हँसिलो हेर्ने चाहना या उद्देश्य छ मेरो ।
प्रस्तुति :रामहरि पाण्डे