तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी


महिलाहरु विद्यालय जान पाउने, इच्छाबमोजिम बिहे गर्न सक्ने

अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै तालिवानको आलोचना भइरहेका बेला उनीहरुले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

तालिबानी सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका सिन्ह्वाले जनाएको छ । तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले शुक्रबार निर्देशिका जारी गरेका हुन् । निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । महिलाहरु विद्यालय जान पाउने र विवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने सो निर्देशिकामा जनाइएको छ ।

त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छाबमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा उल्लेख छ । त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन् ।अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो ।