एजाजले बनाए टेष्ट क्रिकेटमा विश्व कीर्तिमान

एजाजले बनाए टेष्ट क्रिकेटमा विश्व कीर्तिमान


न्यूजील्याण्डका स्पिनर एजाज पटेलले टेष्ट क्रिकेटमा ऐतिहासिक प्रदर्शन गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । भारत र न्यूजील्याण्डबीच भैरहेको दोश्रो टेष्टमा एजाजले भारतको १० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । एजाजको उत्कृष्ट बलिङ प्रदर्शनकै कारण भारतीय टीम पहिलो इनिङमा ३२५ रन मात्र बनाउन सफल भएको थियो ।

एजाजको यो सफलतासँगै उनी टेष्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिने विश्वका तेस्रो खेलाडी बनेका छन् । यसभन्दाअघि सन् १९५६ मा इङ्गल्याण्डका जिम लेकरले अष्ट्रेलियाविरुद्ध १० विकेट लिएर ऐतिहासिक कीर्तिमान बनाएका थिए । त्यस्तै सन् १९९९ मा पाकिस्तानविरुद्ध भारतका लेग स्पिनर अनिल कुम्बलेले १० विकेट लिन सफल भएका थिए ।

पहिलो दिनको खेल सकिँदासम्म ४ विकेट लिएका एजाजले दोश्रो दिन थप ६ विकेट लिँदै एकै इनिङमा १० विकेट लिन सफल भए । न्यूजील्याण्डका बलरहरुमा एक्लो बृहस्पति बनेका एजाजको यो सफलतापछि उनको अहिले विश्वभरि चर्चा भैरहेको छ ।

त्यस्तै, टेष्ट क्रिकेटमा न्यूजील्याण्डको तर्फबाट एसियामा सबैभन्दा बढी पाँच वा पाँचभन्दा बढी विकेट लिने एजाज चौथो खेलाडी समेत बनेका छन् । एजाजले एसिया तेस्रो पटक पाँच विकेट लिन सफल भएका छन् । यसभन्दा पहिले न्यूजील्याण्डका पूर्वकप्तान डेनियल विटोरीले ८ पटक एसिया महादीपमा पाँच विकेट लिएका थिए ।

त्यस्तै यस्तो कीर्तिमान कायम गर्नेमा न्यूजील्याण्डका पूर्व कप्तान रिचडए हेडली दोश्रो नम्वरमा रहेका छन् । हेडलीले पाँच पटक ५ विकेट लिएका थिए । त्यस्तै तेस्रो नम्बरमा टीम साउथी रहेका छन् । उनले अहिलेसम्म तीन पटक पाँच विकेट लिइसकेका छन् । भारतविरुद्ध १० विकेट लिएपछि एजाजले साउथीको बराबरी गरेका छन् ।

टेष्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिने तेस्रो व्यक्ति बनेपछि एजाजले खुशी प्रकट गरेका छन् । एजाजले यो उपलब्धिलाई सपनामा देखेको कुरा सत्य भएको बताएका छन् । ‘मैले कहिल्यै कल्पना गरेको थिएन एकै इनिङमा १० विकेट लिन्छु भनेर । तर अहिले भाग्यले साथ दिएको छ, म १० विकेट लिन सफल भएको छु, असाध्यै खुशी छु’- एजाजले भने ।

एजाजको जन्म भारतको मुम्बईमा भएको थियो । एजाज ८ वर्षको हुँदा उनको परिवारले न्यूजील्याण्डमा बसाई सरेको थियो । सानै उमेरदेखि क्रिकेटमा रुचि राख्ने एजाजले न्यूजील्याण्डबाटै क्रिकेट खेल्न शुभारम्भ गरेका थिए । अथक मेहनतपछि न्यूजील्याण्डको राष्ट्रिय क्रिकेट टीममा परेका एजाजले आफ्नो टीम जिताउन अहम भूमिका निभाउँदै आएका छन् ।

मुम्बईमा जन्मेका एजाजले अहिले आफु जन्मेको भूमिमा १० विकेट लिएर विश्व कीर्तिमान बनाएका छन् । एजाजको यो प्रदर्शनसँगै अहिले विश्वभरिवाट उनलाई बधाईको ओहिरो लागेको छ ।