अन्ततः सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए

अन्ततः सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए


प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपलगायतकका बहानामा सुनुवाइ गर्न इन्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरू झन्डै डेढ महिनापछि काममा फर्किएका छन् । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आइतबार १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो । न्यायाधीशहरूले इजलासमा बसी पूर्णरूपमा मुद्दाको सुनुवाइ गरेका छन् ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरूपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । यस्तै, न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमा नौ मुद्दामा फैसला र एक मुद्दामा आदेश भएको छ । अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको राससले जनाएको छ ।

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ सङ्क्रमणका कारण अस्पतालमा भर्ना भएपछि र, कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारी रूपमा सुनुवाइ हुन सकेको थिएन भने शुक्रबार चाहिँ मुद्दामा राम्रो सुनुवाइ भएको थियो ।

सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्र्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए । त्यसयता बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरू र नेपाल बार एसोसिएनका मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको हो ।