जलवायु परिवर्तनको सन्देश दिन विश्व भ्रमणको तयारी

जलवायु परिवर्तनको सन्देश दिन विश्व भ्रमणको तयारी



चुनौतीपूर्ण काम गरेर देशको चिनारी दिनुका साथै जलवायु परिवर्तनका कारण विश्वमा देखापरेको नकारात्मक प्रभावबारे जनचेतना जगाउने उद्देश्यले शुभप्रसाद शर्माले विश्व भ्रमणको तयारी गरेका छन् । आगामी जनवरी १ (सन् २०२२) देखि विश्व भ्रमणमा निस्कने शुभले जानकारी गराए ।

साइकलद्वारा गरिने विश्व भ्रमण उनको ‘एकल यात्रा’ हुनेछ । यसको लागि अन्तिम तयारीमा रहेको शुभ शर्माले बताएका छन् । साइकलद्वारा विश्व भ्रमणमा निस्किएका विश्वका थुप्रै व्यक्तित्वहरूद्वारा प्रभावित शुभले आफूले पनि यस यात्रालाई एउटा महत्वपूर्ण अभियानको रूपमा लिएको खुलासा गरेका छन् ।

यतिबेला विश्व कोभिड महामारीको प्रकोपबाट आक्रान्त छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसमेत देखापरिसकेको अवस्था छ । यस्तो परिवेशमा विश्व भ्रभण गर्न अनुकुल र सोचेजस्तो सहज पक्कै छैन, र पनि विश्व भ्रमणको लागि विभिन्न निकायबाट पाएको हौसला, शुभेच्छा र सहयोगले शुभ निकै उत्साहित बनेका छन् । साहस जुटाएर नयाँ वर्ष २०२२ को शुभारम्भसँगै उनी विश्व भ्रमणमा निस्किने भएका छन् ।

आफ्नो विश्व भ्रमण योजनालाई अभियानको रूपमा लिएका शुभले आफ्नो एकल यात्रालाई सम्पूर्ण मानवजातिसँग सरोकार राख्ने जलबायु परिवर्तन र तापक्रम वृद्धिसँग सम्बन्धित रहेको बताए । आज वातावरणमा भएको कार्वन उत्सर्जन र हरितगृह वायुको कारण १.५ डिग्री अधिक तापमान सहन विश्व ब्रह्माण्ड विवश बनेको छ । जसले गर्दा वातावरणमा पूर्णरूपमा असन्तुलन आएको छ । त्यसको प्रभावले कतै अतिवृष्टि, कतै हिमपात, कतै आँधितुफान र कतै भूक्षय भैरहेको छ ।

त्यस्तै, हिमालमा हिउँ नपर्ने वा तुरुन्तै पग्लने अनि उच्च हिमाली क्षेत्रमा हिउँको सट्टा पानी पर्ने भएकोले जनजीवन निकै प्रभावित भएको छ । जलबायु परिवर्तनलाई कसरी रोकथाम गर्ने अनि १.५ डिग्री तापक्रमलाई कसरी सीमित गर्ने भन्ने सम्बन्धमा हालसालै स्कटल्याण्डको ग्लास्गो सम्मेलनले एउटा प्रतिबद्धता पत्र पारित गरेको छ । जसमा विश्वका करिव ११५ राष्ट्रले समर्थन जनाएका छन् । यस सम्बन्धमा संयुक्त राज्य अमेरिका र चीनले जनाएको प्रतिबद्धताले पनि यो कुरालाई प्रमाणित गर्छ ।

‘सन्दर्भ तीन वर्षअघिको हो, त्यसबेला जलवायु परिवर्तन र बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सोच मेरो मनमा पलाएको थियो । केहि समयपछि यो विषयमा साथीहरुसँग भएको छलफल र उनीहरूकै सल्लाहबमोजिम म साइकलद्वारा विश्व भ्रमण गर्ने निर्णयमा पुगेँ’- शुभको भनाइ छ । आफ्नो उक्त निर्णयलाई शिशिर हमाल र सरलाजीले साथ दिएकै कारण यो अभियानको शुभारम्भ भएको उनको भनाइ छ ।

विश्व भ्रमणको.अभियानमा १५० राष्ट्र घुम्ने र करिव ५०० रुख रोप्ने योजना शुभले बनाएका छन् । यसबाट विश्वमा बढिरहेको तापक्रमलाई न्यूनीकरण गर्न केही योगदान पुग्ने उनले विश्वास लिएका छन् । यो कार्य गर्न सहज नभइ निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सबै तह तप्का, संघसंस्था, सरकार र अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग अपेक्षा गरेको बताए ।

नेपाल खेलकुद महासंघको ब्यानरमा विश्व भ्रमणको यात्रा आरम्भ गर्ने शुभले भनाइ छ । महासंघबाटै अहिले सम्पूर्ण कार्य अगाडि बढिरहेको पनि उनले जानकारी गराए । साथै यो भ्रमणको लागि काममा वडा नम्बर ७ समिति र बुढानिलकण्ठ नगरपालिकाले शुभलाई विद्युतीय साइकल प्रायोजन गरेको छ । बाग्मती प्रदेशका प्रदेससभा सदस्य नरोत्तम वैद्यबाट पनि आफूलाई विशेष सहयोग मिलेको उनले जानकारी दिए ।