सनसनीपूर्ण खेलमा जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

सनसनीपूर्ण खेलमा जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित


नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका रूपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भीडन्तमा पराजित गरेकी हुन् ।

भृकुटी मण्डपमा आयोजना भएको उक्त रेस्लिङ हेर्न दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोगितामा जुरेलीले जेसीलाई पराजित गरेपछि जुरेलीका समर्थकले उनलाई ढाका टोपी लगाएर बधाइ दिएका थिए ।

त्यस्तै, नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको ‘टु भर्सेस वान’ फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनमाथि सनसनीपूर्ण विजय हासिल गरेका थिए ।

पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भए पनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसँग भिडेका थिए ।

नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।