निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति

निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति



विगत ६ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गर्दै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति प्राप्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेकोे निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (ICAO) Annex-18 तथा DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरू पूरा गरेपश्चात् ने.वा.नि.का A-320 र A-330 जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेको भन्दै निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद दिएको छ ।

मन्त्री आलेको समुपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र (Dangerous Goods Carrier Certificate) निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाणपत्र उच्चतम् कार्यको प्रतिफल र सह्रानीय कार्य भएको उल्लेख गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम दुवै संस्थालाई बधाई दिए ।

विगत ६३ वर्षदेखि हालसम्म निगम General Cargo ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउने बताइएको छ । प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको A-330 जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरूको ओसारपसारमा सहजता भइ उक्त विमानहरूको उच्चतम् सदुपयोग हुनुका साथै निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने अपेक्षा लिइएकोे छ ।