कामना सेवा फुटसल कप हुने

कामना सेवा फुटसल कप हुने



कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक तथा विभिन्न वित्तीय संस्थाको सहभागिता रहने प्रतियोगिता पुषको ९ र १० गते सञ्चालन हुने भएको हो ।

कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक घोषणा गरेका थिए । बैंकका बोर्ड सदस्य सुवेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताए ।

सिइओ बस्नेतले कर्पोरेट क्षेत्रभित्रका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले मद्दत गर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाबीच आपसी सम्बन्ध र सहकार्य स्थापित गर्नसमेत यस्ता प्रतियोगिताले योगदान गर्ने उल्लेख गरे ।

प्रतियोगितामा बैंक तथा इन्स्योरेन्स गरि १५ बढी टिमले सहभागिता जनाउने छन् । लिग कम नक आउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाडौंको कालोपुलस्थित धन्यन्तरी फुटसल मैदानमा हुनेछ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको रहने छ ।

कामना सेवाका ब्राण्डिङ अफिसर प्रशन्न श्रेष्ठले पुस २ गतेसम्म सहभागि हुन इच्छुक संस्थाले टिम दर्ता गर्न सक्ने बताए । उनले पहिलो आउने टिमलाई दर्ता प्रक्रियामा प्राथमिकतामा राखिने बताए ।