नेपाल ओलम्पिक कमिटीले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई स्वागत गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्यसचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ओलम्पिक कमिटीका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।
सदस्यसचिव घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको जानकारी दिए । त्यसपछि कमिटी र परिषदबीच १९औँ एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।
छलफलमा कमिटीका तर्फबाट अध्यक्ष श्रेष्ठ र परिषदका तर्फबाट सदस्य सचिव घिसिङले सहभागिता जनाएका थिए । छलफलमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य पनि सहभागी थिए । सो अवसरमा प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्नेबारे छलफल भएको थियो ।
यस्तै, नेपाल सहभागी हुनुपर्ने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर छलफल भएको थियो । त्यस अवसरमा नेपाल सहभागि हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता बारे छलफल भएको थियो ।
प्रतिक्रिया