सार्वजनिक जीवनमा अभिब्यक्तिको अर्थ

सार्वजनिक जीवनमा अभिब्यक्तिको अर्थ


कमल थापाको यो अभिब्यक्तिबाट दुई कुरा स्पष्ट हुन्छ, पहिलो- राजा र राजसंस्थासम्बद्ध मानिसहरूले राजेन्द्र लिङ्देनलाई खुल्ला रूपमा समर्थन गरे । दोश्रो- राजसंस्था उहाँलाई निकै बोेझ भएको थियो, चुनाव हारेपछि राजसंस्थाको मुद्दा उठाउने कामबाट उहाँले मुक्ति पाउनुभएको छ ।

  • बबिता बस्नेत

राप्रपाका नेता कमल थापाले नेता राजेन्द्र लिङ्देनसँग चुनावमा पराजय भोगेपछि दिनुभएको अभिब्यक्ति अहिले चर्चामा छ । उहाँले सार्वजनिक रूपमा भन्नुभएको छ- ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । ज्ञानेन्द्र शाहलाई धन्यवाद (ट्वीटरमा मेन्सन गर्दै) मैले राहत र मुक्ति पाएको छु ।’ कमल थापाको यो अभिब्यक्तिबाट दुई कुरा स्पष्ट हुन्छ, पहिलो- राजा र राजसंस्थासम्बद्ध मानिसहरूले राजेन्द्र लिङ्देनलाई खुल्ला रूपमा समर्थन गरे । दोश्रो- राजसंस्था उहाँलाई निकै बोेझ भएको थियो, चुनाव हारेपछि राजसंस्थाको मुद्दा उठाउने कामबाट उहाँले मुक्ति पाउनुभएको छ ।

चुनावपछि यस्तो अभिब्यक्ति दिए पनि चुनावअघि भने कमल थापाले आफू र आफ्नो प्यानल जिताउन राजसंस्थाकै साहारा लिएको देखिन्छ । उहाँले आफ्नो फेसबुकमा ‘नो कमेन्ट’ लेखेर सिनेनायिका तथा राप्रपानेतृ रेखा थापाको भिडियो सेयर गर्नुभएको थियो जहाँ ‘राजतन्त्र कि गणतन्त्र ?’ भनी सोधिएको प्रश्नमा रेखाले ‘गणतन्त्र’ भन्ने जवाफ दिएकी थिइन् । गणतन्त्रमा कुनै पनि सर्वसाधारण नागरिक राज्यको सर्वोच्च स्थानमा पुग्न सक्ने तर राजतन्त्रमा नसक्ने उनको तर्क थियो । राप्रपाको निर्वाचनमा महासचिवकी उम्मेद्वार रेखाको उक्त अभिब्यक्ति कमल थापाले सेयर गर्नुको अर्थ ‘गणतन्त्रको कुरा गर्नेले पार्टीको महासचिवमा उठ्ने ?’ भनी प्रश्न गर्नु थियो, हराउनु थियो । जुन प्रश्न उहाँले त्यतिबेला गर्नुपर्ने थियो जतिबेला रेखाले अन्तर्वार्ता दिएकी थिइन् । हामी राजसंस्थाको पुनःस्थापनाको एजेण्डा बोकेको पार्टीको केन्द्रीय सदस्य भएर सार्वजनिक रूपमा यस्तो अभिब्यक्ति दिने ? भनी अध्यक्षका रूपमा कमल थापाले स्पष्टिकरण सोध्नुपर्थ्यो, पार्टी एजेण्डाविपरीत बोलेकोमा कार्वाही गर्नुपर्थ्यो । तर, त्यसो गरिएन र ऐनमौकामा निश्चित उद्देश्यले भिडियो सेयर गरियो जतिबेला रेखा चुनावी मैदानमा थिइन् ।

दुई वर्षअघि रेखाको उक्त अन्तवार्ता प्रशारण भएको भोलिपल्ट अनिता विन्दु, अश्विनी राणा, गोमा प्रधान र रेखाबीचको भेटघाट तथा कुराकानीको क्रममा यो पङ्क्तिकारले भनेकी थिएँ, ‘हिजोको अन्तरवार्तामा राम्रा कुरा धेरै छन्, तर यो अन्तवार्ताले तिम्रो राजनीतिक जीवनमा धक्का पु¥याउँछ ।’ अन्तरवार्तामा उनले बोलेका राम्रा कुरा धेरै थिए तर त्यही कुरालाई चर्चामा ल्याइयो जुन कुराले उनलाई चुनाव हराउनमा मद्दत गथ्र्यो । चुनाव हारे पनि रेखाले प्रतिस्पर्धी महासचिवविजेता कुन्ती शाहीलाई बिनाआक्षेप बधाई दिएर ‘पोलिटिकल कल्चर’ देखाइन् । कमल थापाले राजेन्द्र लिङ्देनलाई बधाई दिँदा निर्मल निवासको नाङ्गो हस्तक्षेपको कुरा उल्लेख गर्नुभएको थियो ।

सार्वजनिक जीवनमा रहेका मानिसहरूका लागि बोलीको अर्थ विशाल छ, तर अभिब्यक्तिको उत्तरदायित्व लिने चलन भने एकदमै कम छ । राप्रपाकी नेताको हैसियतमा रेखाको अभिब्यक्ति उत्तरदायी थिएन, नेताकोे रूपमा कमल थापाले उक्त अभिब्यक्ति सेयर गर्नु जवाफदेही कार्य थिएन । यो नेपालको राजनीतिमा भएको पछिल्लो उदाहरण मात्र हो । हामीकहाँ हरेक राजनीतिक दलसम्बद्ध तथा अन्य उत्तरदायी सार्वजनिक ब्यक्तित्वहरू आफ्नो बोलीप्रति उत्तरदायी र जवाफदेही भएको पाइँदैन ।

आफ्नो बोलीप्रति सचेत हुनुपर्ने राजनीतिकर्मीहरूले नै एउटै कुरा तीन ठाउँमा बोल्दा फरक-फरक रूपमा बोलेका र आफैले बोलेका कुराको खण्डन आफैले गरेका उदाहरणहरू हामीसँग प्रसस्त छन् । यसरी आफ्नो बोलीप्रति अलिकति पनि उत्तरदायित्व महसूस नगर्ने शीर्षस्थ नेतामा प्रचण्ड पर्नुहुन्छ । उहाँलाई पछ्याउने विभिन्न दलका नेताहरूको सङ्ख्या ठुलो छ ।

विश्वका धेरै मुलुकमा सार्वजनिक ओहदामा भएका मानिसहरू आफ्नो काम, कर्तब्य र अधिकारप्रति सचेत हुन्छन् । म के गरिरहेको छु, मैले गरेको कामले जनतालाई के फाइदा पुगेको छ, आफूले गरेको काम मुलुकको हितमा छ कि छैन जस्ता कुराहरूप्रतिको सचेतता ओहदामा बसेका मानिसहरूले अपनाउनुपर्ने न्युनतम मापदण्ड हो । आफूले गरेका निर्णय र कामहरूप्रति जवाफदेही हुनुपर्ने कुरा जनताप्रति उत्तरदायी सरकार भएका मुलुकमा सामान्य मानिन्छ । तर विश्वमा कतिपय यस्ता मुलुकहरू छन् जहाँ जिम्मेवारीमा रहेका ब्यक्तिहरूले बोलेका कुराहरू पूरा भए-भएनन् भनेर जनताले अनुगमन गर्छन् । सरकार र संसदमा हुनेहरू यति उत्तरदायी हुन्छन् कि उनीहरू स्वयम् त्यस्ता अनुगमनमा रहन चाहन्छन् । जनताले आफ्नो कामलाई नजिकबाट हेरिदिउन् भन्ने चाहन्छन् । जस्तो, क्यानडाको संसद्मा सांसदले बोलेका कुराहरू रेकर्ड हुन्छ, हामीकहाँ पनि हुन्छ, धेरै मुलुकमा हुन्छ । फरक के छ भने हामी बोल्नका लागि बोलिदिन्छौँ, त्यहाँ आफूले बोलेका कुराहरू कत्तिको पूरा गर्न सकेँ भनेर सांसदहरू आफूले आफुलाई नै जाँचबुझ गर्छन्, आफूले बोलेका के-के कुराहरू पूरा भए, के बाँकी छन् भनेर ‘टिक’ लाउँछन् । नागरिकले पनि आफ्ना प्रतिनिधिहरूको बोलाइ र गराइबीचको समानता र भिन्नताको तुलना गरिरहेका हुन्छन् । हाम्रा सांसदहरूले आज संसद्मा के बोले हामीलाई खासै मतलव हुँदैन, वास्तै गर्दैनौँ । नागरिकलाई मात्र सरोकार नभएको होइन कतिपय वक्ता स्वयंलाई पनि आफूले के बोलेँ भन्ने हेक्का भएजस्तो लाग्दैन । तर समृद्ध मुलुकका जनता संसदमा आफ्ना प्रतिनिधिले बोलेका कुराप्रति सचेत हुन्छन् । कहिलेसम्ममा के काम गर्छु भनेर सांसदहरूले कहाँ बोले र ती कामहरू समयमा भए कि भएनन् भन्ने कुराको लेखाजोखा राख्छन् ।

बोलीप्रतिको जवाफदेहिता सार्वजनिक ओहदामा भएका मानिसहरूको उत्तरदायित्व हो । बोलेका कुरा पूरा भएनन् भने उसको बोली फेरि मानिसले किन सुन्ने ? कसरी पत्याउने ? कुनै कुरा गर्छु नै भने पनि विश्वास कसरी गर्ने ? बोलीप्रतिको जवाफदेहिता नहुँदा हामीकहाँ जसले जे बोले पनि हुने जस्तो भएको छ । आफ्नो बोलीप्रति सचेत हुनुपर्ने राजनीतिकर्मीहरूले नै एउटै कुरा तीन ठाउँमा बोल्दा फरक-फरक रूपमा बोलेका र आफैले बोलेका कुराको खण्डन आफैले गरेका उदाहरणहरू हामीसँग प्रसस्त छन् । यसरी आफ्नो बोलीप्रति अलिकति पनि उत्तरदायित्व महसूस नगर्ने शीर्षस्थ नेतामा प्रचण्ड पर्नुहुन्छ । उहाँलाई पछ्याउने विभिन्न दलका नेताहरूको सङ्ख्या ठुलो छ ।

बोली अर्थात् मन्तब्य या भनाइप्रतिको उत्तरदायित्व र जवाफदेहिताको बारेमा हामीकहाँ कमै चर्चा हुने गरेको छ । खासै मतलब नगरिएकै कारण जसले जे बोले पनि हुने अवस्था हिजो थियो, आज पनि छ । २०४६ सालले हामीलाई प्रजातन्त्र त दियो तर संस्कार दिएन । पञ्चायतकालमा नेताहरूले जे पायो त्यही बोलेर आफुलाई हल्का बनाउँदैनथे । प्रजातन्त्रपछि बोल्न पाइयो राम्रै भयो तर के बोल्ने, कतिसम्म बोल्ने आफ्नो बोलीको इज्जत कसरी राख्ने भन्ने बारेमा भने ध्यान दिइएन, दिइएको छैन । बोलीको आधारमा मानिसको ब्यक्तित्व मापन हुन्छ । कस्तो बोल्छ, कसरी बोल्छ, बोलेको कुरा पूरा गर्छ कि गर्दैन मानिसले प्रतिक्रिया नदिए पनि मुल्याङ्कन गरिरहेका हुन्छन् । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहिता प्रजातनत्रमा ठुलो कुरा हो । प्रजातन्त्र, सरकार र आफूप्रतिको विश्वास जगाउन ओहदामा रहेकाहरूले निर्णय तथा अभिब्यक्तिको उत्तरदायित्व लिँदै त्यसप्रति जवाफदेही हुनु आवश्यक छ ।