काङ्ग्रेस महाधिवेशनमा एउटा बेग्लै क्षमताका मानिस उम्मेदवार बन्दै

काङ्ग्रेस महाधिवेशनमा एउटा बेग्लै क्षमताका मानिस उम्मेदवार बन्दै


माओवादी पक्षबाट अलिक बेग्लै ढङ्गले पीडित मुकेश काफ्ले काङ्ग्रेसलाई नयाँ गति र दिशा दिने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न चाहन्छन् । तर, के काङ्ग्रेसका नेता र प्रतिनिधिहरूले मुकेशमाथि न्याय गर्लान् ?


उत्तम कार्य गरेर पनि कतिपय मानिसले बदनामी ब्यहोर्नु परिरहेको हुन्छ, खासगरी हाम्रो जस्तो विपन्न र नकारात्मक मानसिकताको प्राधान्य रहेको मुलुकमा कसैका प्रति सकारात्मक धारणा बनाउन मानिसहरू कञ्जुस्याइँ गर्छन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा एक व्यक्तिले बाइस महिनाको अवधिमा साठी मेगावाटको त्रिशुली थ्री ए, एक सय दुई मेगावाटको भोटेकोशी, एक सय एघार मेगावाटको रसुवागढी, चालिस मेगावाटको रहुघाट र एक सय चालिस मेगावाटको तनहुँ (सेती) जल विद्युत् आयोजनाको निर्माण शुरु गराए ।

नौ सय मेगावाटको माथिल्लो अरुण, ६ सय मेगावाटको दुधकोशी र ६ सय मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जसले तयार गराए र, जसले १३५ केभिएको कावेली करिडोर, २२० केभीको कोशी करिडोर, १३२ केभीको सोलु करिडोर, ४०० केभीको तामाकोशी-काठमाडौं तथा २२० केभीको मर्स्याङ्दी-काठमाडौं, २२० केभीको कालीगण्डकी करिडोर र १३२ केभीको त्रिशुली-समुन्द्रटार ट्रान्समिसन लाइन निर्माण सम्पन्न गरे, अनि जसले ४०० केभीको ढल्केवर-मुजफरपुर तथा ढल्केवर-खिम्ती विद्युत् प्रशारण लाइनको निर्माण पूरा गराए, तिनको देशमा ठूलो बदनामी छ ।

उनी अर्थात् डा. मुकेश काफ्लेले उल्लिखित कार्य गरेर मुलुकलाई लोडसेडिङमुक्त गराउने आधार खडा गरे । तर पर्याप्त विद्युत् आपूर्ति हुने समयमा सरकार बदलियो, सरकारले उनलाई बदल्यो र ‘मैले आँखा खोलेपछि सूर्य उदायो’ भन्ने स्थिति निर्माण गर्न माओवादीले आफ्नो पार्टीको कार्यकर्तासमेत रहेका व्यक्तिलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक चयन गऱ्यो । काम गर्ने कालु मकै खाने भालु भन्ने उक्तिको चरितार्थ भयो, जशजति कुनै काम नगर्नेले पाए, मुकेशको भागमा बदनामी पऱ्यो ।

वि.सं. २०३१ को भाद्रमा महोत्तरीको वर्दिबासमा जन्मिएका डा. मुकेश काफ्लेले जलश्रोत विषयमा विद्यावारिधि गरेका छन् । इञ्जिनियरिङ कलेज पुल्चोकमा अध्यापनरत काफ्लेलाई उनको योग्यता र क्षमता हेरेर नै सरकारले २०७१ कार्तिकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (खुला प्रतिष्पर्धाबाट) चयन गरेको थियो ।

विद्यार्थीकालमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा संलग्न काफ्ले पुल्चोक क्याम्पस स्ववियुको सभापति बनेका थिए । डेमक्रेटिक इञ्जिनियर्स एशोसियसनका संस्थापक महासचिव उनी बाह्रौँ महाधिवेशनदेखि नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् । चौधौँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने तयारी काफ्लेले गरिरहेका छन् । माओवादी पक्षबाट अलिक बेग्लै ढङ्गले पीडित मुकेश काफ्ले काङ्ग्रेसलाई नयाँ गति र दिशा दिने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न चाहन्छन् । तर, के काङ्ग्रेसका नेता र प्रतिनिधिहरूले मुकेशमाथि न्याय गर्लान् ? यसको जवाफ पाउन अझै एक साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।