देउवाको पल्ला भारी कोइराला पक्षमा चिरैचिरा !

देउवाको पल्ला भारी कोइराला पक्षमा चिरैचिरा !


देउवा विजयी बन्दा बढीमा एक कार्यकाल पर्खनुपर्ने, तर डा. शेखर विजयी बनेमा कम्तिमा दशदेखि बाह्र वर्षसम्म ‘कोइरालाकै राज’ कायम रहिरहने भएकोले पनि कोइराला पक्षीय नेताहरू गुप्त रूपले देउवाको ‘सहयोगी’ बन्ने सम्भावना प्रवल छ ।


नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा नेतृत्व लिनका निम्ति निकै चर्को प्रतिष्पर्धाको स्थिति देखापरेको छ । महाधिवेशनले उपसभापति, महामन्त्री र सहमहामन्त्री जस्ता पदहरूको सङ्ख्या बढाउन सकेन भने नेताहरूको व्यवस्थापन हुने छैन र, त्यसले काङ्ग्रेसभित्र असामान्य अवस्था पैदा गर्न सक्ने सम्भावना छ । काङ्ग्रेसमा तत्काल पदीय व्यवस्थापन गर्नुपर्ने नेताहरूको सङ्ख्या दुई दर्जन भन्दा बढी रहेको छ । शेरबहादुर देउवा दोस्रो कार्यकाल सभापति बन्न अग्रसर भइसक्नुभएको छ भने रामचन्द्र पौडेल देउवासँग दोस्रो पटक प्रतिष्पर्धा गर्ने अवसरका निम्ति सङ्घर्षरत हुनुहुन्छ ।

गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. रामशरण महत, डा. नारायणमान खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, अर्जुन नरसिंह केसी, कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, एनपी सावद, बालकृष्ण खाण, दिलेन्द्र बडु, चन्द्र भण्डारी, विमलेन्द्र निधि, रमेश लेखक र गगन थापालगायतका नेताहरूलाई कुनै न कुनै पदमा ‘एडजस्ट’ गर्नुपर्ने बाध्यात्मक अवस्थामा यतिबेला काङ्ग्रेस छ । तर काङ्ग्रेसको विद्यमान विधानअनुसार पदको सङ्ख्या न्युन मात्र रहेको छ । कोषाध्यक्षबाहेक सबै पदहरूको पूर्ति निर्वाचनबाट हुने वैधानिक व्यवस्था काङ्ग्रेसले बनाएको त छ, तर कतिपय नेता केन्द्रीय पदाधिकारीमा पर्नुपर्ने ठानिन्छ, जो पाखा लाग्नु उपयुक्त नहुने विश्वास गरिन्छ । त्यसैले महाधिवेशनले विधान संशोधन गरेर सबभन्दा पहिले पदाधिकारी सङ्ख्या बढाउनुपर्ने बाध्यात्मक अवस्थामा काङ्ग्रेस रहेको छ ।

पार्टीको आन्तरिक निर्वाचन परिणामले सबैभन्दा बलियो शेरबहादुर देउवा र उहाँको समूहलाई देखाएको छ । छ प्रदेशमा सम्पन्न अधिवेशनबाट चार सभापति देउवा पक्षबाट निर्वाचित भएका छन् भने दुई सभापति कोइराला पक्षको रहेको बताइन्छ । दुई नम्बर प्रदेशबाट पनि देउवा पक्षकै नेता सभापतिमा निर्वाचित हुने विश्वास र विश्लेषण गरिएको छ । त्यसैगरी महाधिवेशन प्रतिनिधिहरूमा पनि देउवा पक्षकै पल्ला भारी देखिएको छ । करिव पाँच हजार प्रतिनिधिहरूमध्ये देउवा समर्थकहरूको सङ्ख्या अठार सय पुग्ने सम्बद्ध पक्षको दाबी छ र, यस्तो दाबी गलत नभएको विश्लेषकहरूको भनाइ छ । देउवापछि सबैभन्दा बढी समर्थक भएका नेताका रूपमा डा. शेखर कोइरालालाई लिइन्छ । उहाँ एक्लैको समर्थनमा ६ सयभन्दा ज्यादा प्रतिनिधि भएको विश्वास गरिन्छ । रामचन्द्र पौडेल, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि र डा. मीनेन्द्र रिजाललगायतका नेताहरूको हातमा आ-आफ्नै प्रभावअनुसारको मत रहेको देखिन्छ भने शङ्कर भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा र प्रकाशमान सिंहको भने दुई सय भन्दा अलिक बढी नै समर्थकहरू रहेको बताइन्छ ।

ज्ञातव्य छ, काङ्ग्रेस विभिन्न व्यक्तिका नाममा खुलेका गुटहरूको मोर्चाको रूपमा अस्तित्वमा छ । गुटहरूमध्ये सर्वाधिक बलवान गुट देउवाको भएको र कोइराला पक्षमा उपगुटहरूको सङ्ख्या अधिक रहेकोले देउवाका निम्ति स्थिति अनुकुल बन्ने सम्भावना देखिन्छ । कोइराला पक्षका प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ, उहाँपछि हट्ने सम्भावना अहिलेसम्म देखिएको छैन । डा. शशाङ्क कोइरालाले डा. शेखरलाई समर्थन गर्ने पक्कापक्की छ । रामचन्द्र पौडेल आफ्नै पक्षमा हुनुहुन्छ, आफू उम्मेदवार बन्न नपाएको अवस्थामा पौडेलले कसलाई समर्थन दिनुहुने हो त्यसबारे अहिले नै भन्न सकिने अवस्था छैन । कोइराला गुटको सर्वसम्मत उम्मेदवारका रूपमा डा. शेखर कोइरालालाई अघिसार्ने प्रयास भइरहेको छ । पौडेल गह्रौँ मनले डा. शेखरलाई समर्थन गर्न बाध्य हुनुभयो भने पनि उहाँका समर्थकहरूको मत शेखरका पक्षमा जाने विश्वास गरिँदैन ।

त्यस्तै, प्रकाशमान सिंहले पनि कोइरालालाई अन्तरहृदयदेखि समर्थन गर्न सम्भव नभएको बुझिन्छ । देउवा विजयी बन्दा बढीमा एक कार्यकाल पर्खनुपर्ने, तर डा. शेखर विजयी बनेमा कम्तिमा दशदेखि बाह्र वर्षसम्म ‘कोइरालाकै राज’ कायम रहिरहने भएकोले पनि कोइराला पक्षीय नेताहरू गुप्त रूपले देउवाको ‘सहयोगी’ बन्ने सम्भावना प्रवल छ । त्यसैले चौधौँ महाधिवेशनबाट देउवा अर्को एक कार्यकालका निम्ति सभापति निर्वाचित भए भने कुनै आश्चर्य हुने छैन । तर, डा. शशाङ्क, रामचन्द्र, डा. रामशरण, प्रकाशमान र अर्जुन नरसिंह केसी एकजुट भएर डा. शेखरका पक्षमा उभिए भने देउवा पराजित हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

तेह्रौँ महाधिवेशनमा झैँ चौधौँमा पनि पहिलो चरणमा कुनै उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत ल्याउन सक्ने अवस्था छैन । दोस्रो चरणका लागि हुने मतदानमा कसले कतापट्टी मतदान गर्न सक्छ भन्न सकिँदैन । चौविस सयभन्दा बढी मत प्राप्त गर्ने व्यक्तिले काङ्ग्रेसको सभापति बन्ने मौका पाउने छ र मतदाताहरूमा बाह्य प्रभावले समेत काम गर्ने गरेको विगतदेखि नै देखिँदै आएको छ । पश्चिमा मुलुकहरूले यसपटक देउवा र डा. शेखर दुवैलाई सहयोगको वचन दिएको बताइन्छ । तर अस्ताउँदो व्यक्ति छोडेर उदाउँदोलाई साथ दिने पश्चिमी परम्परा काङ्ग्रेसमा पनि लागु हुन सक्ने सङ्केतहरू देखिएका छन् । यस पटक उनीहरूले डा. शेखर कोइरालालाई सभापतिमा तथा विश्वप्रकाश शर्मा र गगन थापालाई महामन्त्रीमा विजयी गराउन ‘भूमिका निर्वाह गर्ने’ बुझिएको छ । पश्चिमाहरूको सहयोग निश्चित भइसकेपछि डा. शेखरले भारतीय संस्थापनको समेत समर्थन प्राप्त गर्ने प्रयास गर्दै आउनुभएको छ । उता देउवाले भने यसपालि ‘आफ्नै बुता’मा चुनाव लड्नुपर्ने स्थिति देखापरेको छ । तथापि पश्चिमीहरूबाट सहयोगको वचन भने देउवाले समेत पाइरहनुभएको बुझिन्छ ।